Sunday 26th January 2020
  • New title for a=>html, img=>alt
  • लेखा समिति र टेलिकमबीच जुहारी

    -

    September 26, 2019 | 151 Views


    १८ अर्बको काण्डमा सबै रमिते
    काठमाडौं । दशैं अघि नै मुलुकका मुख्य सहरमा फोरजी ÷एलटीइ सेवा विस्तार गर्ने तयारीमा रहेको नेपाल दूरसञ्चार कम्पनी ( टेलिकम) र संसदको सार्वजनिक लेखा समितिबीच फोरजी सेवा विस्तारको ठेक्का प्रकृयालाई लिएर रस्साकस्सी चलिरहेको छ ।
    नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि १८ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने गरी गरेको ठेक्का गैरकानुनी रहेको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेपछि समितिले यस बारेमा चासो राखेको छ । तर, टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले फोरजी सेवा विस्तार सम्बन्धी ठेक्काका विषयमा लेखा समितिलाई विवरण उपलब्ध गराउन आलटाल गरिरहेको समाचार स्रोत बताउँछ । फोरजी सेवा विस्तार सम्बन्धी ठक्का प्रकृयाको विवरण उपलब्ध गराउन लेखा समितिले टेलिकम व्यवस्थापनलाई पत्राचार गरेकोमा टेलिकमले व्यापारिक गोप्यता सार्वजनिक गर्न नमिल्ने भन्दै जवाफ पठाएको प्रकाशलाई समाचार स्रोतले जानकारी दिएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैधले यस बारेमा आफूलाई जानकारी नभएको भन्दै फोरजी÷ एलटीइ सेवा विस्तारको ठेक्का सार्वजनिक खरिद ऐन अनुरुप भएको दावी गर्नुभएको छ ।
    १८ अर्ब लागतको फोरजी परियोजनाको लागि आवश्यक पर्ने ‘कोर नेटर्वक’ तथा रेडियो एक्सेस नेटवर्क जडान कार्य सम्पन्न गर्न चिनियाँ सरकारी स्वामित्वको जेडटीइ कर्पोरेशन र हङकङको सीसीएमआइ कम्पनीबीच सम्झौता भइसकेको छ । गत माघमा भएको उक्त सम्झौता अनुसार एक वर्षभित्र काम सम्पन्न गरी सक्नु पर्ने छ । ठूलो धनराशी खर्चेर गर्न लागिएको यो काम कानून सम्वत नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भएपनि छानविन नभएको समाचार स्रोतले गुनासो गरेको छ ।
    ठूलो धनराशीको परियोजना भएपनि गुपचुप रुपमा माम अघि बढाइएको बताउँदै समाचार स्रोत भन्छ – लेखा समितिले पनि यसलाई गम्भीर ढंगले चासो लिएको छैन । नेपाली कांग्रेसबाट निर्वाचित भरत कुमार शाहले नेतृत्व गरेको लेखा समितिलाई यसबारेमा धेरै चासो नराख्न उच्चस्तरबाटै दवाव आएको बताइएको छ । सोही कारण विवरण उपलब्ध नगराइएको विषयलाई सार्वभौम संसदको लेखा समितिले प्रतिष्ठाको विषय नबनाएको समाचार स्रोत बताउँछ ।
    यस अघि नै फोरजी सेवा विस्तार गरिसकेको एनसेललाई काउन्टर दिन टेलिकमलाई फोरजी सेवा विस्तारमा सहयोग गर्नु पर्ने भन्दै यसलाई धेरै नउचाल्ने पक्षमा सरकारी अधिकारी रहेको त्यसै अनुरुप पहल भइरहेको छ । तर, यसले १८ अर्ब रुपैयाँ धनराशीमा भएको डरलाग्दो ‘घोटला’ त्यसै गुपचाप पार्ने प्रपञ्च भइरहेको छ र दशैं अघि नै भब्य कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट परियोजनाको औपचारिक उद्घाटन गराइदैछ ।
    असार मसान्त सम्म टेलिकमको २ करोड २६ लाख ९६ कुल भ्वाइसतर्फका ग्राहक छन् । यसमध्ये २ करोड भन्दा धेरै जीएसएस प्रविधिका ग्राहक छन् । यो परियोजनामार्फत टेलिकमले भ्वाइस ओभर एलटीइतर्फ मात्रै ६५ लाख ग्राहक थप गर्ने तयारी गरेको छ ।