Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • एनबी बैंकमाथि राष्ट्र बैंकको निगरानी

    -

    May 2, 2019 | 202 Views


    काठमाडौं । नेपाल बंगालादेश बैंकले केन्द्रीय कार्यालय बनाउने भन्दै जग्गा खरिद गरेको र जग्गा खरिद गर्दा ठूलो आर्थिक चलखेल भएको भन्दै उजुरी परेपछि राष्ट्र बैंकले उक्त बैंकमाथि निगरानी बढाएको छ । नेपाल बंगालादेश बैंकको शेयर खरिद गरेका लगानीकर्ताले बैंकले चलन चल्तिमा भन्दा बढी मूल्यमा जग्गा खरिद गर्दा बैंक धरासायी हुने र आफ्नो लगानी डुब्न लागेको भन्दै नियमन गर्ने निकाय राष्ट्र बैंकमा उजुरी दिएपछि राष्ट्र बैंकले उक्त बैंकमाथि निगरानी बढाएको हो ।

    पछिल्लो समय नेपाल बंगालादेश बैंकले बालुवाटार र विशालनगरमा जग्गा खरिद गरेको छ । बजार मूल्य भन्दा निकै बढीमा उक्त जग्गा नेपाल बंगालदेश बैंकले खरिद गरेको आरोप लगाइएको छ । नेपाल बंगालादेश बैंकले केन्द्रीय कार्यालयको भवन बनाउने उद्देश्यले विशालनगरमा र वालुवाटरमा पनि जग्गा खरिद गरेको छ । यी दुवै ठाउँको जग्गा खरिद गर्दा आर्थिक चलखेल भएको भन्दै लगानीकर्ताले अक्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा ऊजुरी दिएका छन् । त्यसैको आधारमा नेपाल राष्ट्र बैंक र अक्तियारले एकैसाथ निगरानी बढाएका हुन् ।

    नेपाल बंगालादेश बैंक व्यवस्थापन पक्षले भने जग्गा खरिदमा कुनै घोटाला नभएको भन्दै आफ्नो बचाउ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रचलित दर भन्दा निकै सस्तोमा जग्गा खरिद गरेको भन्दै लगानीकर्तालाई थामथुम पार्ने कोशिस गरेका छन् ।
    तर, लगानीकर्ता भने उनको भनाइमा कुनै दम नभएको बताउँदै आएका छन् । केन्द्रीय कार्यालय प्रयोजनका लागि काठमाडौं जिल्ला काठमाडौं महाननगरपालिका विशालनगरमा रहेको जग्गा क्षेत्रफल सात रोपनी ९ आना एक पैसा तीन दाम जग्गा प्रचलित बजार मूल्य अनुसार प्रतिआना ५५ देखि ६० लाख पर्दछ । तर, उक्त जग्गा एनबी बैंकले प्रतिआना ८० लाखमा खरिद गरेको छ । बंगालादेश बैंक व्यवस्थापनले उक्त जग्गाको मूल्य प्रतिआना करोड भन्दा माथि पर्ने तर, आफूहरुले निकै सस्तोमा पाएको भन्दै हिडेको छ । यसैगरी बालुवाटारको जग्गा पनि निकै कममा खरिद गरेको बंगालादेश बैंकको दावी छ ।

    जग्गा खरिदमा भएको आर्थिक चलखेललाई लिएर बैंकभित्र र बाहिर समेत चर्चा, परिचर्चा हुँदै आएको छ । उक्त जग्गा खरिदका सम्बन्धमा सञ्चालकबीच विवादसमेत हुँदै आएको छ । केही सञ्चालकले उक्त जग्गा खरिद गर्न नहुने भन्दै लिखित रुपमै असन्तुष्ट जनाउँदै आएका छन्, भने केही सञ्चालकले भने उक्त जग्गा खरिद गर्न उपयुक्त भएको जिकीर गर्दै आएका छन् । विवादका बावजुद पनि बंगालादेश बैंक सञ्चालक र व्यवस्थापन जग्गा खरिद गर्ने निर्णयमा पुगेका थियो ।

    बंगालादेश बैंकको शेयर खरिद गरेका लगानीकर्ता भने आफूहरुलाई सञ्चालक समिति र व्यवस्थापन पक्षले भिरमा खसाल्न लागेको भन्दै राष्ट्र बैंक र अक्तियार गुहार्न पुगेका छन् । सञ्चालकहरुबीच समेत जग्गा खरिदमा मत विभाजन भएकाले उक्त जग्गा खरिद गर्ने कार्य तत्काल रोकी पाउँ भन्दै लगानीकर्ताले राष्ट्र बैंक र अख्तियारमा निवेदन दिएका छन् । साथै जग्गा खरिद गर्ने कार्यले बैंक भित्र वित्तीय सुशासन कायम भएको नदेखिएको र उक्त जग्गा खरिद प्रकरणमा चरम आर्थिक चलखेल हुने देखिएकाले सम्बन्धित शीलबन्दी बोलपत्र मुचुल्का उपसमितिको बैठक तथा सञ्चालक समितिको सक्कलै कागजपत्रहरुको जाँच बुझ गरी दोषीलाई तत्कालै कारबाही गर्न पनि राष्ट्र बैंक र अख्तियारमा निवेदन दर्ता गरिएको छ ।

    यही जग्गाको बिषयलाई लिएर नेपाल बंगालादेश बैंकको सञ्चालक समितिको बैठकमा समेत पटक पटक विवाद हुँदै आएको छ । वार्षिक साधारणसभा गर्नु पूर्व अर्थात पुस २५ गते एलिस रेष्टुरेन्टमा बसेको सञ्चालक समितिको बैठकमा कुटपिट समेत भएको थियो । उक्त बैठकमा बंगालादेश बैंकका सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दीपक कार्की कुटिएका थिए ।

    लगनीकर्ताहरु नेपाल बंगालादेश बैंक सञ्चालक र व्यवस्थापन पक्ष निकै कमजोर भएकोमा दिक्क मान्दै छन् । अहिले उक्त बैंकको सञ्चालक समितिको अध्यक्षमा जलाल अहमद छन् । अन्य बैंक सञ्चालकमा सर्वसाधारणको तर्फबाट इन्द्रबहादुर थापा, मुकुन्दनाथ ढुंगेल, दीपक कार्की र आइएफआइसी बंगालादेश बैंकका तर्फबाट एमशाह आलम सरवर तथा क्यारुन नहिर अहमद छन् । बैंक सञ्चालकबीचमा अनेकता छ तर, एकता छैन् ।


    बैंक सञ्चालक समितिमा नै एकता नभएपछि बैंकको वित्तीय अवस्था नै खराव बन्दै गएको छ । बैंक दिनानु दिन उधोगतिमा गइरहेको छ । बैंकको अवस्था नाजुक बनेकोमा सर्वसाधारण लगानीकर्ता चिन्तित छन् ।