Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • गाँजा खेती व्यवस्थापनको आवश्यकता

    -

    December 13, 2019 | 279 Views


    इन्द्रकुमार श्रेष्ठ /

    नेपालमा पाइने अनेक मानव उपयोगी औषधीय वनस्पतिहरूमध्ये गाँजा पनि एउटा हो । यहाँ भने यसलाई लागू औषधअन्तर्गत लिने गरिएको छ । त्यसैले यसको खेती गर्न, प्रयोग गर्न र ओसारपसार गर्न कानुनतः प्रतिबन्ध लगाइएको छ । तर विभिन्न अध्ययनबाट, वास्तवमा गाँजा लागू औषध नभएर मानवका लागि अति नै उपयोगी औषिधिको स्रोत हो भन्ने कुरा प्रमाणित भएपछि ,नेपालमा यसको खेतीले वैधानिकता पाउनुपर्छ भन्ने विषयमा यतिखेर बहस चल्दै छ ।
    गाँजाको बारेमा अध्यययन गर्दै जाँदा पौराणिक कालसम्म पुग्न सकिन्छ । व्यासरचित अथर्ववेद एघारौं काण्ड अठारौं सूत्रमा गाँजालाई, भगवान्ले सृष्टि गरेका पाँचवटा महत्वपूर्ण बोटहरूमध्ये एक भनेर उल्लेख गरिएको र यसलाई डर भगाउने, मन एकाग्र बनाउने र तनावमुक्त गराउने वस्तुका रूपमा लिइएको रहेछ । समुन्द्र मन्थन भएको बेलामा निस्केको कालकूट विष शिवजीले पिउँदा घाँटी नै नीलो भएर नीलकण्ठ बन्नुपरेपछि त्यसबाट मुक्ति पाउन उनले गाँजा खाएका थिए रे । त्यस्तै, एकपटक पारिवारिक झगडा परेर शिवजी पृथ्वीमा आएर सुतेछन् । निदाएर उठेपछि नजिकै रहेको एउटा बोटको मुन्टा र पात चुँडेर खाएपछि उनी खुसी र तनावमुक्त भएका थिए रे । त्यो बोट अरू केहीको नभएर गाँजाको रहेछ ।
    दश हजार वर्षअघि ताइवानमा गाँजा खेती गरिएको थियो रे । आधुनिक कालमा आइपुग्दा, संसारका विभिन्न देशका मानिसहरूले गाँजाको उपयोगिता बुझ्न थाले र यसको खेती गरी तिनले करोडौं डलरको आयात निर्यात गर्न थालेका छन् । विगत चार वर्षमा, अमेरिकाको कोलो¥याडोमा मात्रै २ सय ४१ मिलियन डलर कर प्राप्त हुने गरी गाँजाको कारोवार भएको तथ्याङ्क रहेछ । त्यहाँका स्टेटहरूमा योजनाबद्ध रूपमा गाँजा खेती गरिने र संसारका अन्य २५ वटा देशहरूले ‘गाँजा पर्यटन’ सञ्चालन गरेको कुरा पनि जानकारहरूले उल्लेख गरेका छन् ।
    नेपालको सन्दर्भमा गाँजाको कुरा गर्नुपर्दा, मार्टिन बुथको ‘हिस्ट्री अव क्यानाविस’ नामक पुस्तकलाई सम्झनुपर्ने हुन्छ । उक्त पुस्तकमा यहाँ सत्रौं शताब्दीदेखि नै मानिस र जनावरको शरीर दुखेमा, तनाव भएर सुत्न नसकेमा गाँजा प्रयोग गर्ने गरिएको कुरा उल्लिखित छ । सैनिकहरूलाई लडाइँमा पठाइनुअघि उनीहरूमा बहादुरी भावना पैदा गर्न पनि यसैको प्रयोग गरिन्थ्यो रे !
