Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • व्यवसाय र कलाकारितामा जमेका धर्मराज

    -

    November 14, 2019 | 389 Views


    गीत संगीत हरेका मानिसको जीवनको अपरिहार्य र सहयात्री बनेको छ । संसारमा गीत संगीत नसुन्ने र मन नपराउने मान्छे पाउन कठिन छ । तर यस्ता गीतहरुको सिर्जना गर्नका लागि के कस्तो साधनाको आवश्यकता पर्दछ । अहिलेको प्रविधिको युगमा गीत गाएर बाँच्नका लागि सर्जक स्रष्टालाई कतिको सजिलो छ त ? यी र यस्तै विषयमा पाँच दर्जन भन्दा बढी गीतमा काम गरिसकेका खोटाङे स्रष्टा धर्मराज पोखरेलसँग प्रकाश साप्ताहिकका बोधराज पौडेलले गरेको कुराकानी ।
    तपाईँको जन्म स्थान र अध्ययन बारे केही बताइदिनुस् न ?
    मेरो जन्म खोटाङ जिल्लाको विजयखर्कमा भएको हो । मेरो अध्ययनको शुरुवात बुइपाबाट भएको हो । केही समय मैले विजयखर्कमा पनि अध्ययन गरे र स्कूलतहको शिक्षा चम्पावती मा वि बुईपाबाट पूरा गरेको हुँ । पछि ईन्जिनियरिङ तहको अध्ययन भने काठमाडौं बाट पुरा गरेर अहिले गीत संगीतसँगै यो पेशामा आवद्ध रहेको छु ।
    गीत संगीतमा लाग्ने प्रेरणा कहाँ बाट आयो ? अहिले सम्म कतिवटा गीतमा काम गर्नु भयो ?
    विद्यालय अध्ययनका क्रममा नारायण गोपाल, झलकमान गन्र्धब र पुराना लोक दाहोरी गीतहरु सुन्ने र गाउने गरिन्थ्यो । त्यो समयमा रहेका मेरा सहकर्मीमा मेरो भाइ र राजेश पायल राई थिए । विद्यालयस्तरका प्रतियोगिताहरु हुने गर्थे । त्यो समय पनि हामी प्रतियोगितामा गीत गाउने गथ्र्यौ । ती प्रतियोगितामा कहिले प्रथम भइन्थ्यो कहिले अर्कै साथी प्रथम हुन्थे । आफू प्रथम हुँदा निक्कै रमाइलो हुन्थ्यो । त्यो समयलाई शब्दमा अटाउन सकिदैन । यसरी सानो बेला देखि नै गीत संगीतमा रुचि थियो । पछि २०४७ साल तिर आएपछि रेडियो नेपालमा चौतारी कार्यक्रम हुन्थ्यो । जुन कार्यक्रमको प्रस्तोता पाण्डब सुनुवार हुनुहुन्थ्यो । त्यही कार्यक्रम बाट मैले पनि गायन यात्रा शुरु गरेको हुँ । बीचमा म ईन्जिनियरिङ पेशामा लागे त्यो समयमा मैले गीत संगीतलाई त्यति समय दिन सकिन ।
    २०६०/०६१ देखि एल्बम निर्माण शुरु गरेँ । त्यस समयमा मैले भाका बनाउने, शब्द लेख्ने र लगानी गर्ने कामहरु गरे । त्यो बेला मैले १६ वटा एल्बममा काम गरे । त्यो समयमा क्यासेट बिक्री हुन्थ्यो । आजको जस्तो युटुवको समय थिएन । त्यसपछि हो मेरो सांगीतिक यात्राले गति लिएको । समयक्रममा साथीभाइको आग्रह थपियो । तपाईँले गीत निर्माणको काम मात्र गरेर हुँदैन, अब त गाउनु पनि पर्छ भन्ने सुझाब आयो । त्यसपछि २०७२ देखि मैले पुन गायनलाई जोडे र अहिले निरन्त रुपमा गाइरहेको छु । मेरो आवाजमा अहिले ३४ वटा गीत रहेका छन् । मैले भाका बनाएका गीतको संख्या ३२ रहेको छ । यसरी हेर्दा मैले सांगीतिक यात्रामा लेखन, गायन र लगानी गरेर ६६ वटा गीतमा काम गरिसकेको छु ।
    धेरै भाकामा आफ्नो स्वर दिनु भएको छ, खासमा तपाईँको रोजाइको भाका कुन हो ?
    हो, मैले धेरै भाकामा स्वर दिएको छु । मेरा गीतहरुमा खोटाङ मध्ये बसेरी, लाखौं हजारमा, फूलैफूलको माला गाँसेर, धारापानीमा, दुई दिने चोला, रुँदै धरर, गैरी लसुन, जयराम घाटैमा, मुसुमुसु हाँसौँ, फेरि भेटौला, हामी त खोटाङे दिक्तेल बजारको, शंका लागे गाउँघरमा सोध्न पाइन्छ, बरु मर्ने बाटो रोज्दै जानेछु, जस्ता गीतहरुमा विभिन्न भाकाको प्रयोग भएको छ । म धेरै राम्रो गायक हुँ आफैलाई भन्न सक्दिन । तर, म धेरै भाका गाउन सक्ने गायक भित्रमा पर्छु । एक भेगको गायकले प्रायः गरेर