Monday 20th September 2021
  • New title for a=>html, img=>alt
  • युएस बंगला विमानको दादागिरी

    -

    November 14, 2019 | 307 Views


    काठमाडौं । युएस बंगला विमान दुर्घटनाका पीडित सातजनाका परिवारले नेपालस्थित प्रतिनिधिका वरिष्ठ अधिवक्ता देवेन्द्र प्रधानले पीडित परिवारलाई अनावश्यक धम्की दिएको बताएकाछन् । वरिष्ठ अधिवक्ता प्रधानले न्यायालयमा विचाराधिन मुद्दामा विपक्षीलाई अनुचित दबाब दिई राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनको समेत उल्लघन गर्दै पीडित परिवारलाई उल्टै धम्की दिएका हुन् । सन् २०१८ मार्च १२ तारिखमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला विमान दुर्घटनामा मृत्यु भएका सातजना एमबीबीएस् विद्यार्थीका आश्रित पीडित परिवारले विपक्षी वकिलले धम्की दिएर थप पीडा दिएको आरोप लगाएका हुन् । पीडित परिवारले युएस बंगला एयरलाइन्सको नेपालस्थित प्रतिनिधि प्रधान एण्ड एशोसियट्सका मेनेजिङ पार्टनर रहेका वरिष्ठ अधिवक्ता देवेन्द्र प्रधानले पत्र लेखि काठमाडौं जिल्ला अदालतमा विचाराधिन मुद्दालाई अनुचित दबाबका माध्यमबाट दुरुपयोग गर्ने कार्य गरेको बताएका हुन् ।
    पीडित परिवारकातर्फबाट विदुरमान श्रेष्ठले भने, ‘काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दामा कानूनी संघर्ष जारी रहेका अवस्थामा यही नोभेम्बर १ तारिखका दिन विपक्षी युएस बंगला एयरलाइन्सको नेपाल स्थित प्रतिनिधि प्रधान एण्ड एशोसियट्स प्रालिका मेनेजिङ पार्टनर समेत रहेका वरिष्ठ अधिवक्ता देवेन्द्र प्रधानले एक पत्र लेखी न्यायालयमा विचाराधिन मुद्धाको सम्बन्धमा अनुचित दबाब दिई प्रभावित तुल्याउने एवं न्यायिक प्रक्रियाकै दुरुपयोग गर्ने दुराशयपूर्ण कार्य गरेको हुनाले निजको उक्त व्यवसायिक मर्यादा विपरितको कार्य बाहिर पर्दाफास गर्नु आवश्यक रहेको छ ।’

    प्रधानले बेलैमा भने जति रकम लिई मुद्दा परित्याग गर्न पीडित परिवारलाई धम्कीदिएको पीडित परिवारका आफन्तले बताएका छन् । पीडित परिवारकातर्फबाट मुद्दा दायर गरेका कानूनी सल्लाहकार अमृत खरेललाई प्रेषित पत्रमा वरिष्ठ अधिवक्ता देवेन्द्र प्रधानले नोभेम्बर ६ तारिखका दिन काठमाडौं जिल्ला अदालतमा पेशी तारिखका क्रममा पीडितहरुले दायर गरेको मुद्दामध्ये श्रेया झाको बाहेक अरुको मुद्दा सोही दिन खारेज हुने पनि पेशी तारिख भन्दा पाँचदिन अगावै निश्चयपूर्वक दाबी गरेको पीडित परिवारका आफन्तले बताएका छन् । पीडितका आफन्तले भनेका छन्, ‘विपक्षीयुएस बंगलाका आधिकारिक कानूनी प्रतिनिधिलाई काठमाडौं जिल्ला अदालतमा विचाराधिन मुद्दामा आफ्नो पेशी तारिखको दिन फलानो आदेश हुनेछ भन्ने समेतको अग्रिम जानकारी हुनु भनेको निजले उक्त मुद्दामा व्यवसायिक मर्यादा र कानून व्यवसायीको पेशागत आचार संहिता विपरित गम्भीर चलखेल गरेको भन्ने स्वतः पुष्टी हुन्छ । यसैकारण कार्तिक २० गतेका लागि तोकिएको पेशी समेत हाम्रै तर्फबाट स्थगित गरेका छौं ।’

    पीडितका आफन्तले रुँदै भने,‘न्यायको लडाइँमा रहेका हामी पीडितको परिवारलाई थप पीडा दिनेगरी वरिष्ठ अधिवक्ता प्रधानले जिल्ला अदालतले हामीहरुको मुद्दा दर्ता गर्दा कोर्ट फी पछि बुझाउने गरी दिएको सुविधाको विपरित कडा ढंगले प्रस्तुत भइ जसरी पनि कोर्ट फी दाखिलागर्न लगाउने भनि पत्रमार्फत धम्कीदिएका छन् । मुद्दा खारेज गराई कोर्ट फी तीस÷तीस लाखको दरले दाखिला गराइसकेपछि पीडित परिवारको स्थिति दयनीय हुने भएकाले बेलैमा विचार गरेको प्रधानले भनेजति रकम लिई मुद्दा परित्याग गर्न समेत प्रधानले पत्रमार्फत दबाब दिएका छन् ।’ पीडित परिवारको आफन्तले भने, ‘प्रधानले लेखेको पत्रमा यो मुद्दा निश्चितरुपमा वर्षाैंसम्म लम्बिई रहने दाबीगर्दै पीडितका कानूनी सल्लाहकारलाई सोचेर मात्र कार्य गर्न धम्कीदिएका हुन् ।’”

