Wednesday 13th November 2019
  • New title for a=>html, img=>alt
  • आयतले थलापर्दै गएको नेपालको अर्थतन्त्र बदल्ने मन्त्र

    -

    June 28, 2019 | 199 Views


    खगेन्द्रराज सिटौला/
    नेपाल एकीकरण चरण अघि बढिरहेको तर सम्पन्न नभइ सकेको अवस्थामा नै नेपालको भावी आर्थिक नीतिको स्पष्ट खाका आइसकेको थियो । नेपाल एकीकरण अभियानका नायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाली अर्थतन्त्रको मुल चरित्र निर्यात मुलक हो र त्यसैलाई जोड दिनुपर्ने नीति अघि सारेको थिए । अर्थात नेपाली उत्पादन तथा वस्तुहरु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने र अर्थतन्त्र बलियो बनाउने भन्ने थियो । अर्थात व्यापार घाटाको अर्थतन्त्र नभएर नाफाको अर्थतन्त्रको पक्षमा थियो स्वदेशवादी अर्थतन्त्रको पक्षपाति पृथ्वीविचार । तर आज त्यस्को उल्टो भएको छ नेपाली अर्थतन्त्रको दिशा र दशा । हाम्रो निर्यात क्षमता अत्यान्तै कमजोर भएर गएको छ भने असन्तुलित आयतले गर्दा हाम्रो नेपाल विदेशीहरुको बजार भएर गइरहेको छ । जसले नेपालको व्यापार घाटालाई दिन २ गुना रात चौगुना बढाएर लगिरहेको छ । राष्ट्रनिर्माताले भनेको भन्दा ठीक उल्टो आयत गर्नु नगद बाहिर पठाउनु भएको छ । उनको त वस्तु तथा उत्पादन बाहिर पठाएर नगद देशभित्र भित्र्याउनु भन्ने थियो ।
    राजनीति परिवर्तनको सार र धार भनेको देशको उत्पादन क्षमता र निर्यात क्षमतालाई कमजोर बनाउनु भन्ने त अवश्य होइन वरु हो त्यसलाई झन बलियो बनाएर लानु हो । तर, नेपालमा त्यसो भइरहेको छैन । हाम्रो उत्पादन क्षमता र निर्यात क्षमता कमजोर भएर गइरहेको छ हरेक राजनीति परिवर्तन पछि । हामी हाम्रै उत्पादनले आत्मनिर्भर भएर निर्यात समेत गरिरहेका उत्पादन समेतमा पर निर्भर भएका छौं । हिजो निर्यात गरिरहेका वस्तुहरु पनि आज आयत नगरी बाँच्न नसक्ने अवस्थामा गइरहेका छौं । तथ्याँक केलाऔं व्यापार घाटाको उल्टो यात्रालाई सुल्टो बनाउने उपायाको खोजी गरौं । जुन उपायले नेपाली अर्थतन्त्रलाई बलियो बनाउन सकोस् ।
    कृषि उत्पादनबाट सुरु गरौं । यता पछिल्लो समयमा नेपालमा विदेशबाट अरबौंको खाद्य पदार्थ आयत भइरहेको छ । भनिन्छ नेपाल कृषि प्रधान मुलुक हो । विडम्बना यहि कृषिप्रधान मुलुकमा नै यति धेरै खाद्यान्न आयत गरेर नेपालको व्यापार घाटा बढाउन योगदान दिइरहेको छ । नेपालको सधै यो अवस्था थिएन । हिजोका निरंकुश भनिएका राणा शासन र पञ्चायति शासनको समयमा नेपाल यो अवस्थामा थिएन । त्यसबेला नेपालले खाद्य पदार्थ निर्यात गर्दथ्यो । यहि खाद्यान्नको निर्यात भएको कारणले त्यसबेला नेपाल अहिले जस्तो व्यापार घाटामा नभएर नाफामा थियो । विगतमा फर्केर हेर्दा यस्तो तथ्याङ्क हामी देख्न पाउछौ जसलाई पत्याउन गाह्रो पर्दछ ।
