Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • सर्वेसर्वा नठान सल्लाह लिन जान

    -

    April 29, 2019 | 94 Views


    पृथ्वीविचार र विकास ५६

    खगेन्द्रराज सिटौला

    नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आपूmलाई कहिल्यै सर्वेसार्वा ठानेनन् । उनले आफूलाई कहिल्यै सर्वज्ञाता पनि ठानेनन् । म सबैभन्दा ठूलो र उच्च पदको राजा हुँ कहिल्यै भनेनन् । आफूलाई कसैको सल्लाह र सुझावको जरुरत नै पर्दैन भनेर उनले कहिल्यै सामन्ति अहंकार हावी हुन पनि दिएनन् । पृथ्वीनारायण शाहलाई निजी स्वार्थ र लाभको लागि कुनै सल्लाह चाहिएको थिएन । उनलाई सामुहिक हित सामुहिक जित र केवल वृहत राष्ट्रिय स्वार्थको लागि मात्र सल्लाह र सुझावहरु चाहिएको थियो । उनले सहि सुझाव र सल्लाहको शक्ति बुझेका थिए । एकपल्ट उनको दाहिने हात मानिएका काजी कालु पाँडेको सुझाव नमान्दाको क्षति र गल्ति महशुस गरिसकेका थिए । हतारमा कीर्तिपुर माथि हमला नगरौं भन्ने काजी कालु पाँडेको सुझाव सल्लाहलाई बेवास्ता गर्दै उनले कीर्तिपुर माथि हमला गर्ने निर्णय गरे । तर परिणाम गोर्खालीको नराम्रो पराजय मात्रै भएन कि काजी कालु पाँडेको ज्यान समेत गयो । यस पछि पृथ्वीनारायण शाह सल्लाह लिने र पाएको सल्लाहलाई मनन् गर्दै निर्णय लिन गम्भीर भएका थिए ।

    सल्लाह लिन गद्धीबाट ओर्लेर धर्तीमा झर्नुपर्छ भन्ने मान्यता थियो पृथ्वीनारायण शाहमा । उनले व्यवहारमा यसै गरेका थिए । पृथ्वीनारायण शाहले राजगद्धीको उच्च आसन भन्दा जनसाधारणको विचारको आसनलाई उच्च सम्मान र महत्व दिएका थिए । त्यसैले पृथ्वीनारायण शाह सत्ताको आसनबाट ओर्लेर विचारको धरोहरमा सल्लाह लिन चढेका थिए । प्रसङ्ग पृथ्वीनारायण शाह र विषे नगर्ची सल्लाह हो । नेपाल एकीकरण अभियानमा लागेका तर असफलता हात लागेका पृथ्वीनारायण शाहले युद्ध जित्नको लागि गुणस्तरीय हतियारको आवश्यकता महशुस गरे । तर उनीसंग पुँजी थिएन । पुँजी अभावले उनी छटपटी रहेका थिए । पुँजी जुटाउने कुनै भरपर्दो जुक्ति पनि उनीसंग निक्लिरहेको थिएन । पुँजी जुटाउने जुक्ति वा पुँजी समेत फेला पर्छ कि भनेर पृथ्वीनारायण शाह गोर्खा दरबारको पुरानो सूचीकार विषे नगर्चीको घरतिर झरे । यसरी सत्ताको दरबार र विचारको घरबारतिर विनम्रतापूर्वक झरे रुपियाँ प्राप्त गर्ने उचित सल्लाहको पोका झार्न सकिन्छ कि भनेर । उनले पुँजीको आवश्यकता र समस्या विषे नगर्चीसंग राखे । उनलाई हतियार किन्न कम्तिमा पनि बाह्रहजार रुपियाँ चाहिएको थियो ।

