Saturday 16th October 2021
  • New title for a=>html, img=>alt
  • एसएसपी सरुवामा गडवडी

    -

    January 29, 2017 | 1212 Views


    काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालवीच सहमति नजुटेर तीन महिनादेखि रोकिंदै गतसाता भएको एसएसपीको सरुवामा भ्रष्ट र वदनाम प्रहरी अधिकृतले बाजी मारेपछि प्रहरी हेडक्वाटर नक्सालमा खैलावैला मच्चिएको छ । गृहमन्त्री निधीले कठमाडौं प्रहरी परिसरमा छविलाल वन्जाडे र जनकपुर अञ्चल प्रहरीमा शुभाष चौधरीलाई लैजाने अडान नछोडेपछि आगामी फागुन २ गतेवाट घरजान लागेका आईजीपी अर्यालले आफु निकटस्थलाई मालदार ठाउँमा सरुवा गर्न सफल भएको वताईएको छ । आफ्नो व्याजीलाई कार्यवाहक नदिने अडान राख्दै अवकाश हुनु १ महिना अघि घरविदा वस्ने परम्परालाई लत्याएका आईजीपी अर्यालले जाँदाजाँदै गरेको सरुवामा वदनाम भएकाछन् । यसको कारण हो सामान्यतया इञ्चार्जवाट इञ्चार्ज नदिने प्रहरी सरुवाको मापदण्डको पालना नगर्नु ।
    एसएसपीको सरुवामा धेरैले वाजी मार्न सफल भएका छन् र ती मध्ये एक हुन पिताम्वर अधिकारी । ललितपुर प्रहरीमा १७ महिना वसेर गिटी ढुङ्गामा करोडौं खाएको आरोप लागेका अधिकारी ठूलै फड्को मारेर मालदार मानिने मेची अञ्चल प्रहरी प्रमुख पड्काउन सफल भएका छन् । केपी ओली, झलनाथ खनाल, सुभाष नेम्वाङ, कांग्रेस नेता कृष्ण सिटौलाको समेत नाम वेच्ने अधिकारी रौतहटमा लामो समय वसेको साईनोमा माधव नेपालकोसमेत नाम वेच्ने गरेका छन् । उनी आइजीपीका विश्वासपात्र पनि हुन् । उता १८ महिना केरकारमा वसेर चर्चा कमाएका सर्वेन्द्र खनाल पनि प्रहरी एसएसपीका लागि नराम्रो मानिने धौलागिरी, कर्णाली, सगरमाथा, राप्ती जस्ता ठाउँमा जानुपरेन । उनी हेडक्वाटरमा सरुवा भएको छ । मिशनबाट फर्केर अञ्चल प्रहरी नारायणी वसेका खनाल त्यहाँवाट केरकार ल्याईएका थिए । उता आइजीपी अर्यालको सचिवालयमा वसेका दीपक थापा मालदार मानिने लुम्विनी अञ्चल प्रमुखमा पुग्न सफल भएका छन् ।
    लुम्विनी जान शुशिलकुमार भण्डारीले कांग्रेस नेता तथा दाजु सुनिल भण्डारीमार्फत भिटो प्रयोग गरेका थिए । तर, उनी महाकाली अञ्चलमा खेदिएका छन् । उता ललितपुर जान ठूलो शक्ति प्रयोग गरेका रामप्रसाद श्रेष्ठ अन्ततः हेडक्वाटरमा थन्किएका छन् । सर्लाहीमा वुथ क्याप्चर गरेवापत कांग्रेस नेता अमरेश सिंहका दोस्त वनेका श्रेष्ठलाई खेद्नमा महन्थ ठाकुरको हात रहेको वताईन्छ । संविधान सभा निर्वाचनमा उनै सिंहले ठाकुरलाई हराएका थिए । ललितपुरमा कतै अवसर नपाएका ठूले राईले मौका पाएका छन् ।
    लोकमान अख्तियार प्रमुख हुँदा हेडक्वाटरमा जगजगी गरेका एसएसपी शुरज केसी अहिले रानो हराएको मौरीजस्तो भएपछि कर्णाली लखेटिएका छन् । कर्णालीमा १६ महिना विताएका विष्णुहरि गौतम भने डिआइजीको छायाँपर्ने गण्डकी अञ्चलमा थन्क्याइएका छन् । इन्स्पेक्टर र डिएसपी हुँदा लाईसेन्स शाखामा वसेर तर मारेका पवन खरेललाई आईजीपीले मालदार कल्याण शाखा जिम्मा लगाएका छन् । पूर्व आइजी अच्यूतकृष्ण खरेलका नातेदार पवनले यसअघि डिएसपी छँदै विराटनगर तालिम केन्द्रको लामो समय निमित्त प्रमुख भएर प्रहरीमा रेकर्ड राखिसकेका छन् । यस अघि उनले आर्थिक प्रशासन शाखा, अञ्चल प्रहरी कोशीमा वस्ने सौभाग्य प्राप्त गरिसकेका छन् । उता सुदुर पश्चिमको भएकै कारण मोहनराज जोशीले तालिम केन्द्र दिपायलको प्रमुख पड्काएका छन् ।
