Saturday 4th July 2020
  • New title for a=>html, img=>alt
  • स्वीट्जरल्याण्ड बन्न सक्ला नेपाल ?

    भीम उपाध्याय

    नेपालका पहाड–पहाड, गाउँ–गाउँ, कुना–कन्दराका नदीनालामा निर्मित झोलुंगे पुलहरुको संरचना नेपालीका निम्ति स्वीट्जरल्याण्डको सबैभन्दा ठूला इन्जिनियरिङ्ग भौतिक उपहारहरु हुन् । स्वीस भूगोलशास्त्री डा. टोनी हेगनको नेपालप्रतिको अगाध प्रेम प्रदर्शनले नै स्वीस सरकारलाई नेपालको विकासमा सहयोग गर्न उत्पे्ररित गर्न सकेको हो । टोनी हेगन अहिले ईश्वरका प्यारा भईसकेका छन् । तर, कुनै झोलुंगे पुलसंग जम्काभेट के हुन्न उनको संझना प्रत्येक सचेत नेपालीको मानसपटलमा आईहाल्छ । कुनै नेपालीले सम्पूर्ण नेपाली भूभागको भ्रमण गर्नु अघि विदेशी टोनी हेगनले गरिसकेका हुन् । उनी नै पहिला त्यस्ता व्यक्ति हुुन्, जसले नेपालभरिका परम्परागत पैदल मूल बाटाहरुको कूल लम्वाई करिब १४ हजार किमि रहेको तथ्यांक निकाले । दुर्गम ग्रामीण बासिन्दाहरुको वर्षैभरि सूचारु पैदलयात्रामा खोलानालाले कुनै वाधा नपारोस् भन्ने पवित्र उद्देश्य प्राप्तिका लागि आवश्यक पर्ने हजारौ झोलुगे पुल निर्माण गर्न स्वीस सरकार एवं अन्तर्राष्ट्रिय विकास नियोगहरुलाई अनुदान सहयोग पु¥याइदिन सहमत गराएर स्वीस प्रविधिबाट निर्मित हजारौ झोलुगे पुलहरु हजारौ खोलानालामाथि झुलिरहेका छन् । दूरदराजका बासिन्दाहरुले आधुनिक इन्जिनियरिङ्ग उपलब्धिको यदि कुनै स्वाद चाखेका छन् भने तिनै झोलुंगे पुलको उपभोगबाट पाएका छन्
    स्वीट्जरल्याण्ड नेपालजस्तै सुन्दर प्रकृति भएको पर्वतीय देश हो । यहाँ हिमालय पर्वतमाला छ, त्यहाँ पनि त्यस्तै प्रकृतिको आल्प पर्वतशृंखला छ । दुवै पर्वतमाला भूगर्भीय दृष्टिमा कान्छा उमेरका भएका र परिवक्व हुन अझै लाखौ वर्ष लाग्ने हुँदा अस्थिर एवं कमजोर मानिन्छन् । यहाँ प्रचुर नदी खोलानाला छन्, त्यहाँ पनि त्यस्तै छ । नेपाल जलश्रोतमा विश्वको दोश्रो ठूलो देश हो, स्वीट्जरल्याण्ड युरोपमा यसैमा धनि छ । नेपाल भारत तथा चीनबाट झै स्वीट्जरल्याण्ड फ्रान्स, इटाली, जर्मनी तथा अष्ट्रियाबाट घेरिएको भूपरिवेष्ठित मुलुक पनि हो । स्वीस जनता प्रकृतिप्रेमी, शान्तिप्रेमी, पर्वतप्रेमी रहदै आएका हुन् । पहाडिया भूगोलविद् टोनी हेगन एकपटक नेपाल आएपछि सदाका लागि पहाडी नेपालप्रेमी बन्नु त्यसैले अस्वाभाविक थिएन । मित्रताको कडी उनले यसरी गासे, जसका फलस्वरुप, गरिब नेपाली जनता र धनी स्वीस जनता आपसमा निस्वार्थ ढंगमा घनिष्ट मित्र हुँदै गए । भनिन्छ, स्वीस सरकारले नेपाललाई दिने सहयोगको विषय र प्रारुप चयन गर्ने कुराहरु टोनी हेगनको सल्लाहमा नै भरपथ्र्यो । नेपाली भूगोलविद् डा. हर्क गुरुङ्ग र टोनी हेगन अभिन्न मित्र थिए । नेपालको दुर्गम सबै जिल्लाका