Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • खटाएको ठाउँमा कर्मचारीले जानैपर्छ: मन्त्री पण्डित

    -

    April 24, 2019 | 43 Views


    राँझा, ११ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनमा असन्तुष्ट कर्मचारीको गुनासो सम्बोधन हुने बताउनुभएको छ ।

    हुम्ला जाने क्रममा नेपालगञ्ज आउनुभएका मन्त्री पण्डितले प्रेस सङ्गठन बाँकेद्वारा मंगलबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा समायोजनका असन्तुष्टिहरु विधिपूर्वक समाधान हुनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभएको हो ।

    “हामीले अत्यन्त महत्वपूर्ण काम सफलतापूर्वक सकेका छौँ”, मन्त्री पण्डितले भन्नुभयो, “असन्तुष्ट कर्मचारीका ९० प्रतिशत गुनासाका मनका वह पोखिएका छन्, ती मनका वह पनि समाधान हुनेछन् ।”

    फाइल तस्बिर

    सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पक्ष कर्मचारीको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको बताउँदै मन्त्री पण्डितले बाँकी रहेका गुनासा पनि समाधान गरिने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा समायोजका क्रममा समस्या देखिएको बताउँदै उहाँले प्राप्त गुनासाका आधारमा समाधान खोजिने उल्लेख गर्नुभयो । कर्मचारी समायोजनका कारण तीन वटै तहका सरकारका काममा केही अप्ठेरो परिरहेको जानकारी गराउँदै उहाँले एकअर्काको मर्म बुझेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

    मन्त्री पण्डितले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जानुपर्ने उल्लेख गर्दै खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गरिने चेतावनीसमेत दिनुभयो । “राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्छ, गैरजिम्मेवार बन्न मिल्दैन”, उहाँले भन्नुभयो, “कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था रहेको छ, गुनासो सुनुवाइ समिति छ, जायज गुनासोमा सम्बोधन हुन्छ ।”

    मन्त्री पण्डितलाई स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले कर्मचारी सरुवाले बजेट कार्यान्वयनमा बाधा पुगेको गुनासो गर्नुभएको थियो ।

    रासस