Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • जिन्दगी हराउँन पुग्दा

    -

    May 30, 2019 | 82 Views


    म भित्रै देखि दुखेँ या
    बाहिर मात्र दुखेँ थाहा भएन
    तर, यसरी दुखेँ,
    विक्षिप्त भएर दुखेँ
    छिया–छिया भएर दुखेँ ।

    यो तस्बिर उनैको हो
    स्वामित्वमा उनकै छ यसमा
    तर, यो तस्बिर भित्र म पनि छु
    ऊ पनि छ र
    वहाँहरु पनि हुनुहुन्थ्यो
    अनि
    तिनीहरू पनि छन
    र, उनिहरु पनि रहिरहने छन
    यो तस्बिरभित्र
    ज–जस्ले यो नियति भोगे
    र, भोगिरहेका छन् ।

    सुन्दर सपनाहरु साँच्दै हुर्कियो
    लक्ष्य थियोे होला ठूलै मान्छे बन्ने
    संसार जित्ने अठोट पनि त गरेको थियोे होला
    अनि हार्यो किन यसरी ?
    थाहा छैन उसले
    हार्याे कि हराइयो ?

    यो कपाल र दाह्रीलाई छोट्याउन पाए
    यो सर्ट र पेन्टलाई राम्ररी धोएर लगाउन पाए
    एक जोर राम्रा जुत्ता लगाउन पाए
    बिहान कफी र समय समयमा खाजा
    अनि बिहान बेलुकी पेटभरि खाना खान पाए
    सम्भव भएसम्म केही बिलासिताका सामानहरु पनि
    भइदिएको भए ।

    ह्या .. के वाहियात कुराहरुमा
    दिमाग खर्चेको बेबकुफ ?
    सक्छस् भने त्यो कुरोको चुरोसम्म
    पुगेर यो तथ्य पत्ता लगा कि
    उसले के पायो र हरायो ।

    जिन्दगीको एक अंश गुमायो कि
    सिङ्गो जिन्दगी नै कतै बिर्सियो ।
    मैले यो तस्बिरका यी नयनहरु नियालेँ
    आहा ! कति उर्जाशील छन जो
    सुन्दर भविष्य नियाल्न चाहन्छन्
    तर खै भविष्य ?

    ओठहरु प्रतिबन्धित छैनन्
    केही बोल्न चाहन्छन
    तर खै बोल्नका लागि बिषयवस्तु ?
    चप्पलले सुरक्षा दिइरहेका ती पैतालाहरु
    जो गन्तव्यसम्म पुग्ने सामथ्र्य राख्दछन
    तर खै गन्तव्य ?

    मलाई नसोधि मेरा आँसुका दुई थोपा
    आँखाको डिलबाट झरेको थाहा पाएपछि
    मैले शंका गरेँ कि उसको प्रेम पनि
    कतै फलानोको जस्तै वर्गीयतामा पो परेको रहेछ कि ।

    (कवि कविताको अलवा गजल र मुक्तक विधामा समेत कलम चलाउने सशक्त हस्ताक्षर हुन । उनको अर्को महत्वपूर्ण लेखनको अर्को पाटो भनेको चित्रमा आफ्नो अभिव्यक्ति प्रकट गरेर अमूर्त रुपमा रहेको चित्रको चरित्र ब्याख्या गर्नु पनि हो । यो कार्य उनले वर्षै देखि गर्दै आइरहेका छन् । यहाँ प्रस्तुत गरिएको कविता पनि चित्रको वर्णन गरिएको कविता नै हो ।)