कुनाकाप्चा, चप्पाचप्पा आफै घुमेर नेपाललाई सही ढंगमा चिनेजानेका प्रथम एवं एकमात्र नेपाली पनि संभवतः पहाडिया डा. हर्क गुरुङ्ग नै थिए । डा. हर्क पनि अहिले रहेनन् । भूगोल राम्ररी नबुझी नेपालको भौतिक विकासको प्रारुप तयार गर्न अघि सर्ने लहलहैका अबुझहरुको कारण पनि नेपालको विकास विकृत बनेको हो । तर, डा. हर्क गुरुङ्गले त देशको धुमधुम्ति चक्कर काटेरमात्र विकासको प्रारुप बनाउन तत्कालीन नेपाल सरकारलाई सहयोग गरेका थिए । दुर्गम क्षेत्र विकास समिति र मुलुकलाई ५ विकास क्षेत्रमा बर्गीकृत गरेर संतुलित क्षेत्रीय विकास गर्नेे अवधारणामा योजनाहरु बनाउने कार्यको टोनी हेगनका अनन्य मित्र डा. हर्कले नै सुभारम्भ गरेका हुन् ।
    हुन त सबै मुलुकहरु आफूलाई शान्तिप्रेमी ठान्छन्् । नेपाललाई पनि विगतमा शान्तिक्षेत्र बन्ने दिशामा एकसय भन्दा वढी देशको समर्थन मिलिसकेको भएता पनि राजनीतिक इमानदारीको अभावले एकमतले विश्व समर्थन पाउन संभव र सफल भएन । तर, स्वीट्जरल्याण्डको अतीत र वर्तमान भने यथार्थमा सदा शान्तिपूर्ण र इमानदार रहको छ । उसले कहिल्यै कुनै छिमेकीसंग युद्ध लडेन । कुनै छिमेकिसित उसको झगडाका विषय नै छैनन् । युरोप सयकडौ वर्षसम्म युद्धरत थियो, तर शान्त स्वीट्जरल्याण्ड आफ्नो विकासमा नै तल्लीन रह्यो । दुई–दुईवटा विश्व युद्धमा युरोपका छिमेकी राष्ट्रहरु पुरै ध्वस्त भए, तर स्वीट्जरल्याण्ड यसवाट अछुतो रहन सक्यो । छिमेकीहरुबीचको युद्धमा उ सधै तटस्थ रहेर शान्ति पुनस्र्थापनका लागि मुलुकहरुबीच द्धन्द्ध व्यवस्थापनमा आवश्यक पर्ने मध्यस्थताको भूमिकामा आफूलाई विकसित गर्ने जिम्मेवारी लिन अग्रसर हुँदै अहिले विश्वमा मध्यस्थताको कार्यक्षेत्रमा विशेषज्ञता स्वीट्जरल्याण्डको ठोस योग्यता र चरित्र मानिएको छ । युद्धताका मानवीय उद्धार र शान्तिकार्यमा संलग्न रेडक्रसको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा नै छ । संयुक्तराष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनजस्ता थुप्रै संस्थाका मुख्यालयहरु त्यही छन् । तैपनि संयुक्त राष्ट्रसंघको स्थापनाको ५७ वर्ष पछि सन् २००२ मा मात्र स्वीट्जरल्याण्डले यसको सदस्यता लिएको हो । नाटो, असंलग्न राष्ट्र आन्दोलन, युरोपियन युनियन कुनै राजनीतिक समूहमा ऊ आवद्ध छैन । स्वीट्जरल्याण्ड ठूल्ठूला लगानीकर्ताहरुका लागि संसारमा सबैभन्दा सुरक्षित कहलिएको मुलुक हो । प्रख्यात स्वीस बैंकलाई गोप्यताको सबैभन्दा बढी प्रत्याभूति भएको अन्तर्राष्ट्रिय बैंक मानिन्छ ।