    सन् १९१३÷१४मा अर्थात राणाकालमा नेपालको भारतसंगको व्यापार घाटा नाफाको सन्तुलन नेपालको पक्षमा थियो । अर्थात भारतसंगको व्यापारमा नेपाल नाफामा थियो भने भारत घाटामा थियो । त्यसबेलाको मुल्यमा नेपालबाट भारतमा ४ करोड भन्दा बढी मूल्यको वस्तुहरु निर्यात भएको थियो भने भारतबाट २ करोड भन्दा बढी मूल्यका वस्तुहरु नेपालमा आयात भएका थिए । त्यो एउटै आर्थिक वर्षको तथ्याङकले पनि समग्र राणाकालको नेपाल भारत व्यापार आयत निर्यात वा नाफा घाटाको एउटा झलक दिन्छ । राणाकालमा नेपालबाट भारतमा निर्यात हुने प्रमुख वस्तुमा कृषि उत्पादन नै थियो । अर्थात त्यसबेलामा नेपालबाट भारतमा निर्यात हुने प्रमुख वस्तुहरुमा धान, चामल, दाल आदि थिए । यसले प्रमाणित गर्दछ कि खाद्यान्नमा नेपाल मुखिया थियो भने भारत दुखिया थियो ।
    राणकालमा मात्र होइन पञ्चायतकालमा पनि खाद्यन्नको लागि नेपाल मुखिया र भारत दुखिया भएको निरन्तरतालाई जाहेर गर्दछ नेपालको खाद्यान्न निर्यात र व्यापार नाफाको इतिहास र तथ्याङकले । सन २०२०÷२१ मा नेपालको भारतसंगको व्यापारमा नाफा घाटाको सन्तुलन नेपालको पक्षमा थियो । अर्थात त्यो आर्थिक वर्षमा नेपालले भारतमा गरेको निर्यातले तीन करोड भन्दा बढी नाफा नेपालको पक्षमा थियो । त्यसबेला नेपालबाट भारतमा ६ करोड जतिको वस्तुुुुुुुु निर्यात भएको थियो भने भारतबाट नेपालमा २ करोड ८० लाख भन्दा केही बढिको आयत भएको थियो ।
    सन् १९७० को दशकसम्म नेपालबाट ठूलो परिणाममा चामल निर्यात गरिन्थ्यो भारतमा । पञ्चायतकालको अन्त्यसम्म पनि नेपालबाट निर्यात भएको धान चामलको परिणाम धेरै नै थियो । नेपालबाट धेरै धान, चामल, दाल, तेल जुुुट या यसका तयारी सामान आदि भारतमा धेरै नै निर्यात भएको तथ्याङकले बताउँछ । त्यसबेला नेपालका तराइमा धेरै नै ठूलठूला धान मिलहरु थिए । चौबिसै घण्टा ती मिल चलेका हुन्थे । धान चामल लोड अनलोड भइरहेका हुन्थे । किसानहरुबाट खरिद गरिएका धानका रासहरु साना साना पहाडका ढिस्का जस्ता देखिन्थे । अर्थात धान चामलको उत्पादन र व्यापार राम्रैसंग चम्केको थियो नेपालमा । तर यता पछिल्लो दिनमा आर्थिक उदारीकरणको लहर नेपालमा पसे पछि नेपालको खाद्य बजार सबै विदेशी उत्पादनले ढाकेर लगिरहेको छ । कृषि पेशाबाट नेपालीहरु पलायन भइरहेका छन् । अन्न उत्पादन हुने खेतहरु या त बाँझो भएर बसेका छन् या त प्लटिङ्ग भइरहेका छन् ।
    भरतलाई खाद्यान्न पठाउने नेपाल आज भारतबाट खाद्यान्न आयत गर्ने भएको छ । भारतबाट खाद्यान्न आयत भएन भने नेपाली भोकै बस्नुुपर्ने अवस्था आएको छ । केहीवर्ष अघिको अर्थात २०७२÷७३ को आर्थिक वर्षमा भारतबाट मात्र नेपालमा करिव २४ अर्ब रुपियाँको चामल भित्रिएको थियो । १० अर्बको मकै भित्रिएको थियो । ५ अर्बको गहु भित्रिएको थियो । सवा अर्बको माछा भित्रिएको थियो । त्यसरी नै अर्बौको फलपूmल तरकारी भित्रिएको