जीवराज घिमिरे
१) पहाडले आफ्नो छातीमा खोपेर
मोटर गुडाएछ
पहराले आफ्नो कोखामा कपेर
गाडी चलाएछ
ठूलाठूला गिध्दे पहराहरू पनि
निरर्थक छैनन् अब पहाडमा
तारेभीर पनि आफ्नो काखमा
मिनी बस कुदाउने भएछ
२) धेरै वर्षपछि
यसपटक पहाड पुगे म
पहाडले मेर सञ्चो बिसञ्चो खोज्यो
३) छक्क परे म
प्रत्येक घरले आफूलाई बिजुलीको
उज्यालोमा नुहाएको देखियो पहाडमा
४) मीलमा धान कुटेर फर्किएकि कान्छी
ढिकी कुट्न नपरेकोमा खुसी त पक्कै छिन
तर त यहि मीलको फिताले तानेर
हात गुमाएको बिर्खेलाई संझदा
आँखा रसाउन छोडेका छैनन्
उनका अहिले पनि
५) हिड्न पर्दैन
गाडीको चहल पहल छ पहाडमा
तर गाडी पल्टिएर
स्वजनहरूको मृत्युको खबर दिन दिनै सुन्नु पर्दा
झन पिरलो थपिएको छ पहाडमा,
६) दोकानमा बसेर दिउँसै बिजुलीपानी चढाएर
छोराको रेमिट्यान्समा खुट्टा बटार्दै
हिंडेका आफन्तहरू देख्दा
मन त्यति खुसी हुन सकेन पहाडमा,
पहाडको दुःख पहाडसँगै छ
एउटा भएको छोरो कतार गएको छ
ज्वाँइले छोडेकी छोरी इजरायल गएकी छे
७) तन्नेरी अनुहार हतपति देखिंदैन पहाडमा
बृद्घ आमा बाको काखमा
सन्तानले छोडेका नाती
नातिनाहरूको भरमा
बुढ्यौलीले कतिञ्जेल धान्ने हो पहाडमा ?
८) सबै झुपडीहरूले कहिले पाउने हो उज्यालो ?
मोटरबाटोले आफन्तहरुको भोग खान
कहिले छोड्ने हो पहाडमा
९) खोई ! झट्ट हेर्दा त पहाड अब पहाडजस्तो रहेन
तर गहिरिएर बुझ्दा
झन् दुःख पो थपिएछ पहाडमा