    उन्नाइसौं शताब्दीमा आएर नेपालमा गाँजालाई नगदे बालीका रूपमा स्वीकार गरियो । सँगसँगै, विशेष गरी, बारा, पर्सा, रौतहट, धनुषा र महोत्तरी जिल्लामा यसको खेती गर्न थालियो । द्वितीय विश्वयुद्धको समयसम्म आइपुग्दा नेपालको गाँजा र चरेस संसारभर प्रसिद्ध भयो । सन् १९५० को दशकमा सस्तोमा गाँजा खान पाइने लोभमा हिप्पीहरू नेपाल आउन थाले । गाँजाको कारोबार बढ्न थालेपछि सरकारले त्यसलाई नियमन गर्ने र कर असुल्ने हिसाबले सन् १९६१ मा पहिलोपटक यससम्बन्धी कानून बनाएको देखिन्छ । जसअनुसार, गाँजाखेती गर्न र त्यो बेच्न लाइसेन्स लिनुपर्ने व्यवस्था भयो । राम्रो आम्दानी हुने भएपछि ,यसको खेती काठमाडौंमै व्यापक रूपमा गर्न थालियो । बेच्नका लागि वसन्तपुर वरपरका तीसवटा पसलहरूले अनुमति पाए । त्यति पसलबाट मात्रै पनि सरकारलाई वार्षिक एकलाख डलर आयकर प्राप्त हुन थाल्यो । यसरी, त्यतिखेर नेपालमा गाँजाको कारोवारले निकै उचाइ लिएको देखिन्छ । कतिसम्म भने, सन् १९७२ सम्म विश्वमा खपत हुने गाँजा चरेसमध्ये ५० प्रतिशत नेपाल र मोरक्कोबाट आपूर्ति हुने गरेको तथ्य, एक अध्ययनले देखाएको छ । यसरी गाँजाको बढ्दो उत्पादन र कारोवारका कारण, त्यतिखेर उपत्यकामा खाद्यान्नको उत्पादन कम हुनु भने स्वाभाविक नै भयो ।
    साना देशमाथि ठूलाको आदेश रहन्छ नै । सायद यही भएर होला, १६ जुलाई १९७३ मा संयुक्त राष्ट्र संघले काडमाडौंंमा सञ्चालित तीसवटा गाँजा पसलको लाइसेन्स खारेज गर्न दबाव दियो । लाइसेन्स खारेज भए पनि प्रयोगमा चाहिँ बन्देज लगाइएको थिएन । पछि दबाव बढ्दै गएपछि सन् १९७६ मा सरकारले नै ल्बचअयतष्भक म्चगनक ऋयलतचय िब्अत ल्याएर गाँजाको खेती गर्न, प्रयोग गर्न र बेच्न नै प्रतिबन्ध लगायो । त्यसपछिका दिनहरूमा नेपालमा यसको उत्पादन र कारोवार लुकिछिपी मात्र हुने गरेको छ । यस सम्बन्धमा धेरैजनाको मत छ ः “रक्सी, चुरोटजस्ता स्वास्थ्यलाई हानि गर्ने चीजहरू भने प्रयोग गर्न खुल्ला हुने तर गाँजाजस्तो औषधीय गुण भएको वस्तुका बारेमा भने वास्तविकता जान्नै नदिई बन्देज लगाउने कुरा एकदमै गलत हो ।” यसै सन्दर्भमा, घरेलु रक्सी उत्पादनलाई व्यवस्थापन गर्नुको साटो बन्देज लगाएर विदेशी रक्सी आयातलाई खुल्ला गर्नु पनि चित्तबुझ्दो नभएको बताइन्छ ।
    पशुपतिनाथलाई हाम्रो राष्ट्रिय देवता मानिन्छ । उनी शिवजीका रूप हुन् र उनलाई गाँजा मन पर्ने धार्मिक–लौकिक मत छ । तर हाम्रो देशमै यो अवैध भएपछि देवता र देवक्षेत्रमा वैध हुने कुरै भएन । देवता र देवक्षेत्रको आध्यात्मिक कुरा जे होस्, गाँजाको भौतिक र व्यावहारिक महत्व नै मानव जीवनका लागि ठूलो कुरा भएको छ । त्यही गाँजाबाट अन्य देशहरूले असङ्ख्य फाइदा लिएका हुँदा हाम्रो देशमा पनि यसलाई–औषधीय कारणले, पर्यटकीय कारणले, नागरिकको जीवनस्तर उकासिने कारणले र सरकारलाई कर प्राप्त हुने कारणले पनि– वैध बनाउनु जरुरी भइसकेको छ ।
