Wednesday 13th November 2019
  • New title for a=>html, img=>alt
  • जीवनको यात्रामा हजार हाइकु

    -

    September 19, 2019 | 34 Views



    — अरुणबहादुर खत्री ‘नदी’/
    नेपाली साहित्यमा हाइकुको उद्गम स्थल जापान हो । जापानका आदि हाइकुकार माचुवा बासो हुन् । उनले विभिन्न स्थानको भ्रमण यात्रा गरेर हाइकुहरु लेखेका छन् । हाइकुलाई स्पष्ट रुपमा दिशाबोध दिने कवि बासो नै हुन् । हाइकु तिन हरफ सत्र अक्षरमा लेखिने बिधा हो । यसलाई कविताको उपविधा पनि भनिन्छ । वर्तमान समयमा हाइकु लेख्ने साहित्यकारहरुको संख्या बढ्दै गइरहेको छ । आधुनिक समयका कारण पनि लामो लामो कविता लेख्न र सुन्न मानिसलाई फुर्सद हुन छोडेको छ । जापानबाट शुरु भएको लघुकविता लेख्ने अभियान अर्थात् हाइकु लेखनको पंक्तिमा जापानमा बसी नेपाली भाषा र साहित्यमा समर्पित प्रकाश पौडेल माइला र नेपाल हाइकु प्रतिष्ठानको अध्यक्ष तथा हाइकुका विद्वान रामकुमार पाँडेले हजार हाइकु प्रकाशित गरेर पाठकहरु माझ ल्याउनु भएको छ । हजार हाइकुभित्र प्रकाश पौडेल माइला र रामकुमार पाँडेका पाँच पाँच सय हाइकु समावेश गरिएका छन् । वास्तविक हाइकु लेख्न सिक्न चाहनेहरुले हजार हाइकु कृति पढ्नै पर्छ । यस लेखमा हजार हाइकुको सामान्य चिरफार गर्ने प्रयास गरिएको छ ।
    हाइकु रचनामा बिम्ब देख्ने आँखा र प्रस्तुतिमा ठूलो साधना पाइन्छ । हाइकुमा युगेन अर्थात् रहस्य हुनुपर्ने र पढेपछि चिन्तन गर्नुपर्ने प्रभावले भावको दृश्य खिचिन्छ । नेपाली हाइकुमा ऋतुगत हाइकुभन्दा व्यङ्ग्यप्रधान हाइकु नै बढी देखिन्छन् । विशुद्ध हाइकु सिर्जना कमै सिर्जना भएका छन् । व्यङ्ग्यको राम्रो प्रयोग नहुँदा त्यो पनि ठाडो प्रकारका नै बढी छन् । हाइकु लेख्नेहरुको संख्या दिनहु बढ्दै गएको छ ।
    नेपालमा बस्दा नै हाइकु लेखेर नाम कमाएका प्रकाश पौडेल माइलाका हाइकु शिष्य हुन् । हाइकुको देश जापान पुगेपछि उनले हाइकु लेखनलाई नै आफ्नो लेखनको अभिष्ट बनाए । उनले हाइकु मात्र लेखेनन् हाइकुसम्बन्धी आलेखहरु लेखेर हाइकुलाई अझ चिनाउने काम गर्दै आएका छन् । उनका हाइकुमा हाइकुका सामान्यभन्दा सामान्य नियमको पालना गरिएको छ । जीवनबोध, राष्ट्रियता, राजनीतिक विकृति र विसङ्गति, प्रेम, आशक्ति, अनुराग, विद्रोह रामकुमार पाँडेका हाइकुलेखनका मूल स्वरका रुपमा रहेका छन् । यस कृतिलाई गुरु र चेलाको संयुक्त कृतिको रुपमा प्रकाशले ठानेका छन् । उनले हाइकु लेख्न शुरु गर्दा नगर्दै आदरणिय गुरु रामकुमार पाँडेसँग जावलाखेलमा भेट भएको रहेछ । प्रकाश पौडेलको हाइकु यस्ता छन्ः
    रुखको पात
    सूर्य लाली परेर
    सेतै टल्कियो ।

    रारा नियाल्दै
    हिमाल मुस्काउँछ
    सङ्लो पानीमा ।
    प्रकृति परक बाध्यताले सिर्जना गरेको विभिन्न किसिमको प्रवृत्तिले मानसिक रुपमा दुःख दिइरहेको   हुन्छ । आ—आफ्नै स्वभावमा अस्तित्व खोज्नेले अरुको अस्तित्वको पराजित पक्षलाई नै बढी महत्व दिने गर्छ । प्रकृतिभित्रै घात प्रतिघातको द्वन्द्वले सिर्जना गरेको द्वन्द्वमुनि नै रहस्यमय छ । त्यही रहस्य विशाल फूलबारीमा ओइरो लागेका भमराबाट सजिलै बुझ्न सकिन्छ । यात्रा रुचाउने बासोका धेरै हाइकु चर्चित भएका छन् । पुरानो ताल त विश्व चर्चित नै भयो जसमा भ्यागुतो र तालको सम्बन्ध सम्बोधन गर्दै उनले हाइकु लेखे । यसबाहेक उनका धेरै हाइकुमा ताल र पोखरीको चर्चा गरेको भेटिन्छ । पोखरीलाई जापानी भाषामा इके भनिन्छ । रामकुमार पाँडेको हाइकु यस्ता छन्ः
    
    
    बादल कति ?
    पानी नै पानीमाथि
    बीचमा यान ।
    
    नाच्दैछे परी
    निरस नखरामा
    जहाजभित्र ।
    हजार हाइकु नेपाली हाइकुको इतिहासमा एउटा कोशेढुङ्गाको रुपमा आएको देखिन्छ । हाइकुका पारखीहरुको लागि यो एउटा दिव्यरसका रुपमा आएको छ । हाइकु लेख्ने र हाइकुका बारेमा अध्ययन गर्नेहरुका निमित्त यो सङ्ग्रह बजारमा आएको छ । हजारौ अवधारणालाई बिम्बमा बाँधेको यो जुम्ल्याहा जन्मेर एउटै घाँटी भएको दुइृ टाउके हजार हाइकुको पुस्तक नेपाली हाइकु साहित्यमा विशेषा प्रस्तुति छ । नेपाल र जापानमा हाइकु के कस्तो रहेको छ भन्ने सामान्य जानकारीका अतिरिक्त हाइकुका विविध स्वादले मुख मीठो पार्न सक्नेछ भन्ने आशा राखेको छु । भविष्यमा अन्य हाइकु कृतिहरु निस्कन सकोस् भनि शुभकामना प्रकट गर्दछु ।

    शिखा बुक्स काठमाडौंले बजारमा ल्याएको यो किताबको मूल्य ३२५ रहेको छ ।