Sunday 26th January 2020
  • New title for a=>html, img=>alt
  • कोदो उत्पादन काइदा र फाइदा

    -

    November 7, 2019 | 215 Views


    खगेन्द्रराज सिटौला /
    हामी सानो छँदा शायद १८÷२० साल तिर (तिब्बति शरणार्थीहरु हुनु पर्छ हामी उनीहरुलाई थाक्से भोटे भन्थ्यौं) कोदाको पिठोसंग साट्न अनेक चीजहरु लिएर आउथे हाम्रो गाउँतिर । उनीहरु मुस्किलले केही नेपाली शब्द बोल्दथे उनीहरुकौ लवजमा । उनीहरुले लानलाई माग्ने कोदाको पिठो हुन्थ्यो भने खानलाई माग्ने कोदाको ढिंडो नै हुन्थो । कोदाको ढिंडो वा पिठो पाएकोमा उनीहरु संसारै पाएझै खुशीले रमाउँथे । उनीहरुसंग अनेक चीज बस्तु साँट्न आमा काकीहरु जहिल्यै घरमा कोदाको पिठो तयार पारेर राख्नु हुन्थ्यो । उनीहरु चावल होइन कोदोमा नै जोड गर्दथे । हामी चाहीँ धानका त्यति राम्रा चावल नलिएर नाथे कोदाको पिठोमा मरिहत्ते गर्ने बुद्घि नभएका थाक्से भनेर उनीहरुको कुरा काट्दथ्यौं । तर अहिले बुज्दाखेरि त उनीहरु होइन कि बुद्घि नभएका त हामी नै रहेछौं । कोदोमा धेरै पौष्टिक तत्वहरु भएको उनीहरुलाई राम्ररी थाहा रहेछ । बरु कोदोलाई हेला गर्ने हामी आफै ठगिएका रहेछौं शरिरमा कोदोबाट धेरै पौष्टिक तत्व प्राप्त गर्नबाट ।
    एकपल्ट बुबा काम विशेषले गाउँघरतिर जानु भएको थियो । घरमा आएर कुराको सिलसिलामा आज म नयाँ कुरा थाहा पाएर छक्क परें भन्नु भयो । बुबा छक्क परेको नयाँ कुरा सुन्न हामी उत्सुक भयौं । बुबाले गाउँको एकजना धनीमानीको नाम लिएर “फलानाको घरमा पनि कोदाको खोले पकाएर खाँदै रहेछन् भित्र पस्दा त लुकाउन र छोप्नको दास्ति भो । म नदेखे झै बाहिर निस्कीहाँले” । त्यो भन्दा धेरै पछि कोदा खाँदा हुन्छ खानदानीहरुले पनि भन्ने अलिअलि चेत भरिदै थियो । एकदिन भाउजूले मिठा कोदाका रोटी पकाएर सबैलाई खाजा खुवाउने योजना बनाउनु भयो । कोदाका रोटी हामी साच्चै स्वाद मानेर खाइरहेका थियौं । बाहिरको कुटुम्ब पाहुना आए । भित्र उही बुबा पुगेको घर जस्तै कोदाको रोटी र पिठो लुकाउनको दास्ति भाउजूलाई । यी दुई दृष्टान्तबाट थाहा हुन्छ कि केही खानदानी परिवारमा कोदो कति हेलाको उपेक्षाको अन्न थियो भनेर ।
    समय फेरिएको छ । कोदो पनि सम्मानित खाद्य पदार्थको दर्जा पाएको छ । जताततै रिसोर्ट, होटल रेष्टुरा आदिमा कोदाको ढिँडोको विज्ञापन नभएको शायदै होला । अनि त्यहाँ पुग्ने जो कोही ग्राहकले कोदाको ढिँडोको अर्डर गरेर मासुको झोलमा चोप्दै क्या मिठो भन्दै स्वादले नखाएको शायदै होला । अहिले कोदो पौष्टिकताको हिसावले अरु खाद्यान्न भन्दा राम्रो भएको बुझेपछि यो खानेहरु बढेका छन् । तर फेरि परम्परागत रुपमा कोदाको ढिडो खाने परिवारहरु घटेका छन् । यो चाहिँ चिन्ताको विषय भएको छ । आज हामी कोदो बारे सुनेका, जानेका पढेका केही कुराहरु पाठकहरु माझमा बाँड्न चाहन्छौ ।
    नेपालका मुख्य बाली धान, गहुँ, मकैलाई मानिन्छन् । सहायक बालीको रुपमा मानिने कोदो चौथो बालीको रुपमा मानिन्छ । केही वर्ष अघिसम्म कोदाका बाला किसानका बारीमा धेरै देखिन्थ्यो । तर अचेल कोदो उत्पादन गर्ने किसानहरु कमै पाइन्छन् । कोदो रोप्न, टिप्न र कुट्न थन्क्याउन झन्झटिलो भएकोले र यसको लागत पनि नउठ्ने भएकोले यसको खेतिमा कमी हुन गएको हुनसक्छ । अहिले युवा पुस्ता विदेशमा जाने तथा कृषिमा उदासिन हुने प्रवृति बढेको हुनाले पनि कोदो जस्तो एउटा एउटा गरेर रोप्नु र टिप्नु पर्ने बाली झनै घट्न थालेको देखिन्छ । यसलाई बढी भन्दा बढी कसरी फलाउने र धेरै भन्दा धेरैको भान्सामा कसरी पु¥याउने विषय पनि पनि राष्ट्रिय छलफलको विषय हुनु पर्दछ । यतातिर कृषि विभाग मन्त्रालय तथा सम्बन्धित सबैको ध्यान जानु पर्दछ ।
    कोदो फाइदाकारी छ । कोदोमा पाइने पौष्टिक तत्व मूख्य बाली भनिने धानको चावल र गहुँ भन्दा बढि पाइन्छ । तुलना गरेर हेरौ । क्रमश प्रति १०० ग्राम कोदोमा ७.३ प्रोटिन, चावलमा ६.८ र गहुँमा ११.८ पाइन्छ । फ्याट कोदोमा १.३, चावलमा ०.५ र गहुँमा १.५ पाइन्छ । मिनरल्स कोदोमा २.७, चावलमा ०.६ र गहुँमा १.५ पाइन्छ । फाइबर कोदोमा ३.६, चावलमा ०.२ र गहुँमा १.२ पाइन्छ । कार्बोहाइडे«ड कोदोमा ७२.०, चावलमा ७८.२ र गहुँमा ७१.२ पाइन्छ । क्याल्सियम (मि.ग्राम) कोदोमा ३४४.० चावलमा ४५.० र गहुँमा ४१.० पाइन्छ । फास्फोरस(मि.ग्रा.) कोदोमा २८३.०, चावलमा १६० र गहुँमा ३०६.० पाइन्छ । थाइमाइन (मि.ग्रा.) कोदोमा ४२०.० पाइन्छ । जुन चावल र गहुँमा पाइदैन । यसको साथै कोदोमा फलाम तत्व (आइरन) प्रसस्त पाइन्छ जसले महिलाहरुमा देखिने रक्तअल्पतालाई घटाउछ भने क्याल्सियमले दाँत र हाडलाई बलियो बनाउन ठूलो योगदान पु¥याउँदछ । (स्रोत लिलाबहादुर सिंह राठोर,कृषि वर्ष ५१ अंक २) । माथिको तालिकाले प्रमाणित गर्दछ कि कोदोमा कतिपय खाद्य तत्व गहुँ, चावल भन्दा धेरै छ भने कुनै तत्व चावल गहुँमा नभएको कोदोमा पाइन्छ । यसको साथै कोदोमा प्रशस्त मात्रामा पाइने रेसाजन्य पदार्थले पेट सफा गर्ने हुँदा आन्द्रामा हुने क्यान्सरबाट बचाउँछ । साथै कोदोमा औषधीय गुण भएका तत्व पनि पाइन्छ । यसको नियमित सेवनले मानिसलाई स्वस्थ रहन धेरै मदत पु¥याउँछ । कोदाको खोले र नल पशुको लागि पौष्टिकताले भरिपूर्ण आहारा मानिन्छ ।
    गाउँ घरमा नेपालीहरुले परम्परादेखि नै कोदाको ढिँडो, तावामा पकाएको वा आगाको भुतभुतेमा पोलेको रोटी वा कोदाको पातलो खोले खादै आएका थिए । अहिले गाउँघरमा यो क्रम घट्दो अवस्थामा छ । कोदो रोप्ने, गोड्ने, टिप्न्, कुट्र्ने, पिध्ने ढिँडो मस्काउने सबै झन्झटिलो लाग्न थाल्यो ग्रामिण भेकका किसानहरुलाई पनि । पुरानो पुस्ता सक्दैन नयाँ पुस्ता जान्दैन या चाँहदैन । अनि कसरी उत्पादन बढ्छ कोदाको । कोदाको परिकार खानलाई पनि काइदा छ स्वास्थ्यलाई पनि फाइदा छ तर पनि यस्तो फाइदाकारी अन्नको उत्पादन जताततै घट्दो छ । यसरी घट्ने क्रम रोकिएन भने कुनै दिन कोदोको बीउ पनि नदेखिने अवस्था पनि आउन सक्छ । हाम्रा परम्परागत राम्रा रैथाने धेरै बालीहरु मासिने क्रममा छन । यसमा सबै सचेत हुनु पर्दछ । उकपल्ट मासिए पछि सदाको लागि मासिन्छ । कोदो भन्दा फापर झन छिटो मासिने खतरा देखिदै छ । कोदोको धेरै मतवाली परिवारहरुले जाँड रक्सी बनाउन, कोदाको तुङ्बा बनाएर खाने कोशेली लाने समेत गर्ने हुनाले उनीहरुले यसको लागि पनि कुनै न कुनै रुपमा कोदोलाई बचाउलान् । अझ कतिपय परिवारलाई त देउतालाई चढाउन पूजा आजामा पनि शुद्घ कोदाको रक्सी चाहिने हुनाले आध्यात्मिक कारणले पनि कोदो बचाउलान् । तर गुनिलो फापरलाई बचाउने त यस्ता कुनै आधारै भेटिदैनन् ।
    कोदो तथा फापर जस्ता फाइदै फाइदाका अन्नहरुलाई लोप हुनसक्ने खतराबाट बचाउन लिवर्ड लगायत केही संस्थाहरु प्रयासरत छन यता केही वर्ष देखि । कोदोबाट परम्परागत बाहेक आधुनिक परिकारहरु पनि बनाउन सकिने उनिहरुको संस्थाबाट प्रकाशित पुस्तिकामा पाइन्छ । पुस्तिकामा उल्लेख गरे अनुसार कोदाका पिठोबाट पानीरोटी, सादा परौठा, भरुवा परौठा, प्यानकेक, रोल्स रोटी, पिज्जा, दोनट, सेल नमकिन, पकौडा, चाउमिन, पेष्ट्री, मम, चिजबल्स, वुनिया, शंखे मिठाई, ऐठे मिठाई, हलुवा, केक, विस्कुट, पिनट, कुकिज, माल्ट आदि बनाएर खान वा बिक्री गर्न सकिने बताइएको छ । कोदाबाट बनाइएका आधुनिक परिकारहरुको व्यवसायिक उत्पादन र बिक्री वितरण हुन सकेमा कोदो बचाउने र मानिसको आयु बढाउने काममा योगदान पुग्दथ्यो । किनभने कोदोले मानिसमा रोगसँग लड्ने क्षमतामा विकास गराउँदछ । कोदोका परिकार मधुमेयका विरामीको लागि पनि लाभकारी मानिएको छ ।
    कोदाको पातलो सुप नियमित खाने गरेमा स्वस्थ मानिसलाई विरामी हुन दिदैन भने विरामीलाई तङ्ग्रिनलाई मदत गर्दछ । पंतिकार तेह्रथुमको जिविस सभापति भएकोबेला धनकुटा जिबिस सभाभति धर्मराज पौडेल अथिति आएका थिए । सभापतिजीलाई म तामे चियाले स्वागत गरौं भने । उनले तामे चिया के को हो चिनेन् तर खुब स्वाद मानेर थपेर खाए । मेरी श्रीमतीले कोदाको पिठो ज्वानो र अनेक कासाविसा मिसाएर बनाएको सुपलाई म तामे चिया भनेर (तामा जस्तै रातो रातो भएकोले) नियमित खाने गर्थें । त्यसले मलाई स्वस्थ हुन मदत गरेको मेरो स्वअनुभव छ । कोदो र ज्वानो मिसिएको सुपले मेरो अनुहार रातोपिरो भएको थियो । धर्मजीले भेट्दा जहिल्यै ताँमे चियाको प्रसंग उठाउनु हुन्छ । नियमित ताँमे चिया खाने गर्नुहोस् आफ्नो स्वास्थ्य राम्रो बनाउनु होस् ।
    कोदो आफैमा शक्तिशाली अन्न हो । यसमा घुन पुत्ली पनि लाग्दैन । यो दशौं वर्ष सम्म भकारीमा राख्दा पनि विग्रदैन । यो अनिकालको साथी हो । हामी सानो हुँदा आपूmलाई इमा बुढीबजु भन्नेले गाएको गीतले पनि कोदाको महत्व दर्साएको थियो । त्यसबेला लामो खडेरीले जताततै अन्नको हाहाकार भएको थियो । हामी पनि इमाले गाएको गीत बस्तु चराउँदा वन पाखामा वनै थर्काउने गरी ठूलो स्वरले खुबै गाउँथ्यौ । गीत यस्तो थियो
    मकै गेडी सुन गेडी, धान गेडी अक्षता खाउँला भन्ने नचिता,
    कोदो रोप्न सारो छ अनिकालमा फारो छ । हो पौष्टिकताले भरिपूर्ण थोरैले धेरै क्यालोरी प्राप्त हुने फारो कोदोको व्यवसायिक उत्पादनमा किसानहरुलाई प्रोत्साहन गरौं । सरकारले सहुलियत सहयोग र तालिम दिएर किसानहरुलाई व्यवसायिक उत्पादनमा लगाओस् । पौष्टिकताले युक्त यस्ता लोपउन्मुख बाली जोगाउन र जगाउन विशेष कार्यक्रमसाथ सरकार प्रस्तुत हुनुपर्दछ । हामीले थाक्से भोटे नाम राखेका तिब्बति शरणार्थीहरुले चावल होइन कोदोको पिठो देउ भनेको अर्थ र महत्व बुभ्mन निकै समय लाग्यो । कोदो खाऔं स्वस्थ होऔं ।