Tuesday 22nd October 2019
  • New title for a=>html, img=>alt
  • दशैं एक : प्रसंग अनेक

    -

    October 3, 2019 | 108 Views


    बोधराज पौडेल /
    असत्यमाथि सत्यले विजय प्राप्ती गरेको चाडको रुपमा दशैंलाई मनाउने गरेको किम्बदन्तीहरु पाईन्छ । संस्कृत शब्द दशमीबाट प्राकृत भएर नेपाली भाषामा आएको तद्भव शब्द हो दशैँ । नेपालीहरुको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा दशैं मनाउने गर्दै आएको पाईन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन यो चाड धुमधामले मनाइन्छ । तर, यो परम्परा कहिलेदेखि मनाउन थालिएको होे यसको कुनै लेख्य ईतिहास पाइदैन ।
    जे जसरी मनाउन शुरु गरेपनि दशैंलाई धेरै महत्वका साथ हिन्दुधर्ममा आस्था राख्नेहरुले मनाउने गरेको पाइन्छ । १५ दिनको यो उत्सव आफैमा रोचक र महत्वको रहेको छ । दशैं घटस्थापनाको दिनबाट सुरु भएर पूर्णिमासम्म रहन्छ । आश्विनशुक्ल पक्ष प्रतिपदाको दिन देखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन झिसमिसे बिहानीमै आत्मशुद्धी पश्चात नदी, खोला, बगरबाट चोखो बालुवा वा पञ्चमाटो ल्याई दशैं घर वा पुजाकोठामा गहुँ जौ छरेर जमरा राखिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरुका घरघरमा र देवीका मन्दिरहरुमा भगवती दुर्गाको पूर्जा, अराधना र प्रार्थना गरिन्छ ।
    वेद, चण्डी, देवीभागवत र पुराणहरुमा नव दुर्गाका नौ वटा स्वरूप छन् भन्ने मानिएको छ । यी नौ दिनमा तिनै देवीको आराधना र उपासना गरिन्छ ।
    या देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता
    नमः तस्यै नमः तस्यै नमः तस्यै नमोनम
    मन्त्र उच्चारण गर्दै आश्विन शुल्क प्रतिपदादेखि नवमीसम्म दुर्गा कवच वा स्तोत्र पाठ गरिन्छ । प्रतिपदामा शैलपुत्रीको पूजा गरिन्छ जसले ज्ञान बढ्नमा मद्दत गर्ने विश्वास रहेको छ । द्वितीयामा ब्रम्हचारिणी पूजा गरिन्छ । जसले चुम्बकीय शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । तृतीयामा चन्द्रघण्टाको पूजा हुन्छ । जुन पूजा गर्नाले ध्वनि शक्ति बृद्धि हुने विश्वास रहेको छ । त्यसैगरी चतुर्थीमा कुष्मान्डा, पञ्चमीमा स्कन्दमाता, षष्ठीमा कात्यायनीको पुजा गरिन्छ ।
    नवरात्रिको सातौं दिनलाई सप्तमी वा फुलपाती भनिन्छ । यस दिन दशैंको लागि पूजा सामग्री स्वरुप फूलपाती ल्याउने काम गरिन्छ । फूलपाती स्वरुप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पुजी प्रत्येकको नौ नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । गोरखाबाट हनुमान ढोकामा रहेको फूलपाती घरमा पनि नेपाली सेनाद्वारा यसै दिन फूलपाती भित्र्याउने परम्परा रहि आएको छ । नवरात्रीको आठौं दिन महाअष्टमीमा महाकाली भद्रकालीको पुजा आराधना गरी विशेष पूजा आजा गरिन्छ । पूजा पश्चात बोका, कुखुरा, हाँस, रागो आदि बलि दिइन्छ । नवरात्रीको नवौ दिन महानवमीमा विशेष गरी महालक्ष्मी देवीको पूजा आजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरु तथा सवारी साधनहरु आदिलाई बलि दिई विश्वकर्माको पूजा गरिन्छ । दशमीमा मान्यजनबाट टिका र प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ ।
