Monday 20th September 2021
  • New title for a=>html, img=>alt
  • नवनिर्माणमा बाँसको औचित्य र उपयोग

    -

    November 14, 2019 | 576 Views


    खगेन्द्रराज सिटौला
    हामी किशोर अवस्थाका हाईस्कूले विद्यार्थी हुँदा बुबाले पहाडको पाखा भित्तामा धेरै बाँस रोप्ने अभियान नै चलाउनु भएको थियो । हामीलाई भने बुबाको यो काम मन परेको थिएन । किनभने हामीलाई बाँसको कुनै कमी थिएन । हाम्रोमा ठूला अनि राम्रा धेरै बाँसका झांग थिए । जति चलाए पनि पुग्ने जो माग्न आए पनि रित्तो नफर्किने स्कूल कलेजहरुले पनि चाहेको जति पाउने अवस्था थियो । त्यसबेला पहाडमा बाँसको किनबेच हुने अवस्था पनि थिएन । त्यसैले हामीले त्यति धेरै बाँस रोप्नुको औचित्य देखेका थिएनौ । अनि हामी बुबासँग किन अनाबश्यक बाँस रोप्नु प¥यो भनेर झर्को फर्को गर्दथ्यौं । त्यसमा हाम्रो स्वार्थ पनि थियो । किनभने बाँस राप्ने काम रोकिएको खण्डमा हामीले पनि बाँसका विरुवा (जरैसँग उखेलेका तामाका ठूटा) ओसार्ने कामबाट मुक्ति पाउँथ्यौं । र हामी खेलमा रमाउन पाउने थियौं ।
    त्यसपछि बुबाले हामीलाई बाँसको बहुउपयोगिता बारे संझाउनु हुन्थ्यो । उहाँले बाँसबारे बताउँदा बाँस सबैको भलो हुँदैन एउटा हलो भनेर आफ्नो कुरा सुरु गर्नु हुन्थ्यो । हामीलाई संझाउँदै भन्नु हुन्थ्यो बाँस बाँस पनि हो, गाँस पनि हो, गाँठ(नगद) र आड पनि हो । त्यसलाई व्याख्या गर्दै उहाँ भन्नु हुन्थ्यो बाँसले घर गोठ बन्छ त्यो बास भयो । बाँसको घाँस पशुहरुको गाँस हो । पशुहरुबाट पाउने दुध मासु मान्छेको गाँस हो । बाँसको घाँस खाएर पशुले मल दिन्छ । त्यो मलले अन्न तरकारी डबल बनाउँछ त्यो पनि मानिसहरुको गाँस भयो कि भएन ? बाँस, बाँसका सामान बेचेपछि आएको पैसा गाँठ भयो कि भएन ? बाँसको जराले पहिरो रोक्न सक्छ अनि यो आड भयो कि भएन ? यस्तो भलो गर्ने बाँसलाई रोप्न हुन्न भन्नु हुन्छ ? बुबाको कुराले हामी हौसिन्थ्यौं र फेरि बाँसका विरुवा ओसार्न कुवा गहिरोतिर झर्दथ्यौं । बुबाले हामीलाई बाँसबाट हुने फाइदाको सूची बनाउन लाउनु हुन्थ्यो र हामी बनाउदै कामलाई रमाइलो बनाउँथ्यौं ।
    आज मुलुकलाई बाँस र बाँसहरुबाट हुने फाइदाबारे त्यस्तै लामो सूची चाहिएको छ । आउनु होस् तपाई हामी मिलेर बाँसबाट हुने फाइदा बारे लामो सूची बनाउन लागौं । र मुलुकलाई बाँसमय बनाऔं । साँचै बाँसलाई बास, गाँस, आड र गाँठमा बदलौं । नेपालमा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनले धेरै निजी तथा सार्वजनिक भवनहरु लडाएको छ । अव नेपाल भूकम्प प्रतिरोधी भवन निर्माणको चरणमा प्रवेश गर्नु पर्दछ । यसमा बाँस कतिको उपयोगी र सहयोगी हुनसक्छ यो पनि छलफलको विषय हुनसक्छ । जताततै धाँजा फाटेर पहिरोको जोखिम बढेको छ । पहिरोको जोखिम न्यूनिकरण गर्न बाँसलाई आड र गार्ड कसरी बनाउन सकिन्छ यो पनि छलफलको विषय हुनसक्छ । बाँसलाई उद्योग व्यवसायमा कसरी ढाल्न सकिन्छ र धेरैलाई रोजगार दिएर धेरै नगद तान्ने उपायाबारे पनि विचार विमर्श गर्न सकिन्छ । पहाडमा पहिरोले क्षति पु¥याए जस्तै तराइमा नदी कटानले त्यो भन्दा ठूलो क्षति पु¥याउन सक्छ । त्यसको असर न्यून गर्न बाँस उपयोगी हुन सक्छ कि सक्तैन यो पनि छलफलको विषय हुनसक्छ । आउनु होस् हामी पनि बाँस तथा बाँस समुहका अनेक जाति प्रजातिको उपयोगिता बारे छलफल चलाऔं र यसको अधिकतम सदुपयोग गर्ने उपाय पत्ता लगाऔं । अभियानको रुपमा बाँस रोपेर बाँसको झांङ र चाङको समेत मुलुक बनाऔं ।
