Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • शिवम् सिमेन्टको सेयरमा चलखेल

    -

    June 20, 2019 | 98 Views


    काठमाडौं । शिवम् सिमेन्टको सेयरमा चलखेल भएको आशंका गरिएको छ । शिवम् सिमेन्टका सञ्चालकहरुले नै आफ्नो कम्पनीको सेयरमा चलखेल गरेको आशंका नियामक निकाय धितोपत्र बोर्डले गरेको छ ।
    नेप्से निरन्तर ओरालो लागेका बेला पनि सञ्चालकहरुले इज्यतको सवाल भन्दै आफ्नो कम्पनीको सेयरको भाउ बढाएपछि यस्तो आंशका गरिएको हो । १३२१ अंक पुगेको नेप्से १२५० अंकमा आइपुग्न लागेको छ । तर, घट्दो बजारमा पनि शिवम् सिमेन्टको मूल्य भने दुई महिनामै आकासिएको छ ।
    घट्दो सेयर बजारमा सञ्चालकको लहडमा लागेर शिवम् सिमन्टको शेयर खरिद गरेका सिमित सर्वसाधारण लगानीकर्ता भने अहिले मालामाल भएका छन् । तर, यो मालामाल कहिले सम्म हो भन्ने कुरामा भने शंका गरिएको छ । आफ्नो सेयर मूल्य बढाउन सञ्चालक समिति नै लागेकाले झ्यापै बढेको बुझिएको छ ।
    गत चैत २६ गते उक्त कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३१० रुपैयाँ थियो । दुई महिनापछि प्रतिकित्ता सेयरमूल्य ६६५ रुपैयाँसम्म पुगेको छ । दुई महिनाको बीचमै उक्त कम्पनीको शेयर खरिद गर्नेले दोब्बर भन्दा बढी कमाएका छन् ।
    सञ्चालक समिति आफैले धेरै कित्ता किन्न नपाउने भएपछि उनीहरुले आफन्तमार्फत शिवम् सिमेन्टको सेयर उठाएका छन् । यसले गर्दा उक्त कम्पनीको सेयर भाउ आकासिएको ब्रोकहरुले आशंका गरेका छन् ।
    कुनै न कुनै तरिकाले उक्त कम्पनीका सञ्चालकले नै सेयरको भाउ बेलुनजस्तै फुल्याएका कारण अन्य सर्वसाधारण लगानीकर्ता पनि मालामाल भएका हुन् । सञ्चालक समितिका आफन्तले किन्न छाड्ने हो भने उक्त कम्पनीको सेयर पहिलेकै अवस्था नजिक आउने लगानीकर्ताको भनाइ छ ।
    तर, अहिले भने लगानीकर्ता शिवम् सिमेन्टको भाउ बढेकामा हर्षित छन् । दुई महिनामा दोब्बर भन्दा बढी कमाइ कहाँ पाइन्छ र ? भन्दै हिडेका छन् । दुई महिनाकोबीचमा शिवम् सिमेन्टको सेयर किनेका लगानीकर्ताहरुको आम्दानी कल्पना पनि गर्न नसक्ने गरी बढेको छ ।
    कम्पनीको सेयरमूल्य लगातार बढेपछि लगानीकर्ताको कमाई बढेको हो ।
    नेपाल स्टक एक्सचेञ्चमा सूचिकृत भएको एकमात्र सिमेन्ट उद्योग शिवम् सिमेन्टको सेयरमा लगानी गर्ने लगानीकर्ताहरुले दुई महिनामा उच्च नाफा कमाएका छन् ।
    उक्त कम्पनीको आइपिओ किन्नेहरुले दुई महिनामै प्रतिकित्ता करिव ३७० रुपैयाँ कमाएका छन् । लगानीकर्ताले उक्त कम्पनीको आइपिओ ३०० रुपैयाँमा किनेका थिए । १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम जोडेर लगानीकर्ताले ३०० रुपैयाँमा सेयर किनेका थिए । सुरुमा सेयर किनेर बीचमै बेचेर भाग्नेहरुले केही कमाए । तर, उनीहरु यो उच्च कमाइको भागिदार हुन पाएनन् । कतिपय लगानीकर्ताले बढेको मूल्यमा किनेर घटेको मूल्यमा बेचेका पनि छन् । उनीहरुले त घाटा खानु पर्यो । तर, जसले होल्ड गर्न सके उनीहरुको आम्दानी भने ह्वात्तै बढेको छ ।
    गत फागुन ७ गते मात्रै शिवमको सेयर दोस्रो बजारमा बिक्री खुल्ला भएको थियो । चैत ७ गते १६१ रुपैयाँदेखि ४८४ रुपैयाँसम्ममा पहिलो कारोबारका लागि खुल्ला गरिएको थियो ।
    कम्पनीको सेयरमूल्य ३०० रुपैयाँभन्दा तल भने झर्न दिइएन् । गत बैशाख ९ गते कम्पनीको सेयरमूल्य घटेर ३०५ रुपैयाँमा झरेको थियो । त्यसयता भने मूल्य लगातार बढिरहेको छ । धितोपत्र बोर्डले शिवम् सिमेन्टको सेयर अस्वभाविक बढ्नुलाई चलखेलको आंशका गरेको छ । उक्त कम्पनीको सेयर मूल्यको सुष्म रुपमा अध्ययन गरेको बोर्डका एक उच्च अघिकारीले बताए ।