    टिका लगाइदिदा मान्यजनले –
    आयु द्रोणसुते श्रीयम च दशरथे शत्रुक्षयं राघवे
    ऐश्वयं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने
    दानं सुर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते
    विज्ञानं विदुरे भवोति मवताम कीर्तिश्च नारायणे ।।
    यो मन्त्रको उच्चारण गर्दै टिका लगाइदिने चलन रहेको छ । यो मन्त्रको अर्थ यस्तो रहेको पाईन्छ । अस्वस्थामाको जस्तो आयु होस, दशरथको जस्तो शत्रु पराजयको क्षमता होस् । नहुष राजाको जस्तो ऐश्वर्य, वायुको जस्तो गती, दुर्योधनको जस्तो मान, कर्ण जस्तो दानबीर, युधिष्ठिर जस्तो सत्यवादी, बिधुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति होस ।
    दशैंको टिका दशमीको दिनबाट शुरु भएर पूर्णिमाका दिन सम्म लगाउने चलन छ । यस चाडमा वर्षै देखी भेटघाट हुन नसकेका आफ्न्त र नातेदारहरु टिका लगाउन आफ्न्तकोमा जान्छन् । खासमा दशैंको महत्व ठूला ब्यक्तिहरुलाई भन्दा बालवालिकालाई बढी हुने गर्छ । दशैंमा खेलिने पिङको आफ्नौ महत्व रहेको हुन्छ । टिकाको दिनमा टिका ग्रहण गरेपछि पिङ खेल्नाले स्वर्ग बाटो खुल्ने किम्बदन्तीहरु पनि रहेका छन् । औँजारको पुजा गर्नाले वर्षभरी घाटचोट नलाग्ने जस्ता प्रसंग पनि पाईन्छ । यसरी हेर्दा यो एक सौर्हादताको चाड हो भन्न सकिन्छ ।

    किम्वदन्ती अनुसार दशैंको महत्व
    देवी पूराण अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरूमाथि आतंकपूर्ण शासन गर्न थाले । देवताहरू डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाह अनुसार बिष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफल पछि आफ्नो आफ्नो शक्तिपुंज निकाले । ती शक्ति पुञ्जहरू एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गर्यो । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्ध पछि शन्ड मुन्ड र रक्तबिज सहित महिषासुरको बध गरे र दशौँ दिनमा विजय उत्सब मनाए । त्यो समय आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।
    अर्का थरि विद्वानहरुका अनुसार मानव शरीर नौवटा ढोका रहेको हुन्छ । जसलाई दूर्ग भन्ने गरिन्छ । नौवटा ढोका भएको दूर्ग अर्थात् नव द्वारको दूर्ग नवदुर्ग । यही नवदुर्ग शब्द कालान्तरमा नवदुर्गा भएको भन्ने कथन पनि पाइन्छ । ज्ञानरुपी दियो बालेर अन्धकाररुपी अज्ञानतालाई परास्त गरी आत्मा रुपी मन्दिर उज्यालो पार्ने र काम, क्रोध, लोभ, मोह, अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरूको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवशको रुपमा दशैं पर्वलाई मान्दै आएको पाइन्छ ।
    ऋग्वेदमा उल्लेखित धेरै कुराहरू वर्तमान समयमा मेल खाएका छन् । र, ती विषयलाई प्रमाणित गर्नकालागि बैज्ञानिकहरूले विज्ञानसँग तुलना गरेर हेर्ने र अध्ययन अनुसन्धान गरिरहेका छन् । जुन बेला पौराणिक साहित्य लेखन आरम्भ भयो त्यो समय आजको जस्तो बैज्ञानिक सुबिधा नभएकोले र सनातन धर्मका ज्ञाताहरूले पुस्तामा आफ्नो ज्ञान हस्तान्तरण गर्ने प्रवृति न्यून रहेकोले सनातन शाश्वत सत्यहरूको प्रचार प्रसार हुन नसकेको प्रतित हुन्छ । हाम्रा वेद पूराण उपनिषद्हरुमा यी कुराको बारेमा चर्चा गरेको पाईन्छ ।