    विश्वका धनीधनी मानिसहरूले लगाउने महंगा कपडा गाँजाबाट बनाइन्छ रे । ध्ज्इ ले गाँजामा स्वास्थ्य खतरा छैन भनेको छ । विश्वमा चुरोट, रक्सीका कारण बर्सेनी धेरै मानिसहरूको मृत्यु हुने गरेको कुरा सार्वजनिक हुने गर्दछ । तर गाँजाबाट मानिसको मृत्यु भएको सुनिएको छैन । बरु यसले त, क्यान्सरका रोगीहरूलाई किमोथेरापी गराउँदा हुने बान्तालाई रोक्ने गर्छ भनिन्छ । एचआईभीका बिरामीहरूलाई खाने इच्छा बढाउन र बारम्बर मूर्छा (छारे रोग) हटाउन पनि गाँजा तान्नुपर्ने सुझाव छ । खालि यसको सेवन गर्ने मात्रा र तरिकाबारे जानकार हुनु मात्रै आवश्यक छ ।
    यस्तो महत्वको वस्तु गाउँघरतिर त्यत्तिकै उम्रिन्छ र त्यहाँ कतैकतै यसको प्रयोग, बाख्रापाठालाई छेराउटी लाग्दा गरिन्छ । शहरका गल्लीहरूमा पनि यसलाई कतैकतै देख्न सकिन्छ । बोटबिरुवाका लागि मल (विषको पनि काम गर्ने) बनाउँदा गाँजा मिसाउनुपर्ने कृषिविज्ञहरूको सुझाव छ । गाँजामा सिर्जनशील क्षमता बढाउने शक्ति हुन्छ भनिएको छ । विश्वप्रसिद्ध साहित्यकार शेक्सपियरको आँगनमा गाँजा भेटिएको थियो रे । त्यसो भए त हामीले पढेर÷हेरेर आनन्द लिइने साहित्य र चलचित्रलाई पनि केही हदसम्म गाँजाकै देन मान्नुपर्ने भयो ।
    अन्त्यमा, हाम्रो देशमा गाँजाखेती प्रायः सबैतिर गर्न सकिन्छ । यसलाई कुनै जंगली जनावरले नोक्सान गर्ला भन्ने डर पनि छैन । यसको खेती गर्न कुनै गाह्रो पनि छैन । यसबाट संसारका अन्य देशहरूले भरमार फाइदा लिइरहेका छन् भने हामीकहाँ पनि यसको व्यावसायिक खेती गरेर किन फाइदा नलिने ? त्ससैले नियमन र व्यवस्थापनका लागि निम्न कुराहरूमा ध्यान दिई यसको खेती अविलम्ब शुरु गर्न आवश्यक छ ः
    क) सर्वप्रथम गाँजासम्बन्धी विद्यमान कानुनमा संशोधन गर्ने,
    ख) यसबारेका आम नकारात्मक अवधारणा हटाउने,
    ग) खुल्ला प्रयोगमा बन्देज लगाई औषधिका रूपमा मात्र प्रयोग गर्ने व्यवस्था मिलाउने,
    घ) पश्चिम नेपालका हिमाली भूभागलाई प्राथमिकतामा राख्ने,
    ङ) काठमाडौं उपत्यका र अन्य शहरको नजिक गाँजा जोन बनाएर खेती गर्ने,
    च) गाँजाको खेती गर्ने जिम्मा सेना, प्रहरीलाई दिने र बिक्री वितरणको जिम्मा पनि सरकारले नै लिने,
    छ) गाँजाबाट औषधि बनाउनका लागि विज्ञहरूको आवश्यक व्यवस्था गर्ने । काम गर्न सकेको खण्डमा आयमा बृद्धि हुने र खेर गइरहेको जमिनको पनि सदुपयोग गर्न सकिने देखिन्छ ।