Thursday 26th May 2022
  • New title for a=>html, img=>alt
  • करको विषयमा चलाईएको हल्ला गतल हो

    -

    September 13, 2019 | 393 Views


    सोम प्रसाद मिश्र, प्रमुख, चाँगुनारायण नगरपालिका, भक्तपुर /
    भूगोलको हिसाबले भक्तपुर नेपालकै सबैभन्दा सानो जिल्ला हो । तर, जनसंख्यालाई आधार मान्ने हो त्यति सानो पनि मान्न सकिदैन । नेपालको दुईवटा गाउँ पालिकारहित जिल्ला मध्ये यो पनि पर्दछ । भक्तपुर जिल्लामा चारवटा नगरपालिका छन । चार नगरपालिका मध्ये साँस्कृतिक र पर्यटकीय हिसावले यो नगरपालिका अग्रणी स्थानमा पर्दछ । विश्व सम्पदा सूचीमा सूचीकृत भएको प्रसिद्ध चाँगुनारायण मन्दिर र राजधानीबाट सबैभन्दा नजिकको पर्यटकीय गन्तब्य नगरकोट यसै नगरपालिका भित्र पर्दछ । चाँगुनारायण मन्दिरकै नामबाट नामाकरण भएको यो नगरपालिकाको भू–वनावट समथर पहाडको फेदीको काखमा बसे जस्तो छ । निर्वाचित जनप्रतिनिधि आएको दुईबर्ष सम्म पनि यो नगरपालिकाले नगरवासीसँग कुनै पनि किसिमको थप कर लिएको छैन । चालु आर्थिक वर्ष देखि मात्र सम्पति र ब्यवसायी कर लिने तयारी गरेको नगर प्रमुख मिश्रले बताए । चाँगुनारायण मन्दिर र नगरकोटलाई पर्यटकको आकर्षक गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको उनले बताए । भावी योजना, नगरक्षेत्रभित्र भइरहेका गतिविधि, रणनीतिक योजना र सुधारका पक्षमा भइरहेको पहल बारे केन्द्रित रहेर नगर प्रमुख सोम प्रसाद मिश्रसँग प्रकाश साप्ताहिकका बोधराज पौडेल र रामहरि चौलागाईंले गर्नुभएको बिस्तृत कुराकानी ।
    निर्वाचन भएको दुई वर्षको अबधीमा नगरपालिका भित्र तपाईंले के कस्ता कामहरु गर्नुभयोे ?
    अहिले हामीले मुख्य गरेर नगरपालिकाकाको पूर्वाधार विकासको क्षेत्रमा काम गरिरहेका छौं । यसमा सडक र खानेपानीको माग अत्यधिक बढी छन् । आम नगरवासीको पनि यसैमा जोड रहेको छ । खानेपानीका लागि हामीले मेगा प्रोजेक्टहरु सञ्चालन गर्ने तयारी गरेका छौं । हाम्रो प्रमुख चाहना भनेको प्रत्येक नगरवासीको घरमा शुद्ध पिउने पानीको एउटा धारो होस भन्ने छ । पर्यटन पूर्वाधारका लागि पनि कामहरु भइरहेका छन् । यसमा नगरकोटको २८ वर्ष अगाडि देखिको सौन्र्दयताको महत्वलाई कसरी राम्रो बनाउने भन्ने रहेको छ । बाटो र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका संरचनाहरुलाई अहिले हटाएका छांै । अबको चरण भनेको त्यहाँको पूर्वाधार बिस्तार रहेको छ । यसको सौन्दर्यतालाई बचाउँदै कसरी उच्च राख्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित भएकोे छ । यसै गरेर शिक्षामा गुणस्तर विकासको लागि हामी काम गरिरहेका छौं । हाम्रो लक्ष्य भनेको दश वर्षभित्र नगरभित्र रहेका सरकारी विद्यालयलाई सुधार गरेर बिद्यार्थीको आकर्षन बढाउने रहेको छ । साथ साथै निजी विद्यालयमा अबिभावकहरुले चर्को शुल्क तिरेर आफ्ना छोराछोरीलाई पढाउनु पर्ने वाध्यताको अन्त्य गराउने योजनाका साथ अगाडि बढिरहेका छौं । यसको मतलब निजी बिद्यालयलाई तर्साएर हटाउने भन्ने होईन । सरकारी बिद्यालयलाई सुधार गर्दै राम्रो बनाउँदै लैजाने भन्ने हो । हामीले स्थानीय पाठ्यक्रम निमार्ण गरेर पनि लागू गरिसकेका छौं । विधार्थी संख्याको आधारमा दरवन्दी मिलान गर्ने र स्तान्तरण गर्ने कामहरु अहिले गरिरहेका छौं । हामी निर्वाचित भएर आएको अवधि दूई बर्ष भएपनि उल्लेखनिय धेरै काम भएका छन । रातरात सबै काम एकैचोटी गर्न सकिदैन ।
    नगरपालिकाको आफ्नै भवन छैन भाडाको भवन बाट सेवा दिदा कत्तिको समस्या भएको छ त ?
