Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • आवश्यकताको आधारमा काम गरिरहेका छौ

    -

    November 22, 2019 | 335 Views


    विना बास्तोला
    उपमेयर चाँगुनारायण नगरपालिका भक्तपुर
    चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र गरिरहेका योजना तथा गतिविधि र विशेष गरी न्यायिक समितिको संयोजको रुपमा समेत काम गर्दाको अवस्थामा आइपरेका समस्या, चुनौती र समाधानका उपायका बारेमा जानकारी दिने उद्देश्यले चाँगुनारायण नगरपालिका भक्तपुरकी उप प्रमुख विना बास्तोलासँग प्रकाश साप्ताहिकले गरेको कुराकानीको अंश :
    यहाँ निर्वाचित भएर आएपछि जनतालाई राहत दिने के कस्ता काम गर्नु भयो ?

    यस नगरपालिकामा हामीले पानीको ब्यवस्था मिलाई रहेका छौ । त्यो हाम्रो चुनावी नारा पनि थियो । यस क्षेत्रमा खानेपानीको निकै ठूलो समस्या रहेको छ । त्यसको निराकरणका लागि अहिले हामी विभिन्न पक्षहरुसँग मिलेर काम गर्न लागि परेका छौ । हामीले हरेक घरमा धारो निर्माणका लागि पाँच वटा डिप बोरिङ बनाएका छौ, र पाइपलाईनको काम पनि सुरु भएरहेको छ । यो एक वर्षभित्र सम्पन्न हुन्छ र यो सम्पन्न पश्चात हरेक घरमा खानेपानी पुग्छ र अहिलेको खानेपानीको समस्या समाधान हुने छ । विकासका लागि बजेट, स्रोत र कामदारको आवश्यकता हुन्छ । हामी अहिले यी कुराको पनि ब्यवस्थापन गरिरहेका छौ । १५ वर्ष जनप्रतिनिधि नभएको अवस्थामा अहिले धेरै चुनौतीका बीचमा काम गरिरहेका छौ । नगरपालिको भेगीय हिसाबले भूगोल अति अफ्ट्यारो नै रहेको छ । यहाँ पहिलाको कुरा गर्नु हुन्छ भने कालो पत्रे थिएन । बाललगाउने काम उस्तै थियो । अहिले यी कामहरु बन्न सुरु गरेका छन् । धेरै काम गर्न त सकेका छैनौँ नै तर आवश्यकता र अपरिहार्यताको आधारमा हामी काम गरिरहेका छौ । हाम्रो अहिलेको लक्ष्य भनेको ठोस काम गर्ने हो । त्यसो हुनाले हामी जनताको काममा लागि रहेका छौ । झौँ खेलको ३ नम्बरमा यो वर्ष सबै सडक कालो पत्रे भइसक्नेछन भने बाँकीमा त्यसरी नै क्रमिक रुपमा हुँदै जानेछ । पाँच विर्षभित्र यस नगरपालिकामा रहेका मुख्य बाटाहरु सबै कालो पत्रे भइसक्ने छन् ।
    यहाँ न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ । कस्ता समस्याहरुको सामना गर्नु परिरहेको छ त ?
    न्यायिक समितिमा अहिले तीन जनाको टीम रहेको छ । मैले संयोजकको भूमिका निर्वाह गरेकी छु । अरु एक महिला र एक पुरुष सदस्य हुनुहुन्छ । एकजना कानुनी सल्लाहकार र एक जना नगरपालिकाको कर्मचारी राख्ने काम अहिलेलाई बाँकी छ । हामी त्यो पनि छिट्टै परिपूर्ति गर्ने तयारीमा रहेका छौ । हामी कुनै पनि समस्या आइपरेपछि त्यसको बारेमा आफूभित्रै समस्याका कारणहरुको खोजी गरेर त्यसको निराकरणका उपायहरुको खोजी गर्छौ । हामीले यहाँ मिलाउन र गर्न सक्ने खालका समस्याहरुको यहाँ निराकरण गर्छौ र बाँकी समस्याहरुको लागि प्रहरी वा अदालत कस्कोमा त्यो मुद्दा पठाउनु पर्ने हो हामी त्यहाँ पठाउने काम गर्छौ । मुख्य रुपमा यहाँ जग्गाका मुद्दाहरु आउने गरेका छन् । जग्गाका मुद्दाहरुमा दुबै पक्ष यहाँ आएर मिलेर नै जाने गर्नु भएको छ । अघिल्लो वर्षमा यहाँ २८ वटा मुद्दा दर्ता भएका थिए । साउन देखि अहिले सम्म १६ वटा मुद्दा दर्ता भएका छन् । हामी प्रत्येक शुक्रबार मुद्दा हेर्ने गर्छौ । धेरै मुद्दाहरुको छिनोफानो भइसकेको छ । केही भने बाँकी रहेका छन् ।
    न्यायको बारेमा ज्ञान नभएकाहरुलाई न्याय दिन कत्तिको गाह्रो हुँदो रहेछ त ?
