Sunday 26th January 2020
  • New title for a=>html, img=>alt
  • काङ्ग्रेस भित्रको गुट राजनीति

    -

    October 24, 2019 | 169 Views


    खगेन्द्रराज सिटौला /
    नेपाली राजनीतिमा गुट राजनीति स्वार्थ पूर्तिको एउटा गतिलो माध्यम भइआएको छ । दल भित्रका पनि अनेक दल भएर नेपालका राजनीति दलहरु गुज्रिरहेका छन् । नेपालका सबै ठूला साना राजनीति दलहरुमा गुट राजनीति एउटा फेसन भएर आएको छ । गुट राजनीति सत्ता र शक्ति प्राप्त गर्ने एउटा गतिलो माध्यम बनाइएको छ । पार्टी भित्र बनाइएका गुट राजनीतिको कुनै औचित्य देखिदैन । कुनै नीतिगत, सैद्धान्तिक मतभेद पनि देखिदैन । रणनीतिक तथा कार्यनीतिक मतभेद पनि देखिदैन । घरेलु तथा विदेश नीतिमा मतभेद पनि देखिदैन । तर पनि दल भित्रका दलका रुपमा अस्थाई वा स्थाई प्रकृतिका गुट राजनीति हावी भएर गइरहेका छन् सबै राजनीतिमा । विना सिद्धान्तको गुट राजनीति दल र प्रजातन्त्रको ऐंजेरु हो र यो कालन्तरमा मुलुकको पनि ऐंजेरु सावित हुनेछ ।
    नेपालको प्रमुख तथा पुरानो र हालको सबभन्दा ठूलो राजनीति दल नेपाली कांग्रेस लामो समय देखि गुट राजनीतिमा फसेको छ । गुट राजनीतिले नेपाली कांगे्रसलाई बलियो होइन कमजोर नै बनाएको छ सधै । नेपाली कांग्रेसका प्रमुख नेता वीपी कोइराला अस्ताए पछि त्यो राजनीति दलमा गुट राजनीति फस्टाएको पाइन्छ । वीपी हुँदा खेरि पनि नेपाली कांग्रेसमा गुट राजनीति नभएको होइन । तर स्थाई र बलियो खालको गुट राजनीति भने हावी भएको थिएन । गुट राजनीति भए पनि नेपाली कांग्रेसमा त्यसबेला गुटहरु हावी हुन पाएका थिएनन् । त्यसको प्रमुख कारण वीपीको व्यक्तित्वको उचाइ नै थियो । वीपीको व्यक्तित्वले गर्दा बनेका गुटहरु पनि पानीको फोका जस्तै बन्दै र पूmट्दै गए । त्यसबेला पनि गुटले नेपाली कांग्रेसलाई कमजोर नै बनाएको थियो । गुटले पाार्टीलाई कहिल्यै बलियो बनाउदैन । त्यसले पार्टीलाई जहिल्यै कमजोर नै बनाएर लान्छ । यो सबै पार्टीहरुमा लागू भएको छ र भविश्यमा पनि भइरहन्छ ।
    गुट राजनीति सत्ता प्राप्त गर्ने वा स्वार्थ पूर्ति गर्ने सजिलो तर प्रभावकारी माध्यम भएको छ हरेक स्वार्थी तथा महत्वकांक्षी नेताहरुका लागि । नेपाली कांग्रेसमा पनि यसको अभ्यास लामो समय देखि नै भएको छ । स्थापना काल देखि नै नेपाली कांग्रेस गुट राजनीतिको शिकार हुँदै आएको छ । नेपाली कांग्रेसको स्थापना र विकासमा कोइरालाहरुको महत्वपूर्ण योगदान भएजस्तै त्यो दल भित्र गुट राजनीति बनाउन पनि उनिहरुको नै प्रमुख योगदान पनि छ । नेपाली कांग्रेमा सत्ता र शक्ति प्राप्त गर्न गुट बनाउने र गुटलाई सत्ता र शक्ति प्राप्त गर्ने औजार बनाउने कामको थालनी स्वयं यो दलका प्रमुख नेता वीपी कोइरालाले नै गरेका हुन् । यस मानेमा नेपाली कांग्रेसका संस्थापक तथा पार्टी भित्र गुट राजनीतिका संस्थापक पनि वीपी नै मानिन्छन् ।