थियो । यसरी भारतबाट मात्रै ४० अर्ब जतिको खाद्यान्न भित्रिएको थियो नेपालमा । यसरी नेपालमा नै उत्पादन गरेर आत्मनिर्भर हुनसक्ने खाद्य पदार्थमा समेत यति धेरै आयात भएको छ भने नेपालमा उत्पादन नभएका अन्य उत्पादनमा झन डरलाग्दो अवस्था छ । नेपालमा उत्पादन नहुने सवारी साधन, पेट्रोलियम पदार्थ, कृषि औजार मेसिनरी औजार फलाम तथा स्टिल, औद्योगिक कच्चा पदार्थ आदिको आयातले नेपालको व्यापार घाटा तथा सन्तुलन झनै खराब बनाएको छ ।
    १२ वर्ष अघि अर्थात २०६२÷६३ मा भारतसंगको व्यापार घाटा ६६ अर्बको थियो । त्यसबेला नेपालबाट ४० अर्बको सामान निर्यात भएको थियो भने भारतबाट एक खर्ब सात अर्बको सामान नेपालमा आयात भएको थियो । गत वर्ष सम्म आइपुग्दा भारतसंगको व्यापार घाटा बढेर ६ खर्ब रुपैयाँ पुगि सकेको छ । ७२÷७३ को आर्थिक वषर्मा नेपालबाट भारतमा ४१ अर्बको सामान निर्यात भएको थियो भने भारतबाट ६ खर्ब ४१ अर्बको सामान नेपालमा आयत भएको थियो । अर्थात यो १२ वर्षको अवधिमा भारतीय वस्तुको आयात ५ खर्ब ३५ अर्बले बढिसक्दा पनि नेपालको निर्यात भने एक अर्बले मात्र बढेको पाइन्छ । यसरी भारतीय वस्तुको नेपालमा आयात उच्च दरले बढेको तर नेपालको वस्तुको भारतमा निर्यात कमजोर भएकोले भारतसंगको व्यापार घाटा नराम्रोसंग बढिरहेको छ । सो वर्ष मात्र भारतसंगको व्यापारघाटा एक खर्ब ६२ अर्बले बढेको देखिन्छ ।
    भारतसंग नेपालको व्यापार घाटा बढाउनेमा पेट्रोलियम पदार्थको पनि प्रमुख योगदान देखिन्छ । एक वर्षमा मात्र भारतबाट एक खर्ब चालिस अर्बको पेट्रोलियम पदार्थ नेपालमा भित्रिएको थियो । त्यसरी नै ९३ अर्बको फलाम तथा स्टिल, ७५ अर्बको सवारी साधन तथा पाटपुर्जा नेपालमा आयत भएको थियो । कृषि उत्पादनको आयात बारे माथि नै भनिएको छ । गणतन्त्रको उदय पछि नेपाल झन धेरै भारत निर्भर भएर गइरहेको छ । गणतन्त्रले आर्थिक तथा राजनीति दुबै क्षेत्रमा भारत निर्भर बनाइरहेको छ नेपाललाई । ७४÷७५को आर्थिक वर्षमा यो क्रम झन डरलाग्दो भएर बढेको छ ।
    भारतसंगको व्यापार घाटा घटाउने उपाया नेपालले निकालेन भने नेपालले सबै क्षेत्रमा घुँडा टेक्ने दिन टाढा छैन । नेपालको राजनीति क्षेत्र गम्भीर भएर लागेमा भारतसंगको व्यापार घाटालाई नाफामा बदल्न सक्छ । भारतसंगको व्यापार घाटा बढाउनेमा पेट्रोलियम पदार्थ र खाद्य पदार्थको आयतको निर्णायक योगदान भएको माथिको तथ्याङ्कले बताइ सकेको छ । नेपालको ध्यान यिनै दुई वस्तुको आयत घटाउन सकेमा मात्रै पनि नेपालले भारतसंगको व्यापार घाटामा सुधार गर्न सक्छ । नेपालको ध्यान यसैमा केन्दित हुनु पर्दछ । खाद्यान्न र पेट्रोलियम पदार्थको आयत घटाउने उपाया बारे छलफल बढाऔं जसले यी वस्तुहरुको अनियन्त्रित आयतलाई रोक्न सकियोस र नेपालको व्यापार घाटालाई सन्तुलनमा ल्याउन योगदान दिन सकोस् । कसरी घटाउन सकिन्छ त नेपालमा भारतबाट खाद्यान्न र पेट्रोलियम पदार्थको आयत बारे थप छलफल बढाऔं ।