    बाँस बासको लागि सुरक्षित तथा भूकम्प प्रतिरोधी घर हुने विगतदेखि प्रमाणित हुँदै आएको हो । यता पछिल्ला दिनमा आधुनिक प्रविधिको विकास गरेर सुविधायुक्त बाँसका घर नेपालमै बनिन थालेका शुभ समाचार आइरहेका छन । यसै सन्दर्भमा नेपालको हिमालयन बेम्बो कम्पनीले बाँसको आवश्यक ट्रिटमेन्टपछि सस्ता, राम्रा र सुरक्षित घर निर्माण गर्न सकिने योजना सार्वजनिक गरेको छ । ८ रेक्टर भूकम्पले पनि असर गर्न नसक्ने यस्ता भूकम्पप्रतिरोधी घरको आयु कम्तिमा पनि ४० वर्ष टिक्ने ग्यारेन्टी कम्पनीको छ । अझ उसले यस्ता घर १०० वर्ष टिक्ने हुन्छन भन्छ । हिमालयन बेम्बोको यो राम्रो र प्रशंसनीय काम हो । किनभने भूकम्पीय जोखिम क्षेत्रमा रहेको र भूकम्पले तहस नहस पारेको अवस्थामा सुरक्षित र सस्ता घर कम आय भएका नेपालीको लागि भरपर्दो विकल्प हुनसक्छ ।
    अर्को यसको राम्रो पक्ष स्वदेशवादी नेपाली अर्थतन्त्रका नायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेको स्वदेशी महाजन, साधन श्रम, सीप र पूँजीद्वारा उत्पदित हो । उनले भनेजस्तो स्वदेशी उत्पादनको उपयोग हो र यो सारमा उनले भनेजस्तै यसो भए नगद विदेश जाँदैन पनि हो । कम्पनीले यसको गुणस्तरमा सुधार गरेर २ तले सम्मका बनाउन सकेमा यसको उपयोगिता र उपयोग झन धेरै बढ्न सक्छ । यो पूर्णरुपको स्वदेशी साधनको उत्पादन हुने छ । यसमा प्रयोग हुने बाँस पनि स्वदेशी र सिमेन्ट वा माटो पनि स्वदेशी नै भएको र उपभोक्ता पनि स्वदेशी नै हुने भएकोले यसले भवन निर्माणमा विदेश जाने ठूलो मात्रको मुद्रा रोक्न सक्छ । बाँसको खेती तथा उत्पादन तथा बेचविखन बढेर किसानहरुको आम्दानी बड्न सक्छ । बाँसको हरियालीले वातावरण सुधार्न र बाढी पहिरो रोकथाममा पनि सहयोग गर्दछ । कम्पनीले घर मात्र होइन घरमा उपयोग हुने धरै बस्तु बाँसका बनाउन सक्छ । टेवल कुर्सी सोफा, मुढा, पर्दा, गलैंचामुनी ओछ्याउने मान्द्रो जस्तामुनी सिलिङमा राख्नेसमेत बाँसकै चित्रो वा मान्द्रो । यस्तो सस्तो सुन्दर बाँसको घर भूकम्प र ऋणको डर नभएको हुनेछ ।
    यस्ता बाँसका धेरै सुन्दर आकर्षक घरहरुमा होमस्टे चलाएर ग्रामीण पर्यटनको विकास गर्न पनि सकिने छ । बाँसका सुन्दर आकर्षक बस्ति बसाउन सकिन्छ । यस्ता बस्तिहरु पहाड, तराई जतापनि बनाउन र बसाउन सकिन्छ । भूकम्पको पूननिर्माण लगत्तै तराइमा पनि गरीव, दलित बस्ति सुधार परियोजना ल्याउन सकिन्छ । उनिहरुका फुसका घरको विकल्पमा यस्ता बाँसका घर दिन सकिन्छ । विद्यालय, वडा कार्यालय, अस्पताल लगायत यस्ता धेरै भवनहरु बाँस र स्वदेशी सिमेन्टको प्रयोग गरेर बनाइयो भने यसले नेपालीको मन, धन र जीवनलाई एकैपल्ट सुरक्षा दिन्छ । जताततै बाँस उद्योग, उत्पादन व्यापार व्यवसाय फस्टाउन सक्छ । यसले धेरै नेपालीलाई व्यवसाय दिन्छ रोजगार र स्वरोजगार दिन्छ । विदेश धाउनेहरु स्वदेशमा बाँस लाउने काममा आउने छन । घर निर्माणमा अरु काठको विकल्पमा बाँस उभिएपछि स्वभाविक रुपमा यसले जंगल बचाउन र बढाउन पनि अर्को उपलब्धी दिन्छ ।
    पहाड तराईका नदी किनारका दुबैतिर शिरदेखि तिरसम्म बाँस रोपिदिने हो भने धेरै भूक्षय हुन र नदी कटान रोकिन सक्छ । यता अर्को उपलब्धी भनेको बाँसको घाँसले पशुपालन व्यवसायलाई सहयोग पु¥याएर मुलुकलाई दुध मासुमा आत्मनिर्भर बनाउने अभियानलाई सहयोग पु¥याउँदछ । रोपौं बाँस रोकौ माटोको विनास । बाँसका जाति प्रजाति धेरै छन । विज्ञहरुले बताउन सक्लान् । बाँस, अम्लिसो, निगालो, मालिंगो आदि कुन कस्तो ठाउँमा रोपेर बढी फाइदा लिन सकिन्छ यसमा विज्ञहरुको राय सुझाव उपयोगी हुनसक्छ । बाँससँग सम्बन्ध गाँसौ बाँसको व्यवसाय गरेर हाँसौं र बाँसको भूकम्प प्रतिरोधी घरमा रमाएर लामो जीवन लिएर बाँचौं ।
    बाँसको लामो चिल्लो घनोलाई जमिनमा गहिरो गाडिनु पर्दछ । माथि टुप्मामा साना साना प्वाल पारेर चिल्लो तेल हालेर टुप्पामा झण्डा राखिन्छ । तेल पुस्दै झण्डा झिक्ने खेल खेलाउन सकिन्छ । यस्तो खेलमा स्वदेशी विदेशी सबैलाई सहभागी गराउन सकिन्छ । बाँसकै धनुकाँणले बाँसैमा लगाउने निसानेबाज खेलाउन सकिन्छ । बाँससँग सम्बिन्धित अरु नयाँ रमाइला खेलहरु पनि सृर्जना गर्न सकिन्छ जसले पर्यटकलाई तान्न सकोस । जहाँ बाँसको तामाको परिकार हुन सकोस । अर्को बाँस प्रजातिकै खाने टुसा हुन्छ त्यसको पनि परिकार राखियोस् । भनिन्छ यस्ता खाने कुरामा धेरै पौस्टिक तत्व पाइन्छ ।
    दैनिक जीवनमा चाहिने बाँसका धेरै घरेलु उत्पादन गरेर नेपाली जनताको बेरोजगारी र आर्थिक समस्या समाधान गर्न बाँस सहयोगी हुनसक्छ । यस्तो सीप तालिम धेरैलाई दिन सकिन्छ । यस्ता सामान विदेश निर्यात गर्न पनि सकिन्छ । विदेशी मुलुकमा पनि बाँसका घर बनाउने रहर र लहर चल्यो भने नेपालले प्रशोधित अप्रशोधित बाँस निर्यात गरेर पनि धेरै कमाउन सक्छ । दाँत कोट्याउने सिन्कोमा मात्रै अरवौंको व्यापार छ । सरकारी कार्यालयमा डस्विन बाँसका मात्रै प्रयोग गर्ने हो भने यसले धेरैलाई काम, माम र दाम दिन्छ । बाँसका बडार्ने खरेटामा, कोठा सजावटका सामग्री आदि समेतमा ठूलो व्यापार हुनसक्छ । के बाँसका सबै संभावनाहरुको खोजी गर्ने बेला भएन र ? सरकार तथा हिमालयन बेम्बो जस्ता निजीक्षेत्रको समेत यतातिर गम्भीर ध्यान जानुपर्दछ ।
    घर जीवन र सुरक्षाको भर हुनुपर्छ न कि मृत्युको डर । जो हामी भूकम्पपछि यति वर्ष पछि पनि हामी भोगीरहेका छौं । यो हाम्रो निराशा र त्राश चिर्न बाँस अगि सर्छ । बाँसको घर राम्रो सपनाको सुरुवात हो । बाँसको घरमा डर त्रास नभएको मिठो गाँस सँगै निदाउने छौं । मिठो सपना पछि व्यूँझने छौ सूयोदयसंगै र लम्कन्छौं सुखी जीवनको यात्रामा । मिठो स्वरमा बाँसघारीको झाङमा कराउने चराहरुको आनन्दको सायद अरु कमै कुराले दिन्छ ।