Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • बाबुरामलाई ओलीको दनक, ‘संशोधन मौसमी गीत होईन’

    -

    May 9, 2019 | 61 Views


    काठमाडौं । दुई तिहाई बहुमतको सरकार र प्रतिपक्ष नेपाली काँग्रसबीच संसदमा छेडखान चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संविधान जुनसुकै मौसममा गाउने गीत होईन’ भन्ने प्रष्ट पार्नु भएको छ । संघीय संसदमा १६ सिटसहित सरकारमा सहभागी रहेको संघीय समाजबादी फोरम र एकसिटे नयाँ शक्ति पार्टीबीच एकता भए लगतै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान संशोधन गरेर ११ प्रदेश बनाउनु पर्ने माग गरेपछि प्रधानमन्त्री ओलीले त्यस प्रति असन्तुष्टि जनाउदै संशोधन ‘मौसमी गीत’ नभएको जनाउ दिएका हुन । यसले सरकारमै सहभागी नयाँ न्वारन गरिएको समाजवादी पार्टी नेपाल र प्रधानमन्त्री ओलीबीचको सम्वन्धमा दरार ल्याएको छ ।
    सरकारमै रहेर सविधान संशोधनको मुद्दा अगाडि बढाउने र सरकारबाट बाहिरिएर राष्ट्रिय जनता पार्टीसँग मिलेर संविधान संशोधनका लागि आन्दोलन गर्नु पर्ने दुईमतको दोसाधमा रुमल्लिएको फोरम समाजवादी भएसँगै कता ढल्किने हो टुङ्गो छैन । तर, रहस्यमय पृष्ठभूमिका दमननाथ ढुंगानालाई समेत माखेसाङ्लोमा राखेर पार्टी एकता गरेका भट्टराईले ११ प्रदेशको तुरुप फ्याक्नुका पछाडि खतरनाक प्रपञ्चले काम गरिरहेको जानकारहरु बताउँछन् । भएकै सात प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन हम्मेहम्मे परिरहेको वेला भट्टराईले फ्याकेको पासो पछि अब नेपालमा फेरी पश्चिमाहरुको डलर चलखेल बढने खतरा बढेको छ । डेढ वर्ष अघि सम्पन्न संघीय निर्वाचनमा काँग्रेसको चारतारे झण्डा ओड्दै भक्तपुरमा उमेद्वार बनेका ढुंगाना लज्जाजनक पराजय भोगे लगतै उपेन्द्र यादव र बाबुराम भट्टराईसँग घाँटी जोड्न उद्यत हुनुको कारण सामान्य भने पक्कै छैन ।
    सरकारलाई दिएको समर्थन फिर्ता लिदै राजपाले सडक आन्दोलनको घुर्की लाइरहनु , सिहदरवारमा रहेको फोरमालाई घिसारेर सडकमा पु¥याई सरकारसँग रहेको दुई तिहाईको बल कमजोर बनाउनु र राजसंस्था र हिन्दु राज्यको माग गरिरहेको कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन गर्दै गोलमेच सम्मेलन गर्नु पर्ने माग गर्नु पछाडिका कारणहरु खोतल्ने हो भने सरकारलाई कसरी घेराबन्दीमा पारिदै लगिएको छ भन्ने प्रप्ट हुन्छ ।
    काँग्रसको मोेहरामा सरकारको नीति तथा कार्यक्रम सहज ढंगले पारित गर्न नदिएर संसदबाटै अप्ठ्यारोमा पार्न भइरहेको चलखेललाई चिर्न प्रधानमन्त्री ओली सफल भएपनि वजेट पाससम्मको अवधीमा सरकारलाई घेरावन्दीमा पार्न थुप्रै पयत्न हुने अनुमान राजनीतिक बृतमा भइरहेका छन् । छिमेकी मुलुक भारतमा भइरहेको निर्वाचनले स्थिर बनेको चलखेल परिणाम आउनासाथ चलायमान हुने विश्लेषकहरुको भनाइ रहेको छ । त्यसको सुइँको पाएर नै प्रधानमन्त्री ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको प्रष्ट पारेका छन् । एक वर्षको नीति कार्यक्रम भए पनि दूरगामी कार्यक्रम राखेर ल्याइएको प्रधानमन्त्रीको भनाइ छ –‘आगामी एक वर्ष, चार, पाँच र २५ वर्षसम्मको दूरगामी लक्ष्य राखेर ल्याइएको हो,’ वार्षिक नीति तथा कार्यक्रममा छलफलमा उठेका प्र्रश्नहरुको प्रतिनिधिसभामा जवाफ दिंदै प्रधानमन्त्रीले भनेका छन् ‘अग्रगामी सोचसहित ल्याइएको हो ।’
    नीति तथा कार्यक्रममाथि विपक्षी नेपाली काँग्रस र राजपामा सांसदबाट चर्को आलोचना भएकोमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले सपनामात्र होइन संकल्प र अठोट पनि लिएको उल्लेख गरेका छन । ‘कतिपय साथीहरुलाई सपना रातिमात्रै देखिने भन्ने पनि लागेको छ, यहाँ सपनाको कुरा गरेको राति देखिने होइन, यहाँ देश बनाउने सपना हो,’ बताएका छन , ‘सहिदको सपना पूरा गर्ने भनेको निदाएर घुरेर देखिने सपनामात्र होइन ।’
    प्रधानमन्त्रीले लोकतन्त्रका संस्थाहरु, जनप्रतिनिधिको सम्मान बढाउने र अग्रगामी सोचसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो । बहुमत आफँैमा स्थिरता र स्थायित्व नहुने बताउँदै उहाँले योजना र नीतिले त्यसलाई स्थायित्व दिलाउने उल्लेख गर्नुभयो ।
    नीति तथा कार्यक्रममा विपक्षी दलले असावधानीवस शब्द प्रयोग गरेको प्रधानमन्त्रीको भनाइ छ । “आलोचनाको कुनै ठाउँ रहेनछ, सुन्दर निबन्धजस्तो छ भन्नुभयो एक मित्रले, यसमा धेरै केही भन्नु छैन नीति कार्यक्रम आलोचना रहेनछ, त्यही भएर निबन्ध भनेर टुंगो लगाइदिनुभएछ,” उहाँको भनाइ छ, ‘असावधानीसाथ शब्द प्रयोग गर्नुभएजस्तो लाग्छ, योजनाबद्ध छैन, खोक्रो छ भनेर । लामो हुन सक्छ, सविस्तार हुन सक्छ । तर, सबै पनि छ । केही पनि छैन भनेको के ?’
    प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ जानीबुझीकन राखेको स्पष्ट पारेका छन् । ‘राष्ट्रपतिज्यूले मेरो सरकार भन्नुभयो, दुनियाँभरको अभ्यास हो, पोहोर थिएन, केही अभ्यास मिलेको छैन । यो वर्ष मिल्यो, अर्को पटक धेरै कुरा मिलाइन्छ,’ स्पष्ट पारेका छन्, ‘काँग्रेस लोकतान्त्रिक अभ्यास भएको पार्टी हो । काँग्रेसले साह्रै आलोकाचोपन देखाउनुहँुदैन । प्रतिपक्षी दलका नेताले बेलायतकी महारानीजस्तो भन्नुभयो, त्यस्तो नकारात्मक टिप्पणी गर्नु हुँदैन, बेलायत मित्रराष्ट्र हो ।’
    प्रधानमन्त्री ओलीले राष्ट्रपति केही पनि हैन भन्ने हैन, राज्य व्यवस्थाको सर्वोच्च सम्मानित र अभिभावकीय संस्था भएको स्मरण गराउदै प्रधानमन्त्रीले प्रतिपक्षीलाई मेरो सरकार भन्ने अप्ठेरो भएको उल्लेख गर्दै भनेका छन, ‘अब हेर्नुस् न प्रतिपक्षलाई पनि कति फाइदा हुने बजेट आउँछ ।’
    प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबनाउन आग्रह गरेका छन । ‘सुशील कोईराला प्रधानमन्त्री भएकाबेला यति संशोधन भए पुग्छ भनिएको थियो,’ संविधान असंशोधननीय, अपरिवर्तनीय हुन नसक्ने बताउँदै भनेका छन् , ‘हामीले बनाएको संविधान हो । संविधान जुनसुकै मौसममा पनि गीत गाउने विषय होइन । यो त पब्लिक कन्जम्सनका लागि जस्तो भयो । त्यसो नगरौं ।’
    प्रधानमन्त्रीले अहिलेकै सरकारले हडपिएका सार्वजनिक जमिनलाई सरकार मातहत ल्याएको स्मरण गराउँदै भनेका छन, ‘बालुवाटार अहिलेको सरकार बनेर मासेको हो र ? अहिलेको सरकारले खुलामञ्च कब्जा गरेको हो र ? बरु अहिलेको सरकारले ल्याएको हो । अहिले त छानबिन हुँदैछ, खोजी हुँदैछ, अहिले हो वाइडबडी घोटाला भएको, पहिले भएकाहरुको छानबिन हुँदैछ ।’
    प्रधानमन्त्रीले वर्तमान सरकारले नै सुन तस्करीको अन्त्य गरेको बताउनुभयो । ‘कतिपय माननीयहरुले सुन तस्करी के भयो भन्नुभयो । बन्द भयो । उनीहरु जेलमा छन् । प्वाल बन्द गरियो । ३८ क्विन्टल सुन तस्करी भएको रहेछ । त्यो सुन कहाँ गयो । पहिलेको सरकारले थाहा पाउला । अहिलेको सरकार आएपछि रोकियो ।’
    प्रधानमन्त्रीले ०४८ मा शिक्षक र कर्मचारीलाई यसरी पूर्वाग्रहपूर्णरुपमा लखेटिएको स्मरण गर्दै भनेका छन,‘त्यसको विरोध ग¥यौं अब यस्ता अभ्यासहरु हुँदैनन् ।’

    भियतनामसँग केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने
    काठमाडौ । संसदबाट नीति तथा कार्यक्रम पास भएलगतै प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा निस्कदै छन । नेपालसँग खासै सम्वन्ध नभएका समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यता जान लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले नेपाल जस्तै द्वन्द्वबाट गुज्रिएका तर, अहिले विकासको पथमा अघि बढेका मुलुकबाट केही सिक्नका लागि आफू त्यसतर्फ जान लागेको बताएका छन् ।
    प्रधानमन्त्री ओली वैशाख २६ देखि ३० भियतनाम र वैशाख ३० देखि जेठ १ सम्म कम्वोडियामा रहने जनाइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्नुहुनेछ । सो अवसरमा प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज पनि आयोजना हुनेछ ।
    भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तर्राष्ट्रिय वैशाख दिवस तथा होचि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दुवै देशले द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ ।
    त्यस्तै कम्बोडियाको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कायक्रम रहेको छ । औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक रात्रिभोज आयोजना हुनेछ । प्रधानमन्त्री ओली र त्यहाँको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेटवार्ता हुनेछ ।
    प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वा्चित र निजी क्षेत्रका प्रतिनिधि एवं सञ्चारकर्मी रहनुहुनेछ । प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डल आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।