    विगतमा नेपालको व्यवसायिक हिसावले परिचय दिँदा नेपाल एउटा कृषि प्रधान मुलुक भनिन्थ्यो । नेपालको राष्ट्रिय आयको र आत्मनिर्भरको बलियो पाटो कृषि उत्पादन नै थियो । त्यसरी नै हरियो वन नेपालको धन भनिन्थ्यो । अहिले त्यो पनि रहेन । र नेपाल जलस्रोतको धनी देश भनिन्थ्यो र अहिले पनि जलस्रोत सुकेको छैन । कृषि उत्पादनलाई विशेष योजना बनाएर, विशेष अभियान चलाएर सरकारले बढाउने कार्यक्रम ल्याउनु पर्दछ । नेपाललाई व्यापार घाटाबाट उकास्न ४ ज लाई जोड दिनु पर्दछ । जमिनशक्ति, जलशक्ति, जनशक्ति र जंगलशक्तिलाई एउटै प्याकेजको योजना बनाएर आय र उत्पादनमा जोड्न सकेमा यसले व्यापारघाटा घटाउने मात्र होइन कि नेपाललाई सम्पन्न पनि बनाउन सक्छ ।
    अझै पनि नेपालमा जलशक्ति छ । त्यसलाई सदुपयोग गर्न नेपालले सकेको छैन । ठूलठूला बाँध बाँधेर जलासय बनाउने पर्याप्त विद्युत उत्पादन गर्ने त्यसैले विद्युत रेल, बस, अन्य सवारी साधन चलाउने रणनीति नेपालले बनाउनु पर्दछ । त्यो विजुलीले सडकबाट पेट्रोल डिजेल विस्थापित गर्दछ । हरेक चुल्होबाट ग्याँस विस्थापित गर्दछ । स्वभाविक छ यसले भारतबाट आउने अर्बौको पेट्रोलियम पदार्थको आयतलाई विस्थापित गर्दछ । जसले नेपालको व्यापार घाटा घटाउन मदत गर्दछ । नहरका सन्जाल बनाएर जल ढुवानी सिचाइ एउटै योजनाले दिन सक्छ । यस्ता बाँधहरुले एकैपल्ट माछापालन र पर्यटनलाई व्यवसाय गरेर आम्दानी दिन सक्छ । कृषि उत्पादन बढाउन सक्छ जंगलको हरियाली बढाउन सक्छ । जंगल र जडिबुटी आफैमा नगद तान्ने र व्यापार घाटा घटाउने माध्यम बन्दछन् । विदेशमा गएर यति कडा श्रम दिन सक्ने नेपालको जनशक्ति छ । यसलाई सदुपयोग गर्ने राष्ट्रिय आय र उत्पादनमा जनशक्ति लगाउने योजना,कार्यक्रम र वातवरण दिन राज्यले सकेमा निश्चयनै नेपाल व्यापार घाटामा होइन कि नाफामा जान सक्छ । के जवाफ दिने गणतन्त्रले तानशाही राणाशासन र पञ्चायत शासनलाई हामी त व्यापार नाफामा थियौं भारतसंग भन्दा ?
    राजनीतिमा इमान्दारीता, इच्छाशक्ति र देशभक्ति भयो भने यति धेरै संभावना भएको नेपाल घाटाको नेपाल भइरहदैन । अहिलेको व्यापार घाटा नेपाली अर्थतन्त्रको डरलाग्दो पाटो हो । यही क्रम रोकिएन भने नेपाल थला पर्छ । तर नेपालले सहि नेतृत्व र योजना र सुशासन प्राप्त गर्न सकेमा नेपाल समृद्ध हुने छ नेपाली सुखी हुनेछन् । नेपालको हितको दीर्घकालिन आर्थिक रणनीति बनाउन सबै दलहरु एकैठाउँमा बस । त्यो संग सबै जोडिएर आउने छन् विदेश नीति, लगानी नीति, सहयोग नीति, जलस्रोत नीति कृषि नीति आदि सबै । के राष्ट्रिय सहमतिको अनिवार्य क्षेत्र यो होइन र ? तलाई यी पद मलाई यी पद सबैलाई यी सुविधा के को राष्ट्रिय सहमति ? आशा गरौं नेताहरुको ध्यान यतातिर तानिने छ ।