काठमाडौँ । हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, हेटौंडामा कार्यरत जितेन्द्रराज पाठकले बढुवा प्रयोजनको लागि आई.ए. तहको नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरी सेवामा कार्यरत रहेको भेटिएको छ ।
वरिष्ठ अधिकृत जितेन्द्रराज पाठकले बिहार विद्यालय परीक्षा समिति, पटना, भारत अन्तर्गतको उदय नारायण शर्मा, सर्युगा कुँवर र राधा बल्लभ प्रशाद सिंह कलेजबाट प्राप्त आई.ए. तहको शैक्षिक योग्यताको प्रमाण-पत्र झुट्टा एवं नक्कली भएको पुस्टि भएको छ । सोहि प्रमाणपत्रका आधारमा उनको विभिन्न तहमा बढुवासमेत भएको थियो ।
हाल अवकास प्राप्त जितेन्द्रराज पाठकको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको बताइएको छ । उनलाई प्रचलित कानुन अनुसार सजायको मागदाबी सहित चैत्र २८ गते विहिबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।