Tuesday 22nd October 2019
  • New title for a=>html, img=>alt
  • हृदय

    -

    October 3, 2019 | 41 Views


    मेघराज पौड्याल

    हृदय पशु सबैको जानु लाग्यो दसैँले
    गरिव जन कसैको पिर्न थाल्यो बसैँले
    युवक पर कतै गो काम खोजेर खान
    जनक र जननीमा साँझ नै भो बिहान ।।१।।

    मुलुक भर रहेका ती युवा फिर्न थाले
    घर घर रँग लाए गाउँमा पिङ्ङ हाले
    जतिपनि पर बस्छौ देशका कर्णधार
    खलखल पसिना ती देशमा फर्कि झार ।।२।।

    बर सग दुलहीले माइतीमा छ जाने
    भनिकन भरिया नै खोजियो साथ लाने
    तर पनि घर बाटै जान कस्ले दिएन
    तररर नयनैमा आँशु थोरै थिएन ।।३।।

    घर घर पिङ खेल्दै बस्न थाले रमाई
    युवक र युवतीले हात आफ्ना समाई
    हृदय अब सपारौँ प्रेम राखेर नाचौँ
    सकल भुवन एकै प्राण सम्झेर बाचौँ ।।४।।

    पशु कन अब हामी काट्न छोडौँ सबैले
    दुध पनि रगतै हो शोच्न थालौन ऐले
    रगत बलि सबैले त्याग्नु नै पर्छ होला
    नर र पशु छ एकै जीव उस्तै छ चोला ।।५।।

    मन र मुटु सपारौ साधनाले सजाई
    मगज मुदित पारौँ योगमाया जगाई
    कहर सब बढारौँ दाम राम्रो कमाई
    हृदय असल पारौँ ज्ञानले मुस्कुराई ।।६।।
    (पौड्याल छन्दमा कविता लेख्न रुचाउने कवि हुन् । उनी समसामायिक विषयमा कविता लेख्न मन पराउँछन् । कृति प्रकाशित नभएपनि उनका कविताले युवटुवमा राम्रो योगदान दिएको पाइन्छ ।)