    विषे नगर्चीले निकैबेर अम्ला भाँची सोचिविचारी घर भित्र पसे र अमूल्य सल्लाहको पोको समेत लिएर आए । उनले राजा पृथ्वीनारायण शाहको हातमा मोरु एक राखिदिए । पृथ्वीनारायण शाह रिसाए र भने तिमीसंग म रु एक चन्दा माग्न वा भीख माग्न आएको हो र । विषे कतै ऋण दिने पैसा भएका साहु बुझेका छौ कि अथवा १२ हजार जुटाउने कुनै जुक्ति फेला पार्छौ कि भनेर यसो सल्लाह लिन पो झरेको हो त । राजालाई अथवा गोर्खा राज्यलाई यो भन्दा ठूलो सहयोग र सल्लाहा के दिनु मैले ? मेरो सल्लाह पाइसक्नु भयो राजा अघि बढ्नुहोस् १२ हजार जुट्छ अथवा जुटिसक्यो । आश्चर्यमा नपर्नुहोस् महाराज गोर्खा राज्यमा बाह्रहजार घरधुरी छन् । सबैलाई राज्यलाई परेको आवश्यकता र समस्या भनेपछि मेरो जस्तै रु एक प्रत्यक घरधुरीले दिनेछन् र बाह्रहजारको समस्या समाधान हुने छ महाराज । सल्लाहको शक्ति बुझेर नै राजा पृथ्वीनारायण विषे नगर्चीकोमा झरेका थिए । विषेको जुक्तिले उनको १२,००० हजारको समस्या मात्र समाधान भएन नेपाल एकीकरणको बलियो आधार पनि बन्यो । सत्ताको दरबार भन्दा सल्लाहको घरबार बलियो हुन्छ भन्ने विश्वास बोकेर झरेका राजा पृथ्वीनारायण शाहलाई प्रजा विषे नगर्चीले पुष्टिको लालमोहर लगाइदिए ।


    पृथ्वीनारायण शाहले त्यति सजिलै एकल प्रयासले मात्र नेपालका राष्ट्र निर्माताको अमर र गरिमामय पद प्राप्त गरेका होइनन् । यसमा धेरैको बौद्धिक सल्लाहको योगदान छ, धेरैको शारीरिक वलिदानको योगदान छ र धेरैको भौतिक सहयोगको योगदान छ । को बाट के लिने र कसलाई के जिम्मेवारी दिने र के को लागि परिचालन गर्ने योग्यता र खुबी र कुशलता चाँहि नेतृत्वको नै हो ।

    पृथ्वीनारायण शाह महत्वपूर्ण कामको योजना बनाउथे र कार्यान्वयनको तहमा लैजानु अघि आवश्यक व्यक्तिहरुसंग महत्वपूर्ण राय सल्लाह गर्थे । को संग किन सल्लाह लिनु पर्ने हो उनी जानकार थिए र ऐन मौकामा उनी सल्लाह लिइहाल्थे । यस्ता उदाहरण धेरै पाइन्छन् । गोर्खाबाट नेपाल एकीकरण अभियान अगाडि बढाउने अठोट लिएपछि पृथ्वीनारायण शाहले लिएका केही प्रतिनिधिमूलक सल्लाहलाई आधार मानेर हेर्दा उनी एक्लै निर्णय गर्दैनथे भन्ने कुराको पुष्टि हुन्छ । केही उदाहरण हेरौं । “रणजित बस्न्यात्, मानसिंह रोकाहा, विरभद्र पाटक मैधिमा रात दिन गरी आई पुक भनी लेषी पठाञा र आइपुगे र तिन छेउ यकान्त ग¥या भने दिकबन्दनसेन सित हाकं दि आञा । नेपाल पनि देषी आञा । हान्नाको मनसुवा पनि राषी आञा तिमीहरु क्या भन्छौ, भनि मैले भन्दा हान्नुहवस् महाराजा भने र सल्लाह दिया र मैले भने म जसै अर्कोको छत्रभङ्ग म जान्छु मेरो छत्रभङ्ग अर्को आयो भन्या कसो होला भनि मैले भन्दा हजूरको हात्रि हउवा ई वाईस चौविसि आयो भन्या चेप्यामा रगतको नदी बहाउला महाराजा भन्या र र यकान्तबाट उठी गोर्खा गयउ ।” यहाँ पनि देखिन्छ पृथ्वीनारायण शाहले अघि पछि संभावित परिस्थितिको विश्लेषण गर्दै आक्रमण र प्रतिरक्षाबारे उनले मनले खाएका व्यक्तिहरुसंग आवश्यक गोप्य सल्लाह लिएका छन् । उनी आदेशमा होइन सल्लाहमा विश्वास गर्दथे भन्ने देखिन्छ । उनी विश्वास पनि जित्थे र सल्लाह पनि लिन्थे ।