एकै भेगको गीत मात्र गाउने गरेको पाइन्छ । मैले भने विविधता खोज्ने गरेको छु । भजन र राष्ट्रिय गीत पनि गाएँ । गीत गाउने कुरा गाउछु भनेर मात्र पनि हुँदैन । त्यसका लागि इच्छाशक्तिको साथसाथै गला पनि चाहिन्छ । मैले सबै गीतमा स्वर दिएको छु । आधुनिक गीतमा मैले अहिले जान खोजेको छैन । लोकगीतमा अब मैले नगाएको भाका भनेको सालैजो, कौडा र सेलो मात्र हो । अहिले मेरो भर्खरै बजारमा आएको तरुनीको गीत चाँहि फ्युजन गीत हो । यो गीतमा सात जनाले स्वर दिएका छौ ।
    पहिलाको तुलनामा गीत रेकर्ड गर्न कत्तिको सजिलो छ, अहिले नेपाली गीतको बजार र लगानीको अवस्था कस्तो छ ?
    पहिलेको कुरा गर्दा गीत रेकडिङ गर्नका लागि पालो कुर्नु पर्ने अवस्था थियो । त्यसबेला रेडियो नेपाल र म्युजिक नेपालमा मात्र गीत रेकर्ड हुन्थे । कतिपयले यही मौकाको फाइदा उठाएर रेकडिङका लागि अतिरिक्त शुल्क लिन्थे । कति गायकले त समय नपाएर गीत नै छोड्थे । अहिले यो अवस्थामा पविर्तन आएको छ । आवश्यकताको आधारमा सुविधा सम्पन्न स्टुडियोहरु अहिले छन् ।
    अर्को कुरा पहिलेको जसरी गीत सुन्ने कुरा त अब रहेन । तर, त्यो बेला ब्यापारको सुनिश्चितता थियो । अहिले त्यो छैन । आयका हिसाबले पनि कमि आउदै गएको छ । पहिला गीतको भिडियो आवश्यक थिएन । गीत राम्रो भए चक्का आफै बिक्री हुन्थ्यो । अहिले अडियो सस्तो र भिडियो महंगो भएको छ । एउटा भिडियो बनाउनका लागि झण्डै पाँच लाख खर्च हुन्छ । गीत गाउन रहर गर्ने र नयाँका लागि यो आर्थिक समस्या नै हो भन्दा फरक पर्दैन । गीत बनाउन पहिलाको तुलनामा महंगो भएको छ भने स्टुडियो र समयका हिसाबले सजिलो छ ।
    धेरै गायकले आफ्नो च्यानल खोल्नुको कारण के होला ?
    हामीले अरुलाई गीत दिदा पाँच वर्षे संझौता अबधी तोकिएको हुन्छ । त्यसपछि त्यो गीत हेर्दा र खोज्दा भेटिदैन । मैले पनि पहिला अरुलाई नै दिने गरेको थिए । तर ‘भाउ न साउ त्यसै खाउँ’ भने जस्तो भयो । त्यसपछि मैले च्यानल खोलेको हुँ । पहिलो कुरा यसमा मेरा गीतहरु लाइब्रेरीमा जस्तै सुरक्षित हुने भए र दोस्रो कुरा मेरा पाठक स्रोता कति छन् भनेर हेर्न पनि पाइयो । यही भएर धेरै स्रष्टा सर्जकले युटुवच्यानल खोलेका छन् । यो आवश्यकता र सहजताका हिसाबले स्रष्टा र स्रोता दुबैका लागि फाइदाजनक छ ।
    यहाँ गायन र इन्जिनियरिङ दुबै पेशामा सफल हुनुहुन्छ यी दुईमा काम गर्न कुन सजिलो ?
    काम भनेको अभ्यासले गर्ने कुरा हो । त्यसो हुनाले कति मेहनत गरिन्छ, त्यसको आधारमा सजिलो र अफ्ठ्यारोको तुलना गर्न सकिएला । तर, कति कुरामा मेहनत कम र क्रिएशन बढी हुन्छ भने कतिमा मेहनत बढी र क्रिएशन कम हुन्छ फरक यति हो । त्यसमा आधारभूत ज्ञान कति छ भन्ने कुराले सबै कुराको निर्धारण गर्छ । जस्तो कृषिको कुरा गर्दा जसरी उत्पादक, उत्पादन र उपभोक्ताको आवश्यकता भएजस्तै यो पेशामा पनि यही कुरा आउँछ । त्यसो हुनाले कामलाई सजिलो कसरी बनाउने त्यो कुरा आफूले निर्धारण गर्ने हो । म शोखले गायक बनेको हुँ । यसले मैले यो गायनलाई पेशाको रुपमा भन्दा शोखको रुपमा लिन्छु कारण जे होस् । म समाजसेवीको रुपमा काम गर्न पनि ईन्जिनियरिङमा लागेको हुँ । यसको अलवा म चलचित्र निर्माण, भौतिकपूर्वाधार निर्माण, सामाजिक अभियान जस्ता कामहरु गरिरहेको छु । आरक्षण र अनुदान आवश्यकतालाई पहिचान गरेर दिनुपर्छ । त्यो जातीय वा पहुँचको आधारमा गर्नु हुँदैन, भन्ने मेरो मान्यता रहेको छ । मानिसले आफ्नो परिचय आफैले कायम गर्ने हो । त्यो अरुले बनाइदिएर हुँदैन ।