    भौगोलिक दृष्टिमा युरोपको नेपाल भनिने स्वीट्जरल्याण्ड एसियाको स्वीट्जरल्याण्ड बन्ने सपना देख्ने नेपाल भन्दा समृद्ध हुनाको कारण के हुन् ? कच्चा पदार्थहरु बेचेर धेरै टिक्न सकिदैन र बाचिदैन भन्ने उसले उहिल्यै बुझेको थियो । विज्ञान र प्रविधिको महिमा र ताकतको ज्ञान उसलाई थियो । त्यसैले विज्ञान र प्रविधिको उच्चशिक्षामा निरन्तर जोड दिदैगयो । तटस्थताको सिद्धान्त लागू गरेर द्धन्द्ध वा लडाइमा कहिल्यैे आफ्नो स्रोतलाई दुरुपयोग हुन दिएन वा खर्चेन । छिमेकीसंग कहिल्यै बैरभाव राखेन, न अरुलाई आफूप्रति राख्ने मौका नै दियो । कच्चा पदार्थ आयात गरेर बहुमूल्य बैज्ञानिक उपकरण र बस्तु उत्पादनमा ध्यान केन्द्रित गर्दै निर्यात व्यापारले आर्थिक मेरुदण्डलाई सुदृढ पार्दैलग्यो । युरोपवासीका निमित्त स्वीट्जरल्याण्ड शान्ति, विज्ञान र चिकित्साको केन्द्र बनेको होे । राजा त्रिभुवन पनि उपचारका लागि स्वीट्जरल्याण्डको जुरिक पुगेका थिए, उनी त्यही स्वर्गवास भए । जवाहरलाल नेहरु पनि आफ्नी पत्नीको उपचारका लागि त्यही गएका थिए । यीयस्तै सुविधाको केन्द्र बन्नाले स्वीट्जरल्याण्डले तीब्र विकास गर्न सकेको हो । जर्मनीका अल्बर्ट आईन्स्टाइनले उच्चशिक्षा त्यही हासिल गरेका थिए । कलेजको प्रवेश परिक्षामा आईनस्टाइन उत्तीण हुन सकेनन्, तर भौतिक शास्त्र र गणितमा आइनस्टाइनको उत्कृष्ट अंक आएको देखेर नियमलाई मिचेरै भएपनि कलेजका प्राचार्यले आफ्नो अधिकार प्रयोग गरी उनलाई कलेजमा भर्ना हुन दिए । फलस्वरुप, विश्वले विलक्षण महान बैज्ञानिक आइनस्टाइन पायो । स्वीट्जरल्याण्डको सयकडौ वर्ष देखिको निरन्तर गुणस्तरीय शिक्षा प्रणालीले प्राध्यापकहरुमा विकसित सही विद्यार्थी पहिचान गर्ने खुबीलाई श्रेय जान्छ ।
    स्वीस मुद्रा स्वीस फ्रेंक युरोपीय मुद्रा भन्दा स्थीर छ । त्यहा मुद्राफिति सबै भन्दा कम छ । उच्च गुणस्तरीय राडो र ओमेगा ब्राण्डनामका घडी विश्वभरि प्रसिद्ध छ । कोकाको खेति नभए पनि आयातीत कोकाबाट बनेको स्वीस चकलेट विश्वमै प्रसिद्ध छ । बस्तुको सुक्ष्मतम् तौल वा आकार मापनगर्ने संवेदनशील यहा निर्मित स्वीस इन्जिनियरिंग उपकरणहरु भरपर्दा र टिकाउ भएकाले विश्वमा यिनको माग उच्च छ । विश्वस्तरीय यस्ता उपकरणहरु, धातुका बस्तुहरु, रसायनहरु र मेशिनरीहरुको उत्पादन एवं निर्यातबाट मनग्गे आयआर्जनबाट स्वीस अर्थतन्त्र समृद्ध भएको छ । जलश्रोत, नुन, काठ त्यहाको प्राकृतिक श्रोत हुन् ।
    स्वीट्जरल्याण्ड नेपालभन्दा क्षेत्रफलमा साढे ३ गुणा र जनसंख्यामा सवा ३ गुणा सानो छ । उससंग खेतियोग्य जमिन नेपालको तुलनामा पौने ५ गुणा, सिंचित खेतियोग्य जमिन ४५ गुणा थोरैै छ । अहिले पो प्रभावकारी प्रविधिको विकास भएको छ, विगतमा यतिका थोरै जमिनका भरमा इतिहासमा सधै युद्धमा व्यस्त छिमेकीहरुले घेरिएकोे त्यो मुलुकले के गरी आफ्ना जनताको पेट पाल्न सक्योे, आफूलाई संतुलित वा अछुतो राख्न सक्यो होला, विचित्र छ । आधुनिक कृषिप्रविधि अवलम्वन गरेर त्यहा