Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • युवाहरूले पालना गर्नु पर्ने पाँच ‘नि’हरू

    -

    April 22, 2019 | 212 Views



    खगेन्द्रराज सिटौला

    नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह युवाहरूका पाठशाला हुन् भन्दा धेरैलाई अनौठो पनि लाग्न सक्ला । प्रौढ पृथ्वीनारायण शाह युवाहरूका कसरी पाठशाला हुन सक्छन् भनेर जिज्ञाषा र सवाल पनि उठ्न सक्ला । पृथ्वीनारायण शाह भन्ना साथ अम्लो उठाएको लामा जुङ्गा भएको प्रौढ तस्बिर मान्छेहरूको दिमागमा नाच्न थाल्दछ । त्यसबेला मान्छेहरूले पृथ्वीनारायण शाह प्रौढ मात्र देख्दछन् । र उनी कुनै समयमा युवा पनि थिए भनेर संझना नआउन पनि सक्छ । किनभने मानिसहरूको दिमागमा रहने युवा पृथ्वीनारायणको तस्बिर प्रकाशित छैन र कसैले देखेको छैन र युुवा पृथ्वीनारायण मान्छेको दिमागमा वा आँखा अगाडि नाच्दैन । त्यसैले पहिलो सवाल उठ्न सक्छ प्रौढ पृथ्वीनारायण शाह कसरी युवाहरूको पाठशाला हुन सक्छन् ।

    यसको जवाफ तस्बिरको युवा पृथ्वीनारायणबाट होइन कि कर्मबीर युवा पृथ्वीनारायणबाट दिनुपर्ने हुन्छ । र त्यो भनेको युवाहरूलाई युवा पृथ्वीनारायणको जीवनी र कार्यमा जोड्ने हो । अर्थात युवा पृथ्वीनारायण हरेक युवाहरूको लागि युवा पाठशाला हुनेछ । युवा पृथ्वीनारायण युवाहरूको एकैपल्ट पाठशाला, पाठ्यक्रम र पाठ्यपुस्तक हुने छ । जुन पाठशालाबाट युवाहरूले धेरै सिक्न सक्छन् । पृथ्वी पाठ्य पुस्तकका हरेक पन्ना पन्नाबाट आफूमा नयाँ उर्जा भर्ने छन् ।

    आफ्ना बुबा नरभूपाल शाहको मृत्यु पश्चात विक्रम संवत १७९९ सालमा गोर्खा दरबारको सिंहासनमा बसे । उनी राजा भएको बेला २० वर्षका युवा थिए । उनले राजाको पद पौरखले पाएको नभइ परम्पराले पाएका थिए । त्यसैले यो पद युवाहरूको पाठशाला होइन । तर त्यो पदमा बसेर उनले जो पौरख गरे जे परिणाम हात पारे त्यो चाहि युवाहरूको पाठशाला हो । युवा उमेर जीवनको महत्वपूर्ण पाटो हो । तर त्यो भन्दा महत्वपूर्ण पाटो भनेको त्यो उमेरमा हामी कुन बाटो हिड्छौं र कस्को सेवा गर्छौं भन्ने हो । त्यो उमेरलाई पृथ्वीनारायण शाहले कुनबाटोमा हिडाए र कसको सेवामा लगाए यो नै युवाहरूले पृथ्वी पाठशालाबाट सिक्ने महत्वपूर्ण पाठ्य सामग्री या पाठ्य पुस्तक हो । युवाहरूले के सिक्ने पृथ्वी पाठशालाबाट भन्ने विषयलाई केन्द्रमा राखेर छलफल गरौं ।

    सामान्यतया युवा उमेर अपरिपक्क नै हुन्छ । ज्ञानको कमी, शिक्षा र अनुभवको कमी र धर्यताको समेत कमी हुने उमेर पनि युवा अवस्था नै हो । जीवनलाई कुन बाटोमा हिडाउने र जीवनलाई कस्तो बनाउने भन्ने कुराको निर्धारण पनि धेरै हदसम्म युवा उमेर कै कृयाकलाप र चरित्रले निर्धारण गर्दछ । कुमार्ग र सुमार्ग कुसंगत र सुसंगत ठम्याउन नसक्ने र जोशमा होस् गुमाउने पनि युवा उमेर नै हो । सुसंस्कारबाट विचलन भएर कुसंस्कारको बटोमा हिड्न सक्ने खतरा पनि युवा उमेरमै हुन्छ । जीवन भनेको नै भोग विलास र मोजमस्तीको हो भनेर भविश्य र आप्mनै जीवन प्रति गैह्रजिम्मेवार हुने खतरा पनि यही युवा उमेरमा नै हुनसक्छ । सजिलै अरुको कुरामा बहकिने उल्किने हौसिने ठिक र बेठिक ठम्याउन नसक्ने उमेरजन्य कमजोरीहरू पनि यही उमेरमा नै प्रायः देखिन्छन् या दोहरिन्छन् ।

