Tuesday 22nd October 2019
  • New title for a=>html, img=>alt
  • बडादशै : गरीब र निमुखा

    -

    October 3, 2019 | 54 Views


    रामहरि चौलागाईं
    काठमाडौं । सरकारले कालो बजारीलाई नियन्त्रण गर्न नसक्दा आम नेपालीको बडा दशैं खल्लो हुने भएको छ । गरीब र निमुखाले त बजारबाट सरसामान किन्नै नसक्ने गरी बजार भाउ बढेको छ । मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार बिराजमान छ । तर सर्व साधरण नेपालीले सरकार भएको महसुुुस गर्न सकिरहेका छैनन् । सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले अहिले सरकारलाई नै गिज्याइरहेको छ । नारा मात्र राम्रो भएर जनता सुखी र खुशी हुने हुन र ? चाडबाडको मुखमा अत्यधिक रुपमा भएको मुल्य बृद्धिका कारण सरकारलाई यो नारालाई नै थप गिज्याइरहेको छ ।
    तरकारीको भाउ गतबर्षको तुलानामा दुईसय प्रतिशतसम्म बढेको छ । एक मुठठा सागको मुल्य ५० रुपैंया छ । व्यापारीहरुले प्रत्येक सामानको मुल्य प्रतिकेजी १०–१५ रुपैंया बढाएका हुन । जस्तो गतवर्ष प्रतिकेजी ७० मा पाइने त्रिशुली पोखरेली चामलको मुल्य अहिले ८५ पुगेको छ । यस्तै स्टिम जिरा मसिनो चामल, लङग्रेन बास्मति चामलको मुल्य पनि गतवर्षको तुलनामा १० रुपैंया बढेको छ । दाल, चिउरा, तोरीको तेल, भटमासको तेल, सन फलावर तेल, नेपाली घिउको मुल्य पनि व्यापारीहरुले आफु खुशी बढाएका छन । यसैगरी मकै, गहुँ, मैदालगाएत खाद्य सामाग्रीको मुल्य पनि यसरी नै अचाक्ली रुपमा बढेको छ । यो बिषयमा स्थानिय, प्रदेश र संघीय सरकारलाई जानकारी नभएको पनि होइन । तर उनीहरुले जुन रुपमा मुल्य नियन्त्रणको लागि पहल कदमी गर्नुपर्दथ्यो, त्यो नगरेको यर्थात भने पक्कै हो । सरकार रेल गाडी, पानी जहाज र समृद्धिको कुरा गरिरहेको छ । जनता भने दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका छन । ती चिज हाम्रो लागि भविष्यमा नभइ नहुने आवश्यकता होलान । तर बर्तमान र तत्कालको समस्या भने ती बिषय हुदै होइनन । जनताले अहिले खोजेको सहज रुपमा जिबन यापन नै हो । तिनै तहका सरकारले यी बिषयमा ध्यान नदिएको भन्दै सरकारको चौतर्फी आलोचना बढेको छ ।
    प्याजमा राजनीति
    दुई तिन हप्ता अगाडिसम्म बजारमा सजिलै प्याज पाइनथ्यो । प्रतिकेजी ४० रुपैयांमा उपलव्ध प्याजको मुल्य अहिले १ सय ८० भन्दा माथि पुगेको छ । तर पनि उपभोक्ताले सजिलै पाउन सकिरहेका छैनन । नेपाल प्याजमा भारतसंग पर निर्भर रहेको बताइएको छ । उसले नेपाल पठाउन रोक लगाएको समाचार बाहिर आएका छन । यदि यो कुरा सत्य हो भने सरकारले यो कुराको जानकारी नेपाली जनतालाई किन गराउन सकेन ? बजारमा उपलव्ध प्याज पनि व्यापारीले लुकाएर अभाव सिर्जना गरेका छन । त्यस्ता व्यापारीलाई नियन्त्रणमा लिएर कारवाही गर्ने दायित्य सरकारको हो । जनताको दैनिक जिबनसँग जोडिएका बिषयसँग दिनदहाडै खेलवाड हुँदा समेत सरोकारवाला निकायहरु कानमा तेल हाले झै गरी आन्नद मानिरहेको बताइन्छ । ४०–५० रुपैंयाको गोलभेडाको बजार मुल्य ७०–८० पुगेको छ । आलुको मुल्यको त कुरै नगरौं । १ सय ३० मा पाइने मुडेको आलुको भाउ १ सय ८० पुगेको छ । तिज पछि र दशैं अगाडिको समय पारेर दुधको मुल्य प्रतिलिटर ६ रुपैंया बढाइएको छ । सर्वसाधरणलाई सहजै, सर्वसुलभ कम मुल्यमा उपलव्ध हुनुपर्ने खाद्य बस्तुहरु सागपात, फलफुल, दाल, गेडागुडी, तेल, जिरा मसला, मासु, दुध, चामल, दही, चिनी, लत्ताकपडाको मुल्य अकासिएपछि मुलुकमा सरकार भएको महसुस नेपाली जनताले गर्न सकेका छैनन । अनुगमन गर्ने निकाय पनि पर्याप्त जनशक्ति नभएको भन्दै उल्टै गुनासो गरिरहेको छ । अहिले मुलुकमा तीन तहको सरकार छ । जनताले भोट दिएर जिताएर पठाएका जनप्रतिनिधिले यो कुरालाई ध्यान दिनुपर्दथ्यो । उनीहरु पनि जनताको यी समस्या भन्दा गाडी सुबिधा र भत्तामा रमाईरहेका छन । स्थानीय र प्रदेश सरकारले यो बिषयलाई बढि ख्याल गर्दै मुल्य नियन्त्रणको लागि पहल गर्नुपर्दथ्यो । उनीहरु पनि यो कामको जिम्मेवारी आफनो नभएको भन्दै पन्छिने गरेका छन । हरेक साल यस्ता चाडवाड आउँछन । मुल्य यसरी नै अचाक्ली बढाइन्छ ।
    प्रधानमन्त्री नै निराश
    संसदमा दुई तिहाइ मत पाएर पनि आफूले चाहे अनुसारको काम गर्न नसकेको प्रधानमन्त्री केपी ओलीले स्वीकार गर्दै आएका छन् । यदाकदा निकै उत्साहित देखिने प्रम ओली हिजोआज आफ्नै मन्त्री र पार्टीका सांसदहरुसँग समेत दिक्क भएका छन् । उनले सरकारको मात्र होइन, गणतन्त्रको वचाउ गर्न पनि सरकारले ठिक ढंगले काम गर्नुपर्ने तर्क गरेका छन् । ‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ भने झै प्रधानमन्त्रीले सुख र समृद्धिको कुरा गरेपनि त्यस्तो सुख जनताका लागि नभएर सत्तारुढ दलका नेता, कार्यकर्ता मात्रै सीमित देखिएको र त्यसैलाई निहुँ बनाएर प्रतिपक्षी दलहरुले समेत सत्तामा बस्नेहरुले सुखभोग मात्रै गरे भन्ने आरोप लगाइरहेका छन् । प्रतिपक्षीले भन्नु र सरकारको गराइ पनि उस्तै भएको छ । सरकारका मन्त्रीहरु सानो रोग लागेपनि उपचार गर्न बिदेश हान्निछन । तर गरीब नेपाली समयमा उपचार नपाएर मर्नु परिरहेको छ । गत शुक्रवार राजधानीको लाइफलाइन मानिएको मुग्लिन–नौबिसे राजमार्गमा भएको घण्टौ लामो जामका कारण एकजना बिरामीले गाडी भित्रै ज्यान गुमाएका छन । यो घटनाले पनि पुष्टि हुन्छ बर्तमान सरकारको काम गराइ कस्तो भन्ने कुरा । एम्बुलेन्स पनि छिर्न नसकेर बाटोमा अलपत्र परेको समाचार सार्वजनिक भएका छन । बैकल्पि राजमार्ग समेत बनाउन आँट नभएको सरकार पानी जहाज र रेलको सपना बाँडिरहेको छ ।
    सरकारका अधिकांश मन्त्रीहरुको व्यवहारमा लापरवाही देखिएको छ । प्रगति देखिने काम गर्न नसक्दा उनीहरु जनताका दृष्टिमा मात्र होइन, प्रधानमन्त्रीका आँखामा समेत कसिंगर जस्तो बन्न थालेका छन् । यति हुँदाहुँदै पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न सकिरहेका छैनन् । त्यसो गर्दा सहयात्री दल रिसाउँलान् भन्ने पिरलो छ भने आफ्नै पाटीभित्र शक्ति सन्तुलन मिलाउन पनि विभिन्न नेताको मुख ताकनुपर्ने देखिन्छ । यी सबै कारणले प्रधानमन्त्रीको निरासा र मन्त्रीहरुको गैरजिम्मेवार प्रवृत्ति एउटा रथका दुई पांग्रा जस्ता देखिएका छन् । महंगी, भ्रष्टाचार, ढिलासुस्ती, वेरोजगारी आदि मात्र होइन, शान्ति सुरक्षामा समेत निकै गिरावट आएको अवस्था छ । यी सवै कुराले सरकारमाथि औला ठड्याउनेहरुको संख्या बढेको हो । यसको दोषी सरकार होकि बिचौलिया ? सरकारका कारण होइन भने बिचौलियाहरुलाई कारवाहि गर्न सरकार किन डराइरहेको छ ।
    भ्रष्टाचार प्रति किन उदासिन
    व्यवस्थापिका संसदका सभामुख जस्तो पदमा आसिन व्यक्ति बलात्कार घटनामा जोडिएर राजीनामा दिनुपर्ने यो कस्तो मुलुको हो ? मुलुकमा सुशासनको प्रत्याभुति दिने पदमा बसेका ठुलाबडा र भीआपी र भीभीआइपीहरु साइरन जडित गाडीमा चढेर यसरी बदनाम हुनुले नेपाली जनताले आफैलाई धिक्कारनु पर्ने अवस्था सिर्जना भएको छ । दुई तिहाइ कम्युनिष्ट सरकारसँग नेपाली जनताको ठुलै आशा र भरोसा रहेको थियो । तर एक पछि अर्को गरी सरकारले गरेका कमी कमजोरीका कारण जनता थप निराश बन्दै गएका छन । बर्तमान सरकार मुलुक भित्र भएका भ्रष्टाचार, दुराचार, अन्याय र अत्याचार बिरुद्ध सजिलै र एक्लै लडन सक्ने ल्याकत राख्दछ । उ किन डराइरहेको छ त्यसबारे कुरा बाहिर आउन सकेको छैन । ठुला भष्टाचारी र दुराचारीहरु शिर ठाडो पारेर सिंहदरवार वरपर प्रधानमन्त्री र मन्त्रीहरुका अगाडि दिनदहाडै घुमिरहेका छन । तर पनि सरकारले उनीहरुलाई देख्न सकिरहेको छैन । के कारणले हो यो बिषयमा सरकारले आफनो ध्यान केन्द्रित गर्न नै सकिरहेको छैन ।