    हामी कानुनको भाषा र त्यसको परिवेश बारे त्यति जानकार छैनौ, यो सत्य हो । कानुनको विषय हामीले अध्ययन गरेको विषय होइन । तर, हामीले यहाँ कानुन मात्र नभएर ब्यवहारिक पक्षलाई पनि केलाएर हेर्ने गर्छौ । यसको अर्थ पीडितलाई थप पीडा नहोस भन्ने हो । हामी त्यही अनुरुप काम गरिरहेका छौ । कानुनको काम गर्ने एकजना कर्मचारी पनि हामीसँग भएको हुनाले हामीलाई अहिले समस्या आएको छैन । कुनै अलिठूलो समस्या भएमा मेयर, कार्यकारी अधिकृत सरको सहयोग पनि लिन्छौ । त्यसो त हामीले छलफलमा सहभागी भएका मुद्दासँग सम्बन्धीत ब्यक्तिहरु बाटै विकल्प र समाधान पनि खोज्ने गरेका छौ । यसो गर्दा उहाँहरुको पनि गुनासो रहदैन । हामीले गर्ने यस्ता कामको अनुगमन जिल्ला अदालतले गर्छ । यहाँ आउँदा हाम्रो कामको मूल्याङ्कन गर्ने र सुझाव दिने गर्नु हुन्छ । हामीले गरेका कामको मूल्याङ्न र व्यवस्थापनबाट गुनासो नरहेको बताउँदै उहाँहरु खुसी भएको प्रतिक्रिया दिनेगर्नु हुन्छ । यो हिसाबले हेर्दा ठिकै छ भन्ने लाग्छ ।
    नयाँ मुद्दा कस्ता छन् ?
    एउटा जग्गाको भोगचलन सम्बन्धी एउटा मुद्दा आएको थियो । त्यो जग्गा अर्को ब्यक्तिको नाममा दर्ता भएपनि त्यसमा एकजना महिलाले तोरी छर्ने गरेको पाइयो । पछि जग्गा धनिले त्यो जग्गा आफ्नो भएको र त्यहाँ तोरी नछर्न अनुरोध गरी बोर्ड राख्दा समेत ती महिलाले नमान्दा जग्गा धनिले आफ्नो बारी सम्याउदा महिलाले आफ्नो तोरीको क्षतिपूर्ति माग दाबी गरेपछि हामीले दुबै पक्षलाई राखेर त्यसको समाधान गरेका छौ । यो भोगचलन सम्बन्धी एउटा नयाँ मुद्दाको रुपमा यहाँ आएको थियो । कति सम्बन्ध विच्छेदका मुद्दाहरु आउँछन । ब्यवहार त ती मुद्दा हामीले हेर्ने होइन तर, यहाँ आएपछि मिलापत्र भयो भने राम्रो हुन्छ भन्ने हिसाबले गर्ने गरिएको छ ।
    पहिला वडा सदस्यको भूमिका निर्वाह गरिसक्नु भएको छ, अहिले उपप्रमुख हुनुहुन्छ त्यसबेला र अहिलेको जनताको मागमा के फरक छ ?
    पहिला साना योजनाहरुको माग हुन्थ्यो । जसमा मन्दिर, धारा, कुवाँ बनाउने योजनाको माग हुन्थ्यो । त्यो वेलाको समय पनि त्यस्तै थियो होला सायद । अहिलेको कुरा गर्ने हो भने बाटो, पानी, विजुलीका मागहरु आउँछन् । जुन करौडौका योजनाहरु हुन्छन् । अहिलेका मान्छेहरु बढी सुविधाको चाहना राख्ने गर्दछन् । त्यस समयमा सिलाई कटाइका तालिमहरुको बढी माग हुन्थ्यो अहिले ड्राइभिङ, लोकसेवा तयारी र मन्टेश्वरी तालिम सिक्नेको माग छ । यो समय अनुसार ठिक पनि हो । अहिले साना योजनाको कुरा कतै हुँदैनन् । हाम्रो लक्ष्य पनि ठोस योजनामा लगानी गर्ने नै रहेको छ ।
    महिलाहरुलाई सक्षम र सवल बनाउनका लागि घरबाट बाहिर निस्कने वातावरण कसरी विकास गर्दै हुनुहुन्छ ?
    हामी सबैको घरपरिवार हुन्छ । त्यसको व्यवस्थापन गर्नु हाम्रो प्रमुख कतव्र्य पनि हो । त्यसका लागि हामीले सबैभन्दा पहिला घरभित्रको अवस्थालाई सुधार गर्नु पर्ने हुन्छ । परिवारमा मेल नभएसम्म कुनै काममा सफलता प्राप्त हुँदैन । त्यसो हुनाले हामीले महिलाहरुलाई आत्म निर्भरताका लागि तालिमहरुको व्यवस्थापन गर्ने । उनीहरुको काममा सहयोग गर्ने गर्नुपर्छ । हाम्रो नगरपालिकाले महिलाहरुलाई लक्षित गरेर सिलाई कटाइ, बुकी, साबुन निर्माण र चालक तालिम पनि दिदै आएको छ । खेतीका कारण धेरै महिलाहरुलाई घरबाट बाहिर निकाल्न सकेको छैन । घरबाट खुसी भएर निस्कियौ भने काममा पनि उर्जा आउँछ । आफ्नो चाहना र योग्यता अनुसार आफ्नो कार्यक्षेत्र रोज्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ । यसको लक्ष्य भनेको उद्यमी बनाउने हो । जब महिलाहरु आफै सक्षम हुन्छन । उनीहरुको सीप, जाँगर र उर्जामा बृद्धि हुन्छ । त्यसपछि आफ्नो क्षमता बिस्तार गर्दै अगाडि बढ्ने हो हामी यो बारेमा पनि सचेत छौ ।