    जुनबेला नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री मातृका प्रसाद कोइराला थिए उनको विरुद्ध गुट बनाएर सत्ता र शक्ति प्राप्त गर्ने जेहाद नै छोडे वीपीले । वीपी र मातृकाको कुनै नीतिगत तथा सैदान्तिक मतभेद थिएन । वीपीले उठाएको मुद्दा थियो पार्टीमा एक व्यक्ति एक पद हुनु पर्दछ । त्यसबेला मातृका नेपाली कांग्रेसका सभापति तथा सरकारमा प्रधानमन्त्री थिए । पार्टीका विधानमा त एक व्यक्ति एक पद त थिएन । तर पनि वीपीले यो कुरा गुट बनाएर जोडदार रुपमा उठाए । यसको मकसद थियो सत्ता र शक्ति प्राप्त गर्ने नै । यसमा वीपीलाई सफलता प्राप्त भयो पनि । मातृका नेपाली कांगेसको सत्ता र शक्तिमा कमजोर भए त्यहाँ वीपी हावी भए । मातृका काँग्रेसबाट बाहिरिएर अर्को दल खोले तर उनी सफल हुन सकेनन् । डिल्लीरमण रेग्मी, भद्रकाली मिश्र, वेदानन्द झा आदिहरुले पनि गुट राजनीतिको अभ्यास गरे पनि उनीहरु सफल हुन सकेनन् । वीपीको वौद्धिक, राजनीतिक तथा सांगठानिक क्षमता सामु कसैको केही लागेन ।
    राजा महेन्द्रले नेपाली कांग्रेसको सरकार अपधस्त गरेर पञ्चायति व्यवस्था स्थापना गर्दा उनलाई सहयोग गर्ने वीपीका भरपर्दा युवा तुलसी गिरी तथा विश्ववन्धु थापा पनि थिए । तर उनीहरु गुट बनाएर राजा महेन्द्रलाई सहयोग गर्न नभएर व्यक्तिगत रुपमा गएका थिए । बरु पछि बखानसिंह गुरुङले ३८से समुहको गुट बनाएर सामुहिकरुपमा पञ्चायतमा प्रवेश गरे । त्यसमा परशुनारायण चौधरी, श्रीभद्र शर्मा आदि थिए । त्यसले वीपी तथा नेपाली कांग्रेसलाई निकै धक्का लागे पनि कांग्रेस अगाडि नै बढ्यो ।
    नेपाली कांग्रेसमा सत्ता र शक्तिको लागि गुट राजनीति सुरु गर्ने वीपी कोइरालाले गुट राजनीतिको आधार पनि बनाइ दिएर गए । वीपीले पार्टीमा संस्थागत आधार बनाएर पार्टीलाई बलियो बनाएर लानु पर्ने ठाउँमा व्यक्तिको आधार बनाएर गए । जसको कारणले नेपाली कांग्रेसमा गुटको राजनीतिको स्थाई आधार बनेर गएको पाइन्छ । वीपीले नेपाली कांग्रेसमा वैधानिक तथा संस्थागत नेतृत्व स्थापित तथा विकसित गर्नु पर्ने ठाउँमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको त्रय नेताको नेतृत्व दिएर गए नेपाली कांग्रेसमा । कालान्तरमा नेपाली कांग्रेस भित्र स्थाई गुटको आधार त्यसैले नै बनायो । नेपाली कांग्रेसमा गणेशमान गुट, भट्टराई गुट गिरिजा गुट बन्ने र जुध्ने आधार त्यसैले नै बनाएर लग्यो । गिरिजा गुट बलियो भएपछि गिरिजागुटसंग जुध्न गणेशमान र भट्टराई एक भए । त्यो गुटलाई कमजोर पार्न गिरिजाले भट्राईलाई चुनावमा हराएर आपूm प्रधानमन्त्री हुने आधार बनाए । त्यसलाई कांग्रेस भित्रको अन्तरघात भनियो । कांग्रेसमा गिरिजासंग जुध्न गणेशमान भट्टराईले आप्mना सांसदको गुट बनाए । उनीहरुको गुट ३६ से र गिरिजाको गुट ७४ रे भयो । गिरिजाले ३६ सेका मन्त्रीलाई हटाए पछि ३६ सेले गिरिजा सरकारको नीति कार्यक्रम नै फेल गराइदिएर कांग्रेस सरकार मात्र गिराइदिएन गिरिजाले गराएको मध्यावधी चुनावमा नेपाली कांग्रेस बहुमत गुमाएर दोस्रो दलमा समेत खस्यो । गुट राजनीतिले नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याएको यो एउटा उदाहरण हो ।