    पीडित परिवारले राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको उल्लघंन गर्ने र आर्थिक चलखेल गरेर अदालतमा विचाराधिन मुद्दालाई अनुचित प्रभावपार्न खोज्ने प्रभास भएको भन्दै भने, ‘न्यायालय समक्ष विचाराधिन मुद्दामा विपक्षलाई अनुचित दबाबदिने र मुद्दालाई प्रभावित तुल्याउने कार्य कानून व्यवसायीको राट्रिय, अन्तर्राष्ट्रिय आचार संहिता, स्वतन्त्र न्यायापालिकाको अवधारणा र स्वच्छ सुनुवाईको सिद्धान्त समेतको विपरितको कार्य हो । यस्तै अदालतको कोर्टफीको प्रावधानलाई पीडित पक्षका विरुद्धमा कानून व्यवसायीले दुरुपयोग गर्ने चेष्टा गर्नु पनि न्यायको प्रक्रियाको दुरुपयोग हुनाले आचारसंहिता र स्वच्छ सुनुवाईको सिद्धान्त विपरितको कार्य हो ।’

    सात परिवारले दुई अर्ब रुपैंयाभन्दा बढी क्षतिपूर्ति दाबी गरेको मुद्दाबारे भने, ‘पीडित परिवारको कुल दुई अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति दाबी रहेको मुद्दामा फलानो दिन फलानो मुद्दा खारेज हुने आदेश हुँदैछ भनेर स्पष्ट दाबा सहित युएस बंगलाको कानूनी प्रतिनिधिले लिखितपत्र पठाउनुले प्रस्तुत मुद्दामा ठूलो आर्थिक एवं अन्य चलखेल भएको रहेछ भन्नेमा कुनै शंका रहेन ।’

    मुद्दा खारेज हुन्छ भन्ने वरिष्ठ अधिवक्ता प्रधानलाई स्वतन्त्र निष्पक्ष छानबीन गरियोस् भनेर सर्वाेच्च अदालतका प्रधानन्यायाधीश र नेपालबार काउन्सीलका अध्यक्ष समक्ष पीडित परिवारका आफन्तले आग्रह गरेका छन् । प्रधानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत अनुसन्धान थाल्नसमेत माग गरिएको छ । पीडित आफन्तले भनेका छन्, ‘उक्त मुद्दामा के कति आर्थिक चलखेल भएको छ भन्ने विषयमा देवेन्द्र प्रधानलाई नै जानकारी हुने भएकाले निजले को–कोसँग मिलेर भ्रष्टाचारजन्यकार्य गरी उक्त दिन उक्त मुद्दाहरु खारेज हुने गरी तारतम्य गराईएको हो, सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजउपर तत्काल अनुसन्धान सुरु गरोस् ।’

    पीडित परिवारले स्वतन्त्र न्यायापालिकाको गरिमामा अनुचित प्रभाव पार्न खोज्ने प्रधानलाई युएस बंगला एयरलाइन्सको तर्फबाट भइरहेको प्रतिनिधित्वबाट हटाउन पनि माग गरेका छन् । पीडितहरुले भनेका छन्, ‘मुद्दामा विपक्षी युएस बंगलाको आधिकारिक कानूनी प्रतिनिधि प्रधान एण्ड एशोसियट्स प्रालि र सोका संचालकले यसरी न्यायालयमा विचाराधिन मुद्दामा प्रभावित तुल्याउनका लागि संलग्न रही पत्राचार समेत गरिसकेपछि अब उक्त विवादित ल फर्मसँग सम्बद्ध विवादित व्यक्ति देवेन्द्र प्रधान र उनका पार्टनर वा कर्मचारीहरुले युएस बंगला एयरलायन्सको तर्फबाट प्रतिनिधित्व गरिरहँदा हामी पीडितहरुले स्वच्छ सुनुवाई हुने भन्ने कल्पना पनि गर्न सकिन्न । पीडितहरुले थप्दै भनेका छन्, ‘विवादित ल फर्म र विवादित कानून व्यवसायीलगायतका उक्त फर्मसँग आबद्ध कानून व्यवसायीहरुको उक्त मुद्दामा युएस बंगला एयरलाइन्सको तर्फबाट प्रतिनिधित्व कायम भइरहने हो भने स्वतन्त्र न्यायापालिकाको गरिमा समेत अक्षुण्ण रहन सक्दैन ।’ नयाँ कानून व्यवसायी नआउँदासम्म विचाराधिन मुद्दाको कारबाही स्थगित गर्नकालागि समेत पीडित परिवारले काठमाडौं जिल्ला अदालत समक्ष माग दाबीगर्दै भनेको छ, ‘विपक्षी युएस बंगला एयरलाइन्सले विवादित कानून व्यवसायी देवेन्द्र प्रधानले सञ्चालन गरिरहेको प्रधान ल एशोशिएश एवं सो फर्मसँग आबद्ध कानून व्यवसायीहरुलाई दिएको वारेस अख्तियारनामा समेत बदर गरी नयाँ कानून व्यवसायीमार्फत विदेशी युएस् बंगलाले प्रतिनिधित्व नगराएसम्म हामीहरुको विचाराधिन मुद्दाहरुको कारबाही समेत स्थगित गर्नका लागि काठमाडौं जिल्ला अदालतसमक्ष सादर माग दाबी गर्दछौं ।’