खाद्यान्न, फलफूल, तरकारी, मासु र अण्डाको अधिक उत्पादकत्वसहित उत्पादन हुन्छ । स्वीट्जरल्याण्ड बन्ला त नेपाल कहिल्यै ? जुनकुनै दृष्टिले नेपालभन्दा निकै सानो र उस्तै पर्वतीय मुलुक भएता पनि यहाँ जति लम्वाइको पिच सडक छ, त्यहाँ त्यति लम्वाईको त रेलमार्ग छ । विदेशमा रजिष्टर्ड स्वीस कम्पनीका स्वामित्वका थुप्रै पानी जहाजहरु सामुद्रिक यातायात व्यवसायमा सलग्न छन् । वर्षेनी ५ लाख धनाढ्य विदेशी पर्यटकहरु त्यहा घुम्न जान्छन् । नेपालमा सैनिक सेवा स्वेच्छिक छ, त्यहाँ राष्ट्र रक्षाका लागि १९ वर्ष नाघेकाहरुले करिब १ वर्षको अनिवार्य सैनिक सेवा गर्नैपर्छ । त्यहा, सबै साक्षर छन्, छिमेकी जर्मनी, इटाली र फ्रेन्च तीनवटै देशका भाषाहरु सरकारी भाषा हुन् । नेपालजस्तै बाढी, पहिरो, हिमपहिरो त्यहाका प्राकृतिक प्रकोप हुन् । प्रकृति संरक्षण त्यहाँको राजनीतिको प्रमूख एजेन्डा हुने गर्छ ।
    पर्वतीय स्वीट्जरल्याण्डबाट सिक्नु पर्ने कुरा थुप्रैै छन् । राजनीतिक विद्रोहका लागि पर्वतीय भूगोल अनुकूल हुन्छ । अहिलेका विश्वमा प्रमुख सशस्त्र विद्रोहहरु पर्वतीय देशहरुमा घनिभूत देखिन्छन् । तसर्थ, त्यस्ता मुलुकहरुले शान्तिको कामनालाई इमानदारीसाथ कार्यान्वयन गर्दै अशान्त हुनसक्ने कारकतत्वबाट बेलैमा छुटकारा पाउने जुक्ति विकसित गरिरहेको हुनुपर्छ । संगसंगै प्राकृतिक विपदाको व्यवस्थापन पनि नियोजित ढंगमा गर्न सक्नुपर्छ । भौतिक पूर्वाधारका संरचना डिजाइन, निर्माण र प्रविधि भूगोल वा भूगर्मअनुकूल हुनुपर्छ । पर्वतीय मुलुकको भिरालो भूभाग बासयोग्य नभएकाले जोमिखयुक्त छन् । जोखिमपूर्ण स्थानमा मानिसको बसोवास विकसित हुन दिनु हुदैन । पहाडी बस्तीलाई पुनः नियोजित गर्न नसकिदा पहिरोबाट वर्षेनी अनाहकमा जन, धनको क्षति भइरहेको छ । स्वीट्जरल्याण्डको पहाडी जनजीविकाको सुव्यवस्थापनको अनुसरण गर्नु नेपालका लागि फलदायी हुन्छ । पर्वतीय मुलुकको राजनीति, अर्थनीति र प्रविधिको आफ्नै विशेषता हुनेगर्छ । स्वीटजरल्याण्डको भ्रमण नगरेका नेपाली उच्च पदस्थ नेता वा कर्मचारीहरु कमै होलान् । तर, नतिजाले त्यसको असर देखिदैन ।
    स्वीस सहयोगमैै स्वीट्जरल्याण्डमाझै जिरीलाई विकसित नमूना नगर बनाउने बीसौ वर्षसम्म दोलखामा संचालित एकीकृत पहाडी विकास योजनाको अनुभवबाट पनि नेपालीले सिकेजस्तो केही देखिएन । प्रकृतिहितैषी चिटिक्कको दिगो लामोसांगो–जिरी सडक स्वीस सरकार र तिनको प्रविधिवाट अब नेपालले यस्तै प्रविधिको अनुसरण अरु क्षेत्रमा अवश्य पनि गर्ला भनेर नमूनाको रुपमा बनाइयो । तर, यसको अनुकरण अरु क्षेत्रमा खास गरिएको पाइदैन । यस्ता मानसिकताका पदाधिकारीहरु ओहदामा रहेसम्म, धेरै कुरा मिलेपनि नेपाल स्वीट्जरल्याण्डजस्तो समृद्ध, शान्त, सुखी के गरी बन्ला खै !