Wednesday 13th November 2019
  • New title for a=>html, img=>alt
  • मनमा पलाएको आँकुरा

    -

    June 28, 2019 | 127 Views


    कृति समीक्षा

    नेपाली साहित्यका गीत, कविता, मुक्तक, हाइकु, र गजल विधाहरुमा कलम चलाउँदै आएका गणेश बाबु अधिकारी बाबूको पहिलो कृतिको रुपमा मनका आँकुरा नामक गजल सङ्ग्रह २०७५ सालमा प्रकाशित भएको छ । यस गजलसङ्ग्रहभित्र उनीद्वारा लेखिएका १०१ वटा गजलहरु छन् । वर्तमान समयमा नेपाली गजलको सर्वव्यापकता र लोकप्रियताले एउटा स्वर्णिम इतिहास स्थापित भइसकेको छ । यतिखेर नेपाली गजललाई साहित्यकारहरुले अन्य विधाहरु भन्दा माथि उठाउनका निम्ति देशभित्र र देशबाहिर रहनु भएका असंख्य स्रष्टाहरुले गजललाई महत्व दिइरहेका छन् । गजलकार गणेशबाबुका गजलहरु संरचना, विषय र कलाका दृष्टिले वा शैली र शिल्पका प्रयुक्तिले समुन्नत छन्, भावोच्छलित छन् र रसस्वादनयोग्य छन् । समय र सिर्जना गतिवान हुन्छ । यतिखेर मान्छेहरुमा संवेदनशीलता भन्ने कुरा साँघुरिदै गएको देखिन्छ । कोही कसैसंग मानवता भेटिदैन । जीवन उज्यालो र सकारात्मक बाटोमा उभ्याउन निकै कठिन भइरहेको बेला शब्दहरुको टुकी बालेर गजलकारले जीवन खोजीरहेका छन् ।
    अधुरो यो किन बिदाइ भनि दे न जिन्दगी
    हिजोसँगै आज पराइ भनि दे न जिन्दगी
    गजलकार गणेशबाबु देशमा भइरहेको विकृति हटाएर सुन्दर भविष्यको कल्पना गर्ने गजलकार हुन् । उनका गजलमा शहरको विकृतिप्रति पनि कडा व्यङ्ग्य गरेको पाइन्छ । यस सङ्ग्रहभित्रका गजलहरुमा विविध भावको अभिव्यक्ति पाइन्छ । गजलकार गणेशबाबु देशमा भइरहेको विसंगतिप्रति सचेत छन् भने गजलमा मायाका सुन्दर डोरीहरु बुन्न निकै सिपालु छन् । गजलकार गणेशबाबुले आफ्ना मनका भावनाहरुलाई गजलमा अभिव्यक्त गर्दा सकेसम्म सचेत र सजग हुने प्रशस्त प्रयास गरेका छन् । केही सम्मान त केही अपमानबाट सिकेको छु जीवन के हो र ? एक्लो श्मशानबाट सिकेको छु उनको गजलमा लेखिएको छ ।
    कस्तो छ मेरो देशको खबर सोध्नु छ
    बस्दैछौ कि ढल्यो पूरानो घर सोध्नु छ ।
    गजलको सिर्जना, संबद्र्धन, संरक्षणका खातिर खटिरहेका गणेशबाबुका सबै गजल साहित्यानुरागीको मन छुन सफल भएका छन् । गणेशबाबुका गजल भने अधिकांश कोमल भावका नै छन् । यिनका गजलमा जिन्दगीका विवशता, उमङ्ग–उत्साह, उपदेश पनि रहेका छन् । केही गजलले सूक्ष्म व्यङ्ग्य धारणा पनि गरेका छन् । गजलमा प्रशस्नै नीति नियमहरु पालना गरेको हुनुपर्छ । कस्तै भनाउँदाका गजलमा पनि संरचनात्मक गल्तीहरु भेटिन्छन् । गजल संरचनाका सूक्ष्मभन्दा सूक्ष्म कुराहरुसंग परिचित हुंदै साधनारत भइरहेमा हामी गजलकार गणेशबाबुबाट सशक्त गजलहरु निश्चित रुपमा प्राप्त गर्नेछौं । उनको गजलले बदलियो ऊ पहिचान बदली दियो सपनाको ठूलो बथान बदली दियो भनेको छ ।
    मैले साथी त पटक्कै बदल्न सकिन
    लौ कसैले भगवान बदली दियो ।
    समसामयिक परिवेशका स्वार्थ, क्षुधा, अन्याय, ककर्मण्यता र अहङ्कारको द्वन्द्वले मानवीय संवेदना कमजोर बन्दै गएको प्रति चिन्तित छन् । गजल गेय बिधा हो । गजललाई लयमा लेखिनु पर्छको हुकुम गजलको गेयतत्वले दिन्छ । गजलमा लय भनेको फोक्सोलाई अक्सिजन जस्तै हो । स्वनिर्मित, सममात्रिक लय, आक्षरिक लय, लोकलय, छन्द, बहर आदि लयका प्रकार हुन् । गेयात्मकताको श्वास प्रश्वासलाई असहज नहुने गरी यी मध्येका कुनै पनि लयमा गजल निर्माण गर्न सकिन्छ । उनको गजलको संरचनालाई अध्ययन गर्दा उनको गजल आक्षरिक लयमा सजिएका छन् । गणेशबाबुसँग एउटा अग्रगामी सोच, मानवीय मूल्य र मान्यता उदारभाव भेटेको छु मैले । जीवन सत्यको खोजीमा हुनुपर्छ र मान्छेहरु जीवन बाँच्ने नयाँ पद्धति सधैँ नयाँ नयाँ खोजिरहनु पर्छ भन्दछन् । मलाई उनको यही दर्शन मन पर्छ । कतिपय अप्ठ्याराहरु जीवनको चुनौती बनेर आउँछन् । मान्छेहरुको सम्पूर्ण मन गणेशबाबुले गजल लेखेर जित्न सफल भएका छन् । जीवन बाँच्नका निम्ति समयको आगो बालेर बिद्रोहको झण्डा बोकी एउटा उन्मुक्तिको पर्खाइमा रहनुपर्छ र जीवनको परिभाषा र आँखाको थुप्रै मनोरम सपनाहरु साकार पार्न सिर्जनात्मक उद्वेगहरु हृदयभित्रबाट अभिव्यक्त गरेर समाज र सामाजिक जीवनको उद्घोष गरिनुपर्छ उनले भनेका छन् । गजलकार गणेशबाबुको मनका आँकुरा गजलसङ्ग्र्रह २०७५ को चर्चा गर्दा प्रसङ्गले गजलको सैद्धान्तिक रुपगत स्वरुपप्रति आकर्षित गर्दछ । मनका आँकुरामा सङ्कलित शेरहरु पठनीय, सङ्ग्रहणीय र अवलोकनीय बनेका छन् । उनको नेपाली साहित्यकांशमा पृथक् पहिचान कायम होस् भन्ने शुभेच्छा प्रकट गर्दै साधनामय, आरोग्यमय, समृद्धिमय, सुखमय एवम् दीर्घजीवनको कामना सहित उनको गजलको एक शेर प्र्रस्तुत गर्दै ओझेल पर्दछु ।
    व्यथा एउटै थियो कहानी बदलिएछ
    पुरानो ती सारा जिन्दगानी बदलिएछ ।
    – अरुणबहादुर खत्री ‘नदी’