    यतिमात्र होइन एसएसपी सरुवामा अरु किस्सा पनि छन् । काठमाडौं प्रहरी प्रमुख हुँदा वदनाम भएका र मदिरासंगरमाउने आरोप लागेका उत्तमकुमार कार्कीले कोशी अञ्चल हत्याएका छन् । पछिल्लो समय आर्थिक प्रशासन महाशाखा प्रमुख भएर रामै्र तर मारेका प्रहरी अधिकृत मानिन्छन् उनी । उता, जनावर शिकार तथा व्याडमिण्टनका सौखिन ज्ञानविक्रम शाह राप्ती अञ्चल पुगेका छन् । कोशीअञ्चल, अख्तियार हँुदै त्यहाँ पुुगेका शाहको सरुवा संगै वाँके निकुञ्जका वार्डेन अव जनावर कसरी जोगाउने भन्दै चिन्तित् भएको चर्चाछ । महानगरीय प्रहरीमा रहेका शरद चन्द राम्रो ठाउँमा सरुवा पाउन सफल हुँदै तालिमकेन्द्रं वुटवल पुगेका छन् । यस अघि पनि दिपायल तालिम केन्द्रमा वसिसकेका चन्द दोहो¥यायर तालिमकेन्द्र पाउने भाग्यमानी प्रहरी अधिकृत हुन ।
    उता लोकमान कार्की अख्तियार प्रमुख हुँदै केरकार जाने आदेश गराएर वसेका मनोज न्यौपाने भने लोकमानको वहिर्गमन सँगै निरीह भएपछि हेडक्वाटरमा थन्किन पुगेका छन् । केरकारमा अहिले दिनेश अमात्यले ठाउँ पाएका छन् । प्रहरीमा काम गर्र्ने अफिसरमा गनिने अमात्यलाइ आइजीपी अर्यालले काठमाडौं परिसर ल्याउन चाहेका थिए । तर, जनकपुरमा आफुलाइ जिताउन बुथ कब्जागर्न सहयोग गरेका छबिलाललाइ काठमाडौं ल्याउन मन्त्रीले लामो समयदेखि सरुवा नै रोकेका थिए । अर्कोतिर राम्रा कथा लेखेर छुटटै छबि बनाएका कथाकार महेशबिक्रम शाह पनि राम्रो ठाउँबाट राम्रो ठाउँमा सरुवा पाउन सफल हुदै तालिम केन्द्र दुधौलीबाट नेपालगंज पुगेका छन । त्यसो त कमल जिटी पनि  के कम । यसअघि एमाले नेता बिष्णु पौडेलमार्फत बुटवल तालिम केन्द पुगेका उनी प्रहरीमा एकाउन्टेन सरुवा गरी राम्रो कमाइ गर्न सकिने आर्थिक प्रशासन शाखा पाएका छन । अरु भन्दा दानसिं बोहोरा पनि कम रहेनछन् । नेपालगञ्ज तालिमकेन्द्रमा बसेर तर मारेका उनी कर्णाली तरेर सेती अञ्चल प्रमुख पडकाएका छन् । त्यहां आइजीपी अर्यालले आफनो सचिबालयका प्रियपात्र ठाकुर ज्ञवालीलाई  पठाएका छन । उता महेन्द्रकुमार पोखरेल गण्डकीबाट दुधौली तालिम केन्द्रपुग्दा एयरर्पोट सुनकाण्डमा परेका श्याम खत्री जगेडामा परेका छन ।  २१ महिना एउटै अञ्चल प्रहरी कार्यालयमा बसेर प्रहरीमा नयां रेर्कड बनाएका सुरेशबिक्रम शाह युक्ति बिद्यालय नवलपरासीमा पुगेका छन । कल्याण तथा आर्थिक प्रशासन ताकेका बिनोद  शर्मा घिमिरे एकेडेमीमा थन्कन पुग्दा काठमाडौ प्रहरी प्रमुख केदार रिजाल हेडक्वाटरको कोठामा पुगेका छन । बाग्मती अञ्चल ताकेका बलराम शर्मा पौडेल सगरमाथातर्फ लखेटिदा बाग्मतीमा हेडक्वाटरबाट पुष्प रञ्जितले फडको मार्न भ्याएकाछन । प्रहरीमा खासै चर्चामा नआएका सुर्यप्रसाद उपाध्यायले अप्रत्यासितरुपमा नारायणीमा बाजी मारेकाछन । उनले अब त्यहाँ चोरी तस्करी नियन्त्रण गर्न सक्छन कि सक्दैनन ? प्रश्न उठेकोछ । त्यसमाथि पर्सामा मन्त्री निधीले आफ्नो मानिस लगिसकेकोले उपाध्यायलाइ त्यत्ति सजिलो भने छैन । एसएसपी सरुवामा बाजी मार्ने अर्का पात्र हुन पुस्कलराज रेग्मी । सुदुरपश्चिमको तालिम केन्द्र दिपायलबाट पुर्बको तालिम केन्द्र बिराटनगर फडको मार्न सफल रेग्मीको पाइला फडकिनुकोे कारण हो, राष्ट्रिय अनुसन्धान बिभागको प्रमुख दिलिप रेग्मीको सहोदर भाइ हुनु ।