    यहि गुट राजनीतिको विकास र असरले गणेशमानले नेपाली कांग्रेस त्याग गरे जीवनको अन्तिम कालमा । पछि कृष्ण्प्रसाद भट्टराईले भने गणतन्त्र र धर्मनिरपेक्षताको सैद्धान्तिक मतभेद देखाएर नेपाली कांग्रेस परित्याग गरे । गुट र सिद्धान्तहीन राजनीतिले नेपाली कांग्रेसै त्यागेका गैह्र कांग्रेस गणेशमान र कृष्ण्प्रसादका फोटा औपचारिक कार्यक्रममा पुजेर कांग्रेसलाई लज्जित र गणेशमान र कृष्ण्प्रसादलाई अपमानित गराईरहेको छ नेपाली काँग्रेसले ।
    सत्ता र स्वार्थको सिद्धान्तहीन राजनीतिले नेपाली कांग्रेसमा गिरिजा गुट र देउवा गुट बनाएर कांग्रेस विभाजित पनि भयो । पछि जोडिए पनि गुट यथावत चलिरह्यो । कोइराला गुटको नेतृत्व सुशीलले गरे । देउवाले आप्mनो गुट यथावत चलाए । सुशीलको मृत्युपछि कोइराला गुटको विडो थाम्न अघिसरेका रामचन्द्र पौडेल देउवासंग पछारिए पछि पनि गुट बलियो बनाएर कसरी सत्ता र शक्ति प्राप्त गर्ने भनेर अपहत्ते गरिरहेका छन् । हिजो कृष्णप्रसाद गुटमा रहेका कुष्णप्रसाद सिटौलाले कोइराला गुटमा लाग्दा सत्ता र शक्ति पाइने बुझेर गुट परिवर्तन गरेका थिए । सुशीलको मृत्युपछि कोइराला गुट कमजोर हुने भए पछि भित्री रुपमा देउवा गुटमा र देखावटी रुपमा आफनो तेस्रो गुट बनाएर आपूmलाई वैकल्पिक नेताको रुपमा स्थापित गर्ने कोशिसमा छन् उनी । गगन थापा लगायतलाई लिएर गुट बनाउदै छन् उनी ।
    नेपाली कांग्रेसका कुनै पनि गुटमा नीतिगत तथा सैद्धान्तिक मतभेद देखिदैन । सत्ता र शक्ति प्राप्त गर्ने व्यक्तिगत महत्वकांक्षाको लडाइँ बाहेक यो केही पनि होइन । हुनसक्छ कोही भारतका लागि कोही अमेरिकाका लागि काम गरेका पनि हुन । नेपाली कांग्रेसमा कृष्ण्प्रसाद भट्टराइले मात्रै सैद्धान्तिक तथा नीतिगत लडाइँ लडेर दल त्यागेको माथि नै भनियो । अरुको भने सत्ता र शक्तिको लागि नितान्त व्यक्तिगत स्वार्थको लडाई मात्र हो । आवरणमा पार्टी, देश र जनताका लागि भने पनि नितान्त व्यात्तिगत स्वार्थको लागि गुट बनाएका हुन् । आफूलाई र गुटलाई बलियो बनाउन सबै गुट प्रमुखहरु विदेशीका भरिया हुन उत्तिकै इमान्दार हुन्छन् । नेपाली कांग्रेस गुट कांग्रेसको दलदलमा फसेको छ । भन्न सकिन्न यसले कांग्रेसलाई कहाँ पुर्याउँछ ।
    पार्टी भित्र सत्ता र शक्तिको बाँडफाँडको माग गर्ने भाग खाने गुटको नेता भएर तर मार्ने आधार बनाइरहने गुटबादले दल प्रजातन्त्र र मुलुकलाई बर्बाद मात्र गर्दछ । सारमा सिद्धान्त बेगरको गुट राजनीतिको अर्को नाम लुट राजनीति नै हो । लुटको लागि गुट राजनीतिमा को भन्दा को कम भन्दै सबै दलमा यो कुराजनीति तीब्र भएर फैलिरहेको छ यता उता जताततै । राजनीतिमा गुटको खेती गरेर आपूmलाई र आप्mनो राजनीति सुरक्षित गर्नेहरु सबैले मुलुक र लोकतन्त्रको सुरक्षा दिन सक्तैनन् । त्यसैलै बलियो नैतिकवान राजनीति दल बनाउन चाहनेले गुट राजनीति मुक्त आआप्mना दल बनाउन इमान्दार प्रयास गरुन् सबैले ।