    हिन्दुधर्मका हरेक कुरामा संस्कृति, धर्म, विज्ञानसँग जोडिएको हुन्छन् । प्रकृति माथिको विजयबाट यो आरम्भ भयो । पछि संयोगले दुर्गादेवीको विजय भयो । दानवहरु असत्य र देवताहरु सत्यको रक्षाका लागि लडेका थिए । आजभन्दा अढाई सय वर्ष अघि पृथ्वी नारायण शाह नेपाललाई एकीकृत गर्ने यात्रामा हिड्न लाग्दा विजयादशमीको साइतमा हिड्नु राम्रो हुन्छ भन्ने परम्परा बसिसकेकाले अर्को सन्दर्भ जोडिन आयो । उनलाई आमाले अक्षताको टिका लगाएर विदा गर्दा टिकाको सन्दर्भ जोडियो । भन्ने कथन पाइन्छ ।
    रातो र सेतो टिका
    नेपालमा दशैंमा रातो टिका लगाउने र सेतो टिका लगाउनेहरु छन । सेतो टिका लगाउने पक्षलाई एक थरीले राज्यसत्ताको विरोध र आफ्ना पूर्खा मारिएको शोकमा लगाएको तर्क गरेको पाइन्छ । एक थरी जातिले विवाहलगायतका शुभकार्यमा पनि सेतो टिका नै लगाउने प्रचलन छ । यस पक्षलाई हेर्दा दशैंसंग जोडिएका विरोधका कुराहरु भ्रमका खेती मात्रै हुन् भन्ने देखिन्छ । किन कि राज्यसत्ताको विरोध दशैंमा गरिएको मानिए पनि त्यसबाहेकका शुभकार्यमा पनि सेतै टिका लगाउनुको कारण कसैले प्रष्टाएका छैनन् । रातो टिका लगाउनेहरुले भने राक्षसलाई मारेर विजयोत्सव मनाएको प्रतिकको रुपमा मान्दछन् । यि दुवै तर्कमा केही दम भएपनि कुनै प्रमाणिक आधार भने छैन, दुवै पौराणीक र काल्पनिक कुरा हुन ।
    दशैंको रातो र सेतो टिकाको सन्दर्भमा भने हाम्रो हिंसावादी समाज र अहिंसावादी समाजको प्रतिनिधित्व गरेको हुन सक्छ । दशैंमा एकथरीहरुले देवीदेवता र प्रकृतिको नाममा भोग दिएर त्यही भोग चढाएको जन्तुको रगतलाई निधारमा लगाउदै कालान्तरमा रातो टिकाले प्रतिनिधित्व गरेको हुन सक्छ ।
    दिव्य उपदेशमा उल्लेख भएअनुसार पृथ्वीनारायण शाह देवी दर्शनका लागि सल्यानकोट गए, तर त्यहाँको चलन अनुसार उनले मन्दिर भित्र प्रवेश गर्न पाएनन् । मूल ढोकामै बसेर उनले देवीको पूजा आराधना गरे । त्यसको केही दिनपछि देवीले उनलाई सपनामा आएर दर्शन दिइन् र उनको दुवै हातमा खड्ग थमाइदिइन् । मन्दिरका मगर पूजारी र ज्योतिषले साँच्चै नै देवीले दर्शन दिएको पुष्टि गरेपछि पृथ्वीनारायणले एकीकरण अभियान सुरु गरेका थिए ।
    मानवशास्त्री जोहना फाफ भन्छन् – राजा, रजौटा र ठालुले आफ्नो सांसारिक शासनसत्तालाई ईश्वरीय आशिर्वादसँग जोडेर कसरी वैधता दिने प्रयास गर्छन् भन्ने कुरा दिव्य उपदेशमा उल्लेखित उक्त घटनाले प्रष्ट पार्छ । उनका अनुसार देवी पूजा वा दशैंलाई राज्य विस्तारका क्रममा व्यापक बनाइयो । एकीकरणका क्रममा नयाँ स्थानमा देवी मन्दिर बनाउने, नयाँ ठालु वा शासकको नियुक्ति गर्ने र दशैंका समयमा राज्यको तर्फबाट ठालुहरू माझ गरिने अधिकार बाँडफाँडको निक्र्याैल जस्ता कुराले नेपाली राज्य एकीकरण प्रक्रियामा दशैंको केन्द्रीय भूमिका रहेको मानवशास्त्री फाफको दावी छ । यसको शुरुवात, परम्परा जे भएपनि दशैंले नेपालीहरुमा एउटा उत्साह प्रदान गरेको छ । यसै पर्वको अवसरमा टाढा रहेका आफ्न्त र इष्टमित्रहरुको भेटघाट हुने गर्दछ । यसरी हेर्दा दशैंलाई माया र सदभावको चाडको रुपमासमेत लिन सकिन्छ ।