    त्यसरी नै पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान अघि बढाउने निश्चय गरेपछि के गर्दा कस्तो रणनीति बनाउँदा र आफूसँग भएका मध्ये कुन जातका सेना परिचालन गर्दा बढी सफलता हात लाग्छ भनेर आप्mना मामासंग पनि सल्लाह लिएका थिए । मामाबाट पाएको सल्लाह पृथ्वीनारायणको नेपाल एकीकरण अभियान अघि बढाउन सार्थक भएको थियो । यसरी पृथ्वीनारायणले हरेक सल्लाहलाई शक्तिमा रुपान्तरण गरेको पाइन्छ । मामाको सल्लाह बमोजिम पूर्वतिर बढ्दा पश्चिमतिरका राज्यहरुसंग मित्रता कायम गरेका थिए । यदि त्यसो नगरेको भए पश्चिमतिरबाट गोर्खामा हमाला भएको भए पूर्वतिरको उनको अभियान सफल हुन सक्तैनथ्यो । त्यसरी नै काजी याने प्रधानमन्त्रीको जिम्मेवारी दिने सन्दर्भमा पनि उनले जनतासंग सल्लाह मागेका थिए । “।……. कालु पाँडेलाई कजाई दिनु भया हामी दुनियादारमा छहारी रहँदो हो भन्या सल्लाह दिया ” । “ बाइसी चौविसीबाट पनि कालु पाँडे कै चाहा रहेछ र कालु पाँडेलाई कजाञी भया घाहा घराईस बलियो राषन्यै छ भन्ने सल्लाह दिया ”। यसबाट देखिन्छ कि पृथ्वीनारायण शाहको व्यापक क्षेत्रबाट सल्लाह लिन्थे र उचित लागेमा कार्यान्वयन पनि गर्दथे । यहाँ पनि उनले आप्mनो निजी शक्ति र स्वार्थको लागि सल्लाह मागेको देखिदैन । जनसाधारणको अमनचैनको चाहना र भावनालाई एकतिर कदर गरे भने अर्कोतिर छिमेक सम्बन्धलाई राम्रो बनाउन छिमेकको चाहनालाई पनि सम्वोधन गरे । अर्थात उनले दुबैतिरका सल्लाहलाई सम्मान र सम्वोधन गरे ।

    पृथ्वीनारायणले सल्लाह किन्नु परेको थिएन अहिलेका जस्ता जागिरे सल्लाहकारबाट । पृथ्वीनारायणले राज्यको हित र जितलाई केन्द्रमा राखेर सल्लाह खोजेको हुन्थे । र उनले जो बाट सल्लाह खोजेका हुन्थे उनको समस्या समाधान गर्न सहयोगी हुने किसिमले मनैदेखि समर्पित भएर लागेको व्यक्तिसँग मात्र सल्लाह दिन्थे । जागिरे सल्लाहकारको त कुनै भरै हुँदैन । अहिलेका सल्लाहकार त निजी स्वार्थलाई ध्यानमा राखेर पनि सल्लाह दिन सक्छन्, विदेशी स्वार्थलाई ध्यानमा राखेर सल्लाह दिन सक्छन् पैसा मात्रै सबैथोक ठान्नेहरुले पैसालाई हेरेर यसो गर्न सक्छन् । दलका सल्लाहकारहरुले दलको वा गुटको मात्र हितलाई हेरेर सल्लाह दिन सक्छन् । सल्लाह लिनेले पृथ्वीनारायण शाहबाट सिक्नुपर्दछ । सल्लाह केलाउन जान्नु पर्दछ । राज्यको, अथवा देश र जनताको हित गर्ने बाहेकका सबै सल्लाह सुझाव मिल्काउन सक्नु पर्दछ । पृथ्वीनारायण शाह जस्तो सल्लाह दिने खोज्न र रोज्न जान्नु पर्दछ शंकृर्ण घेराको बन्दी बन्नेहरुले कहिल्यै सहि सल्लाह लिन सक्तैनन् । झन त्यस्ताले त उचित सल्लाह दिनै सक्तैनन् ।

    पृथ्वीनारायण शाहले त्यति सजिलै एकल प्रयासले मात्र नेपालका राष्ट्र निर्माताको अमर र गरिमामय पद प्राप्त गरेका होइनन् । यसमा धेरैको बौद्धिक सल्लाहको योगदान छ, धेरैको शारीरिक वलिदानको योगदान छ र धेरैको भौतिक सहयोगको योगदान छ । को बाट के लिने र कसलाई के जिम्मेवारी दिने र के को लागि परिचालन गर्ने योग्यता र खुबी र कुशलता चाँहि नेतृत्वको नै हो । पृथ्वीनारायण शाहको यही कुशलता र खुबी कै कारणले सार्वभौम स्वतन्त्र सुन्दर नेपाल भनेर गर्व गर्न पाएका छौं । पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता मात्र होइनन् उनी नेपालका मूल सल्लाहकार पनि हुन् । उनले हामीलाई नेपाल जोगाउने उपाय सहितको सर्वकालिन उपयोगी भइरहने मूल सल्लाह दिएका छन् । यही नै नेपालको मूलबाटो हो । भूलबाटोले हामीलाई विनास मात्र दिन्छ सबैलाई चेतना भया ।