Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • बौद्ध सडक तत्काल कालोपत्र हुने

    -

    May 10, 2019 | 44 Views


    साँखु, २७ वैशाख । लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ ।

    धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।

    स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्र गर्ने काम ठेकेदार कम्पनीले शुरु गर्ने सहमति भएको छ । बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागार्इंले कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सबवेस, बेस बनाउने काम कार्य आजैदेखि शुरु गर्ने सहमति भएको छ । ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाइ, स्थानीय बासिन्दा तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको चौलागार्इंले जानकारी दिनुभयो ।

    फाएल तस्बिर

    बिहीबार बिहान ८ः३० बजेदेखि शुरु भएको आन्दोलनमा प्रहरीले व्यापक बल प्रयोग गरेको थियो । प्रदर्शनमा उत्रिएका एक दर्जन आन्दोलनकारी घाइते भएका थिए भने प्रहरीले आन्दोलनलाई दबाउन लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । अन्तिममा प्रहरी र स्थानीय जनप्रतिनिधिको विशेष भूमिकामा ठेकेदारलाई नै ल्याएर सहमति गर्ने वातावरण बनेपछि आन्दोलन स्थगित भएको थियो । सहमति ठूलो उपलब्धि भएको भन्दै बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागार्इंले सहमतिपत्रको अक्षरसः पालाना नभए आइतबारबाट पुनः अनिश्चितकालीन चक्काजामको आह्वान गर्ने चेतावनी दिनुभएको छ ।

    त्यस्तै सङ्घकी कोषाध्यक्ष मेनुका श्रेष्ठले आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्र भएको बताउनुभयो । आन्दोलन रोकिएको छैन, सहमतिअनुसार काम नभए पुनः चक्काजाम गर्ने श्रेष्ठले बताउनुभयो । चार वर्षदेखि निर्माण अलपत्र परेको चावहिल–साँखु सडकखण्डअन्तर्गतका सर्वसाधारण तथा स्थानीय व्यपारीले सडककै कारण ठूलो समस्या खेप्दै आइरहेका छन् ।

    सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्मको सडकलाई २२ मिटर चौडा र चार लेनको बनाउने योजना ल्यायो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन ।

    रासस