    हो, हाम्रो आफ्नै भवन छैन । अहिले हामी बसेको भवन भाडामा लिएका हौं । यो नगरपालिकाको क्षेत्र धेरै ठूलो छ । हामीले सबैलाई सेन्टर र पायक पर्ने स्थानमा कार्यालय राख्नुपर्ने हुँदा सही र यपयुक्त क्षेत्र भनेको यही खरिपाटी नै हो । हामी यही क्षेत्रमा जग्गा पनि खोजिरहेका छांै । उपयुक्त जग्गा पाउनासाथ हाम्रो भवन निर्माणको काम सुरु हुन्छ ।
    स्थानीय निकायहरुले बढाएको करका कारण जनता मारमा परेको जनगुनासो निकै नै बढिरहेको छ, यस बिषयमा तपाईंको भनाई के छ ?
    हाम्रो नगरपालिकाले अहिलेसम्म परम्परागत रुपमा रहेको मालपोत वाहेक थप अरु कुनै कर आजसम्म लिएको छैन । यो आर्थिक वर्षबाट भने सम्पति र ब्यवसाय कर लिने तयारी गरेका छांै । नगरकोट र चाँगुनारायण घुम्न आउँने पर्यटकहरुसँग पर्यटक शुल्क भने लिने गरेका छौं । यो बाहेक अन्य कर नगरपालिकाले नगरबासी सँग लिएको छैन । हामीलाई थाहा छ, पञ्चायत कालमा पनि नदी तर्दा माझीले कर लिने गरेको कुरा । जिल्ला पञ्चायतले नै जिल्ला भरीका घाटको ठेक्का लगाउने गरेको थियो । मालपोत कार्यालयले पनि जिम्मल राखेर नै कर लिने गरेको थियो । अहिले त्यो अवस्था छैन । जथाभावी कर लिन स्थानीय तहले सक्दै सक्दैन । यसको नियम र प्रक्रिया हुन्छ हामीले त्यसलाई पालना गर्नुपर्छ । सोही अनुरुपको काम हामीले गर्नुपर्ने हो । त्यसो भएकोले पनि अहिले करको बिषयमा चलाइएको हल्ला सरासर गलत आरोप हो भन्ने मलाई लाग्छ ।
    स्थानीय तहका धेरै जनप्रतिनिधिले निर्वाचित भएर आएपछि सरकारको पैसाबाट डोजर ब्यवसाय सञ्चालन गरेको समाचारहरु बाहिर आएका छन, यस बारेमा तपाईंको धारणा के छ ?
    कोही निर्माण ब्यवसायी काम गर्दा गर्दै जनप्रनिधि बनेका पनि छन । उनीहरुले आफ्नो ब्यवसाय त कुनै न कुनै रुपमा त गर्नु नै पर्ने हुन्छ । त्यो स्वभाविक पनि हो । तर, जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि यो व्यवसाय गर्नु राम्रो कुरा होईन र त्यस्तो भएको छ जस्तो मलाई लाग्दैन । अपवादमा कहिँ कतै यस्तो भएको भए त्यसलाई सुधार गर्नुपर्ने हुन्छ । अपवादको रुपमा आएका यस्ता कुरालाई सबै जनप्रतिनिधिले यस्तो गर्छन भन्न मिल्दैन । एउटाले गरेको गल्ती र कमजोरीलाई देशै भरका जनप्रतिनिधि सँग तुलना गर्न मिल्दैन ।
    तपाईंको नगरपालिका भित्र पुर्वाधार विस्तारको कार्य कहाँ पुग्यो ?
    हामीले काठमाडौंको समस्या र ब्याथालाई तुलना गरेर बाटो विस्तारको योजना अघि सारेका छांै । हामीले अबको बीस वर्षमा यहाँको जनसंख्यालाई धान्न सक्ने गरी बाटो निर्माण गर्ने तयारी गरेका छौं । अहिले हतारमा बाटो बनाउने र पछि फेरि भत्काउने काम यो नगरपालिकाको हकमा हुँदैन । त्यसका लागि हामीले मापदण्ड तयार नै गरेका छौं । त्यसका लागि अहिले नै योजना बनाएर कुन सडक कत्रो चाहिने हो त्यसको अध्ययन गरेर कामको थालनी गर्दैछौं । बाटोको मापदण्डमा परेका कुनै पनि घर वा संरचनालाई अहिले भत्काइएको छैन । बाटोको चापको आधारमा बनेका घरलाई कति वेला भत्काउने भन्ने कुराको निर्धारण हुन्छ । अब बन्ने घरहरुमा हामीले तय गरेको मापदण्डको परिपालना गर्ने, गराउने कार्य भने भईरहेको छ । हामीले नयाँ नापी गर्दा यस्ता जग्गाहरुको लगत कट्टा गर्छौ र त्यहाँ स्थायी संरचनाहरु बनाउन दिदैनांै । पछि हामीले तय गरेको मापदण्डलाई आधार मानेर नै घरको नक्सा पास गर्ने काम हुन्छ ।
    यो नगरपालिकाको पाँच वर्षे रणनीतिक योजना के के रहेका छन ?
    पाँच बर्ष भित्रमा चाँगुनाराण नगरपालिका भित्र बसोवास गर्ने प्रत्येकको घरमा शुद्ध पिउन योग्य खानेपानीको एउटा धारो हुन्छ । यहाँका सरकारी विद्यालयमा विद्यार्थीको चाप बढेको हुनेछ । संस्थागत र निजी विद्यालयहरु विस्तारै खुम्चने छन् । यो काम निजी विद्यायललाई कर लगाएर अप्ठ्यारो पारेर होईन, सरकारी विद्यालयको गुणस्तरमा सुधार गरेर गर्ने हो । मैले यो कुरा धेरै कार्यक्रममा भन्ने गरेको छु । सरकारी विद्यालयको सुधारमा नगरपालिका अहोरात्र रुपमा लागेको छ । यस नगरपालिका भित्र करिब ६ सय बाटाहरु छन् । त्यसमा ३ सय रोडहरु बाह्रै महिना चल्न सवारी साधन चल्न सक्नेगरी बनाउने हाम्रो लक्ष्य र योजना रहेको छ । प्रत्येक टोलमा पुग्ने बाटाहरुको गुणस्तरमा सुधार गर्ने । नगरकोट र चाँगुनाराणमा अहिलेको तुलनामा दोब्बर पर्यटक ल्याउन पहल गर्ने गरी विकासका योजना अगाडि बढाउने, यसका लागि पूर्वाधार निर्माणका कामहरु मा जोड दिने योजना बनाएका छौं । तीन लाखको मात्रामा बहुमूल्य जडिबुटीहरु रोप्ने र वन तथा वातावरणको पक्षमा काम गर्ने रणनीति अगाडि सारेका छौं । साथै सन् २०२२ सम्ममा पूर्ण सरसफाई उन्मुख नगरपालिका बनाउने । विपत ब्यवस्थापनका क्षेत्रमा पनि हामीले काम गरिरहेका छौं । यो कुरालाई धेरै स्थानीय तहले सार्हाना पनि गरेका छन् । आपलकालिन कार्य सञ्चालन केन्द्र पहिलो पटक हामीले गरेका शुरु गरेका हौं । विपत जोखिम न्यूनिकरणका निम्ति चाहिने नियामक कानून र निर्देशिकाहरु तयारी गरिसकेका छौं । अन्य आपतकालिन समयमा आवश्यक पर्ने सामग्रीको हामीले भण्डारण गरेर राखेका छौं । सरसफाइका लागि चाँगुनारायणले नमूना कामहरु गर्दै आइरहेको छ ।
    गत वर्षको भदौमा हामीले सरसफाई सम्बन्धी रणनीतिक योजना पारित गरिसकेका छौं । हामी अहिले संयुक्त राष्ट्रसंघको युएन ह्याविटेडसँग मिलेर सरसफाइमा काम गर्दै पनि छौं । आइओएमसँग मिलेर विपत जोखिमको काम शरु गरेका छांै । विपतको वेला बस्ने सेफ सेन्टरको निर्माणको तयारी भइरहेको छ । यो काममा हामी एक कदम अगाडि हुनेछौ । एउटा अत्यन्तै राम्रो प्राविधिक शिक्षालय स्थापनाको तयारीमा लागिरहेका छौं । यिनै कुराहरु पाँच वर्षमा चाँगुनारायण भित्र देखिने छन यो हाम्रो प्रतिबद्धता हो ।
    यस नगरपालिकाका समस्याहरु चाहिं के के छन् त ?
    नगरपालिका भित्रको भनेको पूर्वाधारको तयारी नभएको स्थानमा घरहरु बनाउने र पछि बाटो, खानेपानी र विद्युतको माग गर्ने कुरा मुख्य समस्याको रुपमा देखिएको छ । हामी पहिले आफ्नो जग्गा जहाँ छ त्यहाँ घर बनाउँछौ । घर बनाइसके पछि त्यस स्थानमा जानका लागि बाटो, पानी र विद्युतको माग गर्छौ । यो स्वभाविक हो । तर, हामीले घर बनाउनु पूर्व म कस्तो स्थानमा घर बनाउँदै छु र त्यहाँ के कस्ता पूर्वाधारहरुको आवश्यकता पर्छन् भन्ने कुराको मूल्याङ्कन नगर्दा यी समस्या आएका हुन । हामी यी कुरामा पनि सचेतनाका कामहरु गरिरहेका छौं । हामीले गर्नुपर्ने काम के हो भने पूर्वाधार बनेको स्थानमा घर बनाउन सके राम्रो हो । जनताको नैसर्गिक अधिकार भएको हुनाले हामीले यसमा कडाइ गर्न मिल्दैन तर, सचेतनाका कामहरु गर्दै यस्ता समस्यालाई निराकरण भने गर्न सकिन्छ ।