    युवा उमेरजन्य नकारात्मक पाटा र बाटाका खतराहरू धेरै भए पनि यही उमेरमा नै सकारात्मक सोच र विचार बोकेर उर्जावान युवा उमेरलाई व्यापक धेरैको हित र जितमा समर्पण गरेर युगान्तकारी परिणाम दिने युवाहरूको नाम र लाम पनि धेरै भेटिन्छ । यसलाई अपवाद नभनौ एउटा अठोट बोकेको युवाहरूको प्रतिनिधि चरित्र पनि हो । यस्ता प्रतिनिधि चरित्रका धेरै युवाहरूमध्ये एउटा नाम हो पृथ्वीनारायण शाह । उनै शाहको युवा उमेरको कालखण्ड, प्रवृति र चरित्रलाई युवाहरूको पाठशालाको रुपमा प्रस्तुत गर्न कोशिस गरिएको छ ।

    सामन्ति युग सामन्ती अहंकार जे पनि गर्नसक्ने गर्न पाउने भए पनि किशोर पृथ्वीनारायण शाहमा नकरात्मक पाटोले ठाउ लिन पाएन । किशोर उमेर देखिनै उनको लागि जीवनको सकारात्मक बाटो तय भएर आयो । उनलाई त्यो बाटोमा हिड्न नै उत्साही भए उनलाई सकारात्मक बाटो रुचिकर लाग्यो त्यसले उनमा उर्जा भर्दै लग्यो । यसो हुनुको मुल कारण पृथ्वीनारायण शाहले आप्mनो पहिलो पाठशाला र शिक्षक आमाहरूलाई बनाए । यो उनको जीवनको महत्वपूर्ण पक्ष थियो ।

    त्यसबेला राजाहरूले बहूरानी विवाह गर्ने चलन थियो । नरभूपाल शाहका पनि विवाहित बहूरानीहरू थिए । तर उनले माया र शिक्षा सबैभन्दा धेरै जेठी आमा रानी बाट पाएका थिए । पृथ्वीनारायणलाई बनाउन अथवा सबै किसिमले सकारात्मक बाटोमा हिडाउन उनको सबभन्दा ठूलो योगदान दिइकी थिइन् । आमा पाठशाला प्रारम्भ देखिनै जीवनको महत्वपूर्ण पाठशाला हो । त्यही पाठशालाबाट पृथ्वीनारायणले जीवन, अनुशासन, संस्कार, कर्तव्ये, आध्यत्म र सौर्य पढे, साथै भावी राजाको जिम्मेवारी पनि पढे । आमा पाठशालाको माध्यमबाट असल गुरुहरूबाट असल नीति र शास्त्रहरू पढे । यही पढाइ र पाठशालाले गर्दा नै पृथ्वीनारायणल जीवनको असल मार्ग फेला पारे । उनको सफलताको पहिलो राज यही थियो । पृथ्वीनारायण पाठशालाबाट युवाहरूले अझ किशोरहरूले सिक्ने भनेको आमाको काख पहिलो पाठशाला हो आमाबाट धेरै सिक । आमा बुबा सहित परिवार पहिलो पाठशाला हो त्यहाँबाट सिक । संस्कार, अनुशासन, कर्तव्य, संस्कार, संस्कृति, धर्म र परम्परा सिक र जीवन हिडाउने सही मार्गमा हिड्न सिक । मूल्य मान्यता परम्परा र त्यसलाई समय सापेक्ष परिमार्जन गर्न सिक ।


