Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • कोरोना

    -

    April 29, 2020 | 952 Views


    कथा
    होमशंकर बास्तोला

    मानसलाई यसपटक डिभी पर्याे । अमेरिका छिर्ने भूतले उनलाई सताएको आजमात्र होइन पाँच वर्ष भइसक्यो । यसबीचमा उनले पाँचपाँच पटक डिभी भरे । तर पाँचौँ पटकमा भने उनलाई डिभी परेरै छाड्यो ।
    ०००
    ‘छोरा तँलाई किन अमेरिका जानुप¥यो ? तिमीहरूलाई पुग्ने सम्पत्ति मैले जोडेकै छु त ।’ बाबुले पटकपटक सम्झाएकै हुन् छोराबुहारीलाई । तर मानस र अन्तिमा किन मान्थे र बाबुका कुरा ?
    खासमा उदयको परिवार खुसी नै थियो । उनी एउटा सरकारी कार्यालयमा सुब्बा थिए । राजधानीमै पाँच रोपनी जग्गा, घर यी सबै थिए पैत्रिक सम्पत्ति । बाबुले आफ्नै रेखदेखमा छोरालाई हुर्काइ, पढाइ गरेका थिए । उनी धेरै नपढेकाले छोरालाई धेरै पढाएर हाकिम बनाउने उनको सोच थियो । बाबुकै सोच अनुसार मानसले स्नातक पास गरेपछि अधिकृतको परीक्षा दिए । तर उनको मन भने विदेश तिरै थियो ।
    घरमा बाबु, आमाको दिनदिनैको लोकसेवा दिनु भन्ने करकरले मानसले तेश्रो पटकमा अधिकृतमा नाम निकालेर सोलु पोष्टिङ भएका थिए । सोलु पोष्टिङ भएर घर आएको भोलिपल्ट मानसले आमालाई भनेका थिए, ‘आमा, दुर्गममा जागिर गर्न त कठिन नै हुँदोरहेछ । न बस्न राम्रो गरी पाइन्छ, नराम्रो खान पाइन्छ । बरू विदेशतिर पो जानुपर्छ कि क्या हो ?’
    आमाले ओखलढुङ्गाको खैराँते पाखोमा जन्मिएर अघाउँजी खानसमेत नपाएको पीडा सम्झिएर छोरालाई सम्झाइन्, ‘छोरा पैसा भएपछि जहाँ पनि किनेर खान पाइन्छ । सोलु के टाढा छ र ? पहिले पो पैदल हिँड्नुपर्दथ्यो । अचेल मोटरबाटो पुगेकै छ । पर्यटकको आवातजावत हुने ठाउँ सुविधा त अलेली नहुने कुरै भएन नि । अलिकति दुःख र कष्ट त सहनु पनि प¥यो नि छोरा ।’
    ‘आमा पनि बुवाको कुरामा सही थप्नुहुन्छ । मलाई त एकपटक विदेश जानै मन छ । जहाँ पनि कामै गर्नुपर्ने हो भने विदेशमा चाहिँ के काम गर्न नसकिएला त ?’ त्यतिखेर पनि मानसले आमालाई विदेश जाने जिद्दी गरेका थिए ।
    काठमाडौँको सुविधा, भोग विलास । त्यसमाथि बाबुको आर्थिक अवस्था मजुवुत भएकाले मानसलाई कहिल्यै अभाव थिएन । स्कुल र कलेज जीवन त उनले थाहै नपाइ कटाएका थिए । उनलाई कहीँ आर्थिक अभाव भएन । बरु उनको अनावश्यक खर्च भने बढी नै थियो । तर आमाले भने चरम गरिबीको अभाव खेपेकी थिइन् । आज जस्तो गाउँमा सुविधा थिएन । खाद्यान्नको अभावले गाउँका अधिकांश गरिब गाउँलेहरूलाई सधैँ पिरोली रहेको हुन्थ्यो । माइतीमा हुँदा उनमा गरिबीको राम्रै अनुभव थियो । त्रिचन्द्र कलेजमा पढ्दै गर्दा गाउँकै एकजना बढाबाका छोराले उदयसँग भेट गराएका थिए । यही भेट नै उनको लागि अन्त्यमा जीवनसाथी बन्ने सौभाग्य जुरेको थियो ।
    एकदिन निलिमाले उदयलाई भनिन्, ‘ए हजुर ! मानस विदेशविदेश भन्छ । उसको दिमागमा किन विदेशको भूत चढेको होला, यसो सम्झाउनोेस् न । उसलाई यहाँ के को कमी छ ? फेरि जागिर पनि त खाइसकेको छ । उसलाई हजुरले राम्रै गरी सम्झाउनुप¥यो ।’
    ‘तिमीले ठीक भन्यौ निलिमा । उसलाई यहाँ के कमी छ र विदेश जाने कुरा गर्छ । इलम केही नभए पनि ठीकै हो । अधिकृतको जागिर खाएको छ । घरवार सबै छ । ससुरालीमा पनि सासूससुरा एक्लै हुनुहुन्छ । एउटी छोरी युके र छोरो अष्ट्रेलिया गएपछि उहाँहरू पनि एक्लो हुनुभएको छ ।’
    फेरि शिरको टोपी दाया हातले झिकेर बाया हातले टाउको कन्याउँदै उदयले भने, ‘अस्ति मेरो सम्धीज्यूसँग भेट हुँदा भन्दै हुनुहुन्थ्यो– ज्वाइँ साहेवलाई विदेश नपठाउनु है हजुर ! हामीलाई हेर्ने पनि एउटी छोरी त सँगै हुनुप¥यो नि । आफ्नो त तीनतीन जना छोराछोरी हुँदा त यस्तो छ भने हजुरको त एउटा मात्र छोरो । एकहप्ता अगाडि अन्तिमा विदेश जाने कुरा गर्दै थिई । मैले त हकारी दिएँ ।’
    ‘हो त, उहाँहरूलाई पनि त कहिलेकाहीँ छोराछोरीको मुख हेर्न मन लाग्ला नि ? हाम्रो पनि त ऊ एउटै सन्तान हो । त्यो नातिनी कस्ती छे भने मलाई एकछिन छाड्दिन । मबिना राती सुत्नसम्म मान्दिन । उनीहरू विदेश जाँदा नातिनीलाई पनि लान्छन् । म कसरी उसलाई छाड्न सक्छु ।’ निलिमाले आफ्नी नातिनीको भित्रैदेखिको माया व्यक्त गरेर भक्कानिइन् ।
    ‘नरोऊ निलिमा नरोऊ । हाम्रो माया नै छैन भने त के भन्नु ? नत्र भने उसलाई हामी कसैगरी विदेश जान दिदैनौँ ।’ निलिमाका आँखाबाट झरेका आँसु उदयले पुछिदिदै सम्झाए ।
    ०००
    पाँच वर्षपछि यसपटक मानसलाई अमेरिकाको लागि डिभी प¥यो । डिभिी परेको दिन मानस र अन्तिमाले दुई प्याकेट मिठाई किनेर ल्याएका थिए । घरको आँगनमा मोटरसाइकलबाट ओर्लिर्दै अन्तिमाले निलिमालाई भनिन्, ‘आमा हामीलाई बधाई दिनोस् । आज हामी धेरै खुसी छाँै ।’
    ‘के को खुसी बुहारी ? तिमीहरूको उन्नति र प्रगतिमा हामी बेखुसी हुने त कुरै भएन नि …!’ निलिमाले कुरा नटुङ्ग्याउँदै मानसले आमालाई आँगालो हाल्दै भने, ‘आमा म आजु धेरै खुसी छु । आज मेरो मनोकांक्षा पूरा भयो ।’
    उनीहरूले के सफलता पाए निलिमा बुझ्न सकिरहेकी थिइनन् । उनलाई भने विदेश जानेहुन् कि भन्ने मात्र डर थियो र उनले सोधिन्, ‘ठूलै पुरस्कार पायौ कि के हो छोरा यत्रो खुसी ।’
    मानस आँगनमा एकहात उफ्रदै भने, ‘आमा हामीलाई डिभी प¥यो । अब हामी अन्तिमा, छोरी सहित अमेरिका जाने भयौँ ।’
    आमाको खुसी एकाएक गायव भयो । उनी रुन मात्र सकिनन् । आँखामा पलाएका आँसु दाहिने हातले पुछेर मानसले दिएको मिठाई उसैलाई फर्काउँदै भनिन्, ‘तँ आफैँ खा ! तँलाई यहाँ के नपुग्दो थियो र विदेश जानुपर्ने ? तिमीहरूलाई वाबु, आमा, यो देशको माया त रहँदै रहेनछ । कमसेकम हाम्रो माया नभए तापनि अन्तिमालाई त आफ्ना बाबुआमाको माया त हुनुपर्ने हो ।’
    काठमाडौँको जाम त्यही हो । सार्वजनिक यातयातको सेवा त कुरा गरी साध्य छैन । सधैँ गाईबाख्रा खाँदेझैँ कोचाकोच । सास फेर्नै हम्मेहम्मे हुने अवस्था छिचोलेर घर आउनुपर्छ । अफिसको काम र गाडीको उभ्याइले थकान नहुने त कुरै भएन । उदय लखतरान भएर घर आइपुगे । लुगा फेरेर चिया पिउँदै गर्दा निलिमाको मुखबाट छोरालाई डिभी परेको कुरा सुनेर उदयले मानसलाई भने, ‘हेर छोरा म तँलाई कसरी सम्झाउँ । तँलाई यहाँ के खाँचो थियो र विदेश जान चाहिस् ? तँ अधिकृत पास हुँदा म कति खुसी भएको थिएँ । साथीहरूले पनि मलाई कति बधाई दिएका थिए । आज पनि तेरो कारणले मेरो शिर उचो भएको छ ।’
    फेरि उनले देब्रे हातले शिरको टोपी तान्दै भने, ‘हिजो मेरा हाकिम भन्दै थिए– तपाईको छोरा भविष्यमा सचिवसम्म हुन्छन् । साह्रै अब्बल रहेछन् । हाम्रो विभागको गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दा पो मैले थाहा पाएँ त ।’
    ‘नानी, तँ किन विदेशविदेश भन्छस् ? मैले डिभी नभरभन्दा मान्दै मानिनस् । तर केही भएको छैन । डिभी पर्दै विदेश जानुपर्छ र ?’ बाबुले सम्झाएको चर्काचर्की नै प¥यो ।
    ‘हैन बाबा, तपाईहरू किन विदेश भन्ने बित्तिकै तर्सनुहुन्छ । अमेरिका टाढा छ र ? मावल नपुग्दै प्लेनमा अमेरिका पुगिन्छ । फेरि हामी आउँदै जाँदै गर्दै रहन्छौँ नि । चाँडै पर्कुला ।’ मानस डराएर सानो स्वारमा बोले ।
    जति सम्झाए पनि कहाँ मान्थे र उनीहरू । मानस र अन्तिमाको जिद्दीलाई उदय र निलिमाले रोक्न सकेनन् । देशले समेत मानसलाई अफिसरको जागिर दिँदा सोक्न सकेन र त अन्त्यममा उनीहरू विदेश उडे ।
    ०००
    अफिसबाट आउँदा नातिनी उदयको खुट्टामा भुण्डिएर भन्थी, ‘बुवा, मलाई चकलेट ल्याइदिनु भो ? हजुरले चकलेट नदिई भित्र जानैदिन्न ।’
    उनी दिनै केही न केही नातिनीलाई ल्याएरै आउँथे । कुनै दिन चकलेट ल्याउन भुले भने हजुरबाको ब्याग खोलेर सामान छरपस्ट पार्दै विस्मिता भन्थी, ‘बुवा अबदेखि म हजुरसँग बोल्दा पनि बोल्दिन है ।’
    ‘किन नानी ?’ हजुरबाले सोध्दा विस्मिता भन्ने गर्थी, ‘खै मलाई चकलेट ल्याइदिएको त ?’
    उदय विस्मितालाई काखमा लिएर कान समाएर भन्ने गर्थे, ‘नानी भोलि जसरी पनि ल्याइदिन्छु । आजको समेत भोलि दुई ओटा ल्याइदिउँला । आज भुसुक्कै बिर्सिएछु ।’ भनी फकाउँथे ।
    छोरा, बुहारी र नातिनीको पीरले उदय र निलिमालाई धेरै सताएको थियो । त्यही पीरले उदयको स्वास्थ्य खस्कदै गएको थियो ।
    दश वर्षको अन्तरालमा उदयको स्वास्थ्यमा नराम्रो खराबी देखियो । वास्तवमा पीरको कारणले उनलाई हर्टयाट्याक भएको थियो । निलिमाले आफन्तसँग हारगुहार गरेर उदयलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ड्रान्सप्लान्ट सेन्टर लगिन् । उनलाई अस्पतालमा एकहप्ता राख्दासमेत बीसको उन्नाइस भएको थिएन ।
    निलिमाले टिचिङ अस्पतालको आँगनमा आएर मानसलाई फोन गरिन्, ‘बाबु, यहाँ बुवालाई ह्रदयघात भएर अस्पताल ल्याएका छौँ । बुवा सधैँ मानसलाई बोलाइदेओ भनिरहनुभएको छ । मर्नुभन्दा अघि एकपटक भेट्नपाए हुन्थ्यो भन्दै हुनुहुन्छ । तँ छिटो आउनुपर्यो ।’
    मानसले उताबाट हतारिएर भने, ‘कहिलेदेखि विमारी हुनुभयो बुवा ? कति पैसा चाहिन्छ म पठाइदिन्छु । बुवाको राम्रो उपचार गर्नु । मलाई त अफिसले बिदै दिदैन । म तत्काल आउन सक्दिन ।’
    ‘के भनेको छोरा तैले ! तेरो मुख हेर्छु भन्नुभएको छ बुवाले । पैसा को के कमी छ र यहाँ ? बुवाको पेन्सनले नै पुगिहाल्छ । अब उहाँ बाँच्दा पनि बाँच्नुहुन्न होला ।’ निलिमा भुइँमा थचक्क बसेर मोवाइलमै सुक्सुकाउन थालिन् ।
    ‘आमा धेरै नरुनु । मिलो भने हेरौँला । अहिले मलाई हतार छ है, पछि फोन गरौँला ।’ यति भनेर मानसले फोन राखिदिए ।
    उदयलाई अस्पताल राखेको एक महिना भएको थियो । त्यसबीचमा डाक्टरले निलिमालाई भने, ‘तपाई नै होइन उहाँको गार्जेन्ट ?’
    ‘हो डाक्टर साहेव ।’ डराउँदै निलिमाले उत्तर दिइन् ।
    ‘उहाँलाई अस्पताल राखेर सुधार हुने केही छाँट देखिदैन । अब भगवान् भरोसा गर्नोस् । घरमै लगेर धर्मकर्ममा लगाउनोस् ।’ यति भन्दै डाक्टरले औषधी लेखेर डिस्चार्ज गरिदिए । डिस्चार्ज भएको पाँचौँ दिनमा उदयले यो संसार त्यागीदिए ।
    ‘छोरा कमसेकम बाबुको काजक्रिया गर्न त नेपाल आउ । छोरो भईभई काजक्रिया गर्ने कोही नहुँदा छरछिमेकीले के भन्लान् ?’ यसो भनेर रुदै निलिमाले मानसलाई दशौँपटक फोन गरेकी थिएन् । तर उनले अमेरिकैबाट समवेदनाको सूचना कान्तिपुर पत्रिकामा दिएर छपाएका थिए । उनले यी सब गरे पनि बल्लबल्ल काजकर्म सकिनै लाग्दा दशौँदिनमा स–परिवार आएर काजक्रिया गरेका थिए ।
    अमेरिका फर्कन टिकट लिन जाने दिन निलिमाले सुक्सुकाउँदै मानसलाई भनिन्, ‘बाबु म एक्ली भएँ । यहाँ मेरो साहारा पनि छैन । यो सम्पत्तिको संरक्षण पनि खै कसले गर्छ ? म डाँडामाथिको घाम भइरकेँ । अब विदेश नजाओ ।’
    मानसले आमालाई सम्झउँदै भने, ‘हेर्नु आमा, विस्मिताले पनि नर्स पढेर अस्पतालमा जागिर खाइरहेकी छे । अन्तिमा डिपार्टमेन्टल स्टोर्समा जागिर गर्छिन् । म सरकारी कार्यालय इमिग्रेसनका कार्यरत छु । घर, गाडी, यश, आराम सबै उतै छ । काठमाडौँको धुलो देख्नु नै भएको छ । यस्तो धुलो खान यहाँ के बस्नु ? बरू तपाई पनि उतै हिँड्नुहोस् ।’
    ‘छोरा त्यहाँ यश, आराम होला तर मेरो लागि त्यहाँ सुख र शान्ति छैन । यहाँ समाज छ र आफन्त छन् । त्यतिमात्र कहाँ हो र बाबुले पसिनाले आर्जेको काठमाडौँको मुटुमा यत्रो सम्पत्ति छ । तिमीहरू बेचविखन गरेर चाँडै यता आओ ।’
    तर उनीहरू किन मान्थे र निलिमाका कुरा । उनीहरूलाई बाबुको सम्पत्ति र आमाको मायाभन्दा अमेरिकाको सुविधा धेरै प्यारो थियो ।
    नेपालमा आमा एक्ली थिइन् । उनीसँग प्रसस्त सम्पत्ति थियो तर मनमा कहिल्यै शान्ति थिएन । सधैँ उनमा बेचैन थियो ।
    एकदिन उनी घरको आँगन नजिकै रहेको आँपको रूखको फेदमा घाम ताप्न बसेकी मात्र के थिइन्, अँ हँ कहाँ बस्न सक्थिन् र ! कारण अमेरिकामा नोवल कोरोना भाइरस (कोभिङ–१९) को प्रकोप उनको दिमागमा आइरहेको थियो । कोरोना भाइरसले विश्वभरि मानिसहरू सोत्तर भएका थिए । निलिमाका छोरा, बुहारी अमरिकामा भएकाले उनी बढी बेचैन थिइन् । कोरोनाबाट अन्य देशभन्दा अमेरिकामा धेरै संक्रमित र मृत्युदर उच्च थियो । उनले छोरा, बुहारी र नातिनीलाई कोरोनाले नभेटोस् भनेर धेरैचोटि भगवान्समेत पुकारेकी हुन् । उनमा उनीहरूको ठूलो पीर थियो । यस भाइरसले विश्वभर ठूलो महामारी ल्याएको थियो । जुन महामारीमा विश्वका धेरै मानिसले अकालमा ज्यान गुमाएका थिए । नेपालमा यो महामारी फैलिएको भए पनि अमेरिकामा जस्तो यहाँ थिएन ।
    ‘मेरा सन्तानलाई केही नहोस् प्रभु’ त्यतिखेर आँपको रुख नजिक उभिएर घामतिर जुम्ल्याहात गर्दै निलिमा भगवान्सँग पुकारा गरिरहेकी थिइन् ।
    ०००
    मानस अमेरिकाको इमिग्रेसन अफिसमा जागिरे थिए । विस्मिता एउटा अस्पतालमा नर्स थिइन् । अन्तिमा एउटा ठूलै डिपार्टमेन्टल स्टोर्समा काम गर्थिन् ।
    कहाँबाट हो कहाँबाट एकदिन कोरोना महामारीले मानसलाई भेट्टायो । उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखियो । उनलाई हतारहतार एम्बुलेन्समा लगेर अस्पतालको आइसोलेसन वार्डमा राखियो ।
    विस्मिता अस्पतालमा रोगीको सेवामा तल्लिन थिइन् । उनलाई पनि कोरोना रोगीको उपचार गर्दा संक्रमण देखियो । उनलाई त्यही अस्पतालको आइसोलेसन वार्डमा राखियो । उता अन्तिमाको जागिर डिपार्टमेन्ट स्टोरमा थियो । त्यहाँ मान्छेको धेरै आवतजावत हुने । उनलाई पनि कहिले कोरोना भाइरसले भेट्यो भेट्टायो । १००.४ डिग्री ज्वरो आएको र सुख्खा खोकी लागेकाले उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखियो । उनलाई पनि अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।
    पन्ध्र दिनको बीचमा बाबु, आमा र छोरीबीच न बोचाल थियो न भेटघाट । कहिलेकाहीँ भने मोवाइलबाट कुराकानी हुन्थ्यो । यसबीचमा न उनीहरू कसैलाई कोही साथीभाइ भेट्न आए न भेट्न सकिने अवस्थै थियो । कसैले कसैसँग भेटघाट गर्न सरकारले पूर्ण प्रतिवन्ध लागाएको थियो । पोजेटिभ देखिएको सत्रौँ दिनमा मानसको अस्पतालमै मृत्यु भयो । विस्मितालाई पनि बाबुको मृत्यु भएको भोलिपल्ट बिहानै कोरनाले मा¥यो । उनीहरूको मृत्युमा शोक मनाउने कोही साथीभाइ वा आफन्त थियो न कोही व्यक्ति । उनीहरूको शव लाशघरमा लहरै राखिएको थियो । त्यहाँ सयौँ लाशहरू थिए । अस्पताल र मुर्दाघरको अवस्था कम्जोर मुटु हुनेले हेर्ने हो भने हर्टयाट्याक हुने खालको थियो ।
    अन्तिमालाई लोग्ने र छोरीको मृत्युको समाचारले मुटु चुडायो । उनलाई त्यो समाचार सुन्दा ठूलो पहाडले थिचेझैँ भएको थियो । उनी पनि लोग्ने र छोरीको मृत्युसँगै कोरोनाले बेडमा छट्यट्याइरहेकी थिइन् । उनले मृत्युसैयाबाटै सोचिन्, ‘यत्रो विकास गरेको शक्तिशाली देशले त सयौँलाई बचाउन सकेन भने मलाई के बचाउला र ! आफ्नो देश गएको भए मरे पनि आफ्नै देशमा मरिन्थ्यो । बाबुआमा र सासूससुराको कुरा सुनेर आफ्नै देशमा बसेका भए आज लाश उठाउन त आफन्त आउँथे होलान् । नभए तापनि फोन त गर्थे होलान् । तर यहाँ न फोन कसैले गर्छ न सम्झन्छ ।’ उनका आँखाबाट बलिन्द्र आँसु झरे । उनी धेरैबेर सुक्सुकाइन् ।
    यतिबेला उनलाई साँच्चै देशको माया पलाएको रहेछ । सायद बाबुआमा र आफन्तको पनि माया त पलाएकै हुनुपर्छ । सासूससुरा र बाबुआमाले त्यत्रो अनुरोध र अनुनय गर्दा कहाँ सुनेका हुन् उनीहरुले त्यतिखेर । डिभी परेर अन्तिमालाई भेट भएको पहिलोपल्ट उनकी आमाले अन्तिमाको खुट्टा दुवै हातले समाएर भनेकी थिइन्, ‘छोरी विदेशको जिद्दी छाडिदोओ । ज्वाइँको पनि राम्रो जागिर छ । यहाँ सम्पत्तिको कुनै कमी छैन । तँ पनि ट्यालेन्ट छेस् । कलेज पढाइरहेकी छेस् । हेर यी मेरा कपाल पनि फुलिसके । तेरा दाजु र बहिनी पनि विदेशमै छन् । तँ यहाँ बसिस् भने हाम्रो पनि यसो हेरचाह गर्छेस् । तिमीहरू विदेश नजाओ ।’
    अन्तिमाले आमाको कपाल अलेली सेतो त देखेकी हुन् तर आमाको अनुनय के मान्थिन् र ? हुन त देशले पनि उनीहरूलाई कम दिएको होइन । दुवैलाई तोतेबोली सिकाउँदै योग्य र सक्षम बनायो । शिक्षा दियो, जागिर दियो । तर उनीहरूले देशलाई लात हानेर उडे ।
    आज भने एकाएक देश र आफन्तको माया के गरी पलाएछ खै अन्तिमामा ?
    एकहप्तापछि त्यहाँको स्थानीय टेलिभिजनमा समाचार आयो, ‘कोरोनाबाट परिवारै खत्तम’ त्यस समाचारमा मानस, अन्तिमा र विस्मिताको कोरोना महामारीबाट मृत्यु भएको समाचार प्रशारित भएको थियो ।
    त्यो समाचार सुनेर श्रोताको ह्दय कति दुखित भयो होला ? के यो समाचार निलिमाले सुन्न सक्लिन् त ? त्यतिखेर उनको अवस्था के होला ?