    राजाको मृत्यु पछि त्यसबेलाको चलनलाई पालन गर्दै राजाको जेठो छोरो याने युवराज पृथ्वीनारायण शाहलाई २० वर्षको युवा उमेरमा गोर्खा राज्यका राजा भएर गोर्खाको नेतृत्व सम्हाल्ने जिम्मेवारी आइलाग्यो । युवा पृथ्वीनारायण शाहको लागि यो अवसर र चुनौति दुबै थियो । गोर्खा बाइसै राज्यहरू मध्ये सबैभन्दा कान्छो तथा गरिब पनि थियो । त्यसैले यो कमजोर गरिब गोर्खा आफैमा पृथ्वीनारायणको लागि चुनौति थियो । र यसलाई बदल्ने शक्ति र जुक्ति फेला पार्ने र बलियो गोर्खा बनाउने अवसर पनि थियो पृथ्वीनारयण शाहको लागि । तर पृथ्वीनारायण शाहले चुनौतिलाई चिरेर अघि बढे अवसरलाई खेर जान दिएनन् । पृथ्वीनारायण शाहले चुनौतिलाई कसरी चिरे र अवसरलाई कसरी खेरजान दिएनन् भन्ने विषय नै युवाहरूले पृथ्वी पाठशालाबाट सिक्ने मूलपाठ हो भन्दा अत्युक्ति नहोला ।

    पहिलो त पृथ्वीनारायण शाहले पहिलेको अधिकाँस युवा राजाहरू जस्तो भोग विलास र ऐस आराम मोजमस्ति राजाको प्राथमिक काम प्रवृति र चरित्र हो भन्ने कुरालाई व्यवहारबाटै खारेज गरे । आपूmलाई कुनबाटोमा ढाल्ने र कस्तो प्रवृति र चरित्रको अपनाउने यो महत्वपूर्ण पाठ हुनसक्छ युवाहरूको लागि । उनले नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले कवितामा भने जस्तै उद्देश्य के लिनु उडी छुनु चन्द्र एकमा मेलखाने पात्रमा आपूmलाई मिलाए । अर्थात उनले ठूलै महत्काक्षा लिए । महत्वकाक्षा, ठूलो सपना अथवा ठूलो उद्देश्य लिएर अघि बढ्ने उनले अठोट लिए । उनको अठोट दृढ थियो । युवाहरूले पृथ्वीनारायण शाहबाट ठूलो सपना र दृढता पढ्न सक्छन् सिक्न सक्छन् ।

    पृथ्वी पाठशालाबाट युवाहरूले पाँचवटा नि पढ्न सक्छन् । अर्थात पाँचवटा नि लाई उनीहरूले पाठ्य सामग्री बनाउन सक्छन् र यसलाई उनीहरूले जीवन मार्गको पाठ बनाउन सक्छन् । पहिलो नि को निराशालाई उनले जीवन देखि टाढै राखे । आपूm माथि निराशा हाबी हुन दिएनन् । न उनी म कमजोर छु न गरिब छु निराश भएर खुम्चिएर नै बसे न यदाकदाका असफलताले निराश भएर आप्mना योजना र उद्देश्यबाट पलायन नै भए । उनले म सक्छु र जित्छु बाहेक केही सोचेनन् । अर्को नि भनेको निरन्तर हो । पृथ्वीनारायण शाह आप्mनो मूल उद्देश्य नभेटेसम्म अविश्राम, अविचलित निरन्तर लागिरहे । अर्को नि भनेको निर्भिकता हो । पृथ्वीनारायण शाह आप्mनो उद्देश्य प्राप्तिको लडाइमा निर्भिकतापूर्वक लडे । अर्थात निडर नेता पृथ्वीनारायणको अर्को चरित्र र विशेषता हो । चौथो नि भनेको निर्णय क्षमता भएका नेताको विशेषता । पाँचौं नि भनेको निजी स्वार्थलाई निरन्तर सामुहिक अर्थात राष्ट्रको स्वार्थको मातहत राखिरहे पृथ्वीनारायण शाहले । पृथ्वी पाठशालाका हरेक नि पाठहरू जीवनमार्गलाई सफलतामा रुपान्तरण गर्न युवाहरूको लागि पठनीय मात्रै होइनन् अनुकरणीय पनि भइरहने छन् ।

    बीस वर्षका पृथ्वीनारायणले जे जस्ता नीति बनाए जे जसरी परिपक्क नेतृत्व दिएर नेपाल एकीकरणको महाअभियानलाई आप्mनो उमेरको बढोत्तरीसंगै बढोत्तरी गर्दै जसरी सफलताको उचाईमा पु¥याएरै छोडे यो अभियान आफंैमा हरेक उमेर समुहका मानिसहरूको पाठशाला हो । जीवनको बाटो नविराउन चाहने र सही बाटो फेला पार्न चाहने हरेक युवाहरूको लागि उनको युवा उमेरको कालखण्ड हरेक समयको लागि सन्दर्भ सामग्